लीलाधर वली
घोराही, पुस १० गते । दाङको देउखुरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । गढवा–कोइलावास सडक खण्डअन्तर्गत गढवा गाउँपालिका –५ कक्रहवामा बुधवार दिउँसो करिब २ बजेतिर भैसहवादेखि कोइलाबासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घुम्तिमा मोड्ने क्रममा अनियन्त्रित भएर दुर्घटना हुँदा राजपुर गाउँपालिका –३ भैसहवा निवासी ५० वर्षीय तुलाराम विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभएको छ ।
प्रहरी नायव उपरीक्षक थापाका अनुसार दुर्घटनामा गम्भीर घाइते विकलाई लमही अस्पतालमा प्रारम्भीक उपचार गरी थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएकोमा दिउँसो साढे ३ बजेतिर उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा राजपुर गाउँपालिका –२ भैसहवा निवासी ४० वर्षीया बसन्ती विक र राजपुर गाउँपालिका –४ निवासी ३६ वर्षीय प्रेमचन्द्र यादव घाइते हुनुभएको छ । विकको लमही अस्पताल देउखुरी र यादवको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।
उहाँका अनुसार प्रहरीले अटो र अटोचालक राजपुर गाउँपालिका –३ भैसहवा निवासी ४० वर्षीय मदन विकलाई नियन्त्रणमा लिएर घट्नाबारे थप अनुसन्धान भइरहेको बताउनुभएको थियो ।