• ११ पुस २०८१, बिहिबार

साविक विजेता दोलखा चेस होम पराजित

blog

पहिलो दिन चाल चल्दै खेलाडी ।

काठमाडौँ, पुस १० गते । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा बुधबारदेखि सातौँ तुल्सीलाल स्मृति क्लब टिम चेस च्याम्पियनसिप सुरु भएको छ । 

पहिलो चरणको खेलमा नै ईन्जिनियरिङ कलेज टिमले साविक विजेता दोलखा चेस होमलाई हराउन सफल भयो । ईन्जिनियरिङका आशिष भुषालले वर्तमान नेपाल च्याम्पियन राजन सुवेदीलाई, ससजन काफ्लेले प्रकाशचन्द्र नेपाललाई र सम्यक श्रेष्ठले पूजा भण्डारीलाई हराउन सफल हुनुभएको हो । महेश खड्का सिएम पुरुषोत्तम चौलागाईंसँग पराजित हुनुभयो । 

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको प्रतियोगिताको पहिलो दिन ललितपुर महानगरपालिकाको टिमले सानदार खेल प्रदर्शन दुई अङ्क बनायो । महानगरका खेलाडी एफएम रुपेश जैसवाल, सिएम मिलन लामा, युवा पुरुषोत्तम सिलवाल र अभिक शाहले ४–० को जित निकाल्नुभयो । 


दुई अङ्क बनाएको गोदावरी नगरपालिकाका खेलाडी सानुभाई महर्जन, जनार्दन श्रेष्ठ, सोम आले र हर्षबर्धन राठीले हिमालयन नेक्सजेनविरुद्ध ४–० को जित निकाल्यो । अर्को खेलमा कोशी प्रदेश बुद्धिचाल संघले हिमालयन चेस एकेडेमीलाई ४–०, आयोजक ललितपुर स्पोर्ट्स क्लबले डाइनामिक चेस क्लब लहान टिमलाई ४–० ले हरायो । आयोजक टिमबाट सिएम सजिन महर्जन, शैलेन्द्र न्यौपाने, रिशोन थापा र बिनिता कपालिले खेल आफ्नो पक्षमा पार्न हुनुभयो । 

यस्तै साविक उपविजेता भक्तपुर जिल्ला बुद्धिचाल संघको टिमले पेभेलियन चेस एकेडेमी टिमलाई हरायो । सातौँ चरणसम्म चल्ने लिगबाट शीर्ष चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेलको विजेतालाई उपाधिसहित दुई लाख र उपविजेता टिमलाई एक लाख २० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । तेस्रो हुने टिमलाई ६० हजार, चौथोलाई ४० हजार र सान्त्वना पुरस्कार १० हजार प्रदान गरिने यस्तै प्रतियोगितका संयोजक राजु महर्जनले जानकारी दिनुभयो । 

पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्नुभयो ।