गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १० गते । आफ्ना सन्तति, परिवारका सदस्यका लोक सेवाको परीक्षा पास गरी सरकारी सेवामा पुगेको देख्ने हरेक अभिभावकको चाहना हुनु स्वाभाविकै हो तर यसैलाई अन्तिम विकल्पका रूपमा लिने र सफल नहुँदा जीवनलाई नै अर्थहीन ठान्न पुग्दा पारिवारिक वियोगका घटना हुने गरेका छन् ।
शनिबार राति भक्तपुरको सूर्यविनायक–२, बालकोटस्थित फिकाधारामा यस्तै घटना भयो । विगत तीन/चार वर्षदेखि लोक सेवा परीक्षाको तयारी गरिरहेका मिलन आचार्यले सफलता हासिल गर्न नसकेपछि ५६ वर्षीय बुवा कुलप्रसाद आचार्य र २२ वर्षीय भाइ प्रवीण आचार्यको बीभत्स हत्या गरी आत्महत्याको प्रयास गरे ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख माधवप्रसाद बुढाथोकीका अनुसार मिलनले शनिबार राति खाना खाएर सुतेको अवस्थामा बुवा कुलप्रसादलाई डम्बेल र भाइ प्रवीणलाई सिलौटो प्रहार गरी हत्या गरे । बाबु र भाइको हत्यापछि बालकोटबाट फरार मिलनलाई प्रहरीले मङ्गलबार दिउँसो काठमाडौँको महाराजगन्जबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । परिसर प्रमुख बुढाथोकीका अनुसार आरोपित मिलनले बुवा र भाइको हत्या गरेको स्वीकार गरेका छन् ।
यस्तो थियो घटना
खोटाङको दिक्तेलस्थित रूपाकोट मझुवागढी–१ का मिलन र प्रवीन अध्ययनका सिलसिलामा भक्तपुरको बालकोटस्थित फिकाधारामा डेरा गरी बस्दै आएका थिए ।
भाइ प्रवीणले कलेजको अध्ययन र दाजु मिलनले लोक सेवा परीक्षाको तयारी गर्दै आएका थिए । बुवा कुलप्रसाद जिल्ला हुलाक कार्यालय खोटाङ दिक्तेलका निमित्त प्रमुख रहेको खुलेको छ । सरकारी सेवामा प्रवेशका लागि मिलनले पटक पटक लोक सेवा परीक्षाको तयारी गर्दै आएको र पटक पटक असफल भएपछि निराश बनेका थिए ।
मिलनको असफलताले बुवा कुलप्रसादमा पनि मानसिक समस्या सुरु हुन थालेको थियो । स्कुटरको लाइसेन्स बनाउन भनी एक हप्ताअघि बालकोट आइपुग्नुभएका कुलप्रसाद निराश र चिन्तित देखिनुहुन्थ्यो । यसको असर भाइ प्रवीणमा पनि परेको थियो । गलत सङ्गतका कारण प्रवीणको पनि पढाइ खस्किँदै गएको देखेका मिलनले बुवा र भाइको हत्या गरी आफूले पनि आत्महत्या गर्ने गलत निर्णयमा पुगेको अनुसन्धानमा संलग्न प्रहरीको दाबी छ ।
आरोपित मिलनले प्रहरीले सोधेका हरेक प्रश्नको सहज जवाफ दिएको र अवस्था हेर्दा मानसिक अवस्था पनि ठिकै जस्तो देखिएको प्रहरीले जनाएको छ । कुलप्रसाद र प्रवीणको शव पोस्टमार्टमका लागि प्रहरीले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगेको छ भने मिलनले आत्महत्या प्रयास गर्दा चुँडिएको डोरी पनि घटनास्थलबाट बरामद गरेको जनाएको छ । आरोपित मिलनकी आमा खोटाङमा रहेको र बहिनी अध्ययनको सिलसिलामा विदेशमा रहेको खुलेको प्रहरीले जनाएको छ ।