• ४ असार २०८२, बुधबार

डोटेली राजाको प्राचिन दरबार अजयमेरुकोटको पुनर्निर्माण सुरु

blog

पुनर्निर्माणको काम सुरु गरिएको प्राचिन अजयमेरुकोट दरबार । तस्बिरः पुष्कर भण्डारी

डडेल्धुरा, असार ४ गते । डोटेली राजाको प्राचिन दरबार अजयमेरुकोटको पुनर्निर्माणको काम सुरु गरिएको छ । दरबारकै नामबाट स्थापित अजयमेरु गाउँपालिकाको ७८ लाख रुपियाँ लागतमा वडा नं. २ मा रहेको दरबारको पुनर्निर्माणको काम सुरु गरिएको हो । चालु आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाले ९० लाख रकम विनियोजना गरेपछि गत फागुन महिनामा पुरातत्व विभागले अजयमेरुकोट खण्डहरुका रुपमा रहेको दरबारको उत्खनन् गरेको थियो । उत्खननमा देखिएको दरबारको शैली अनुसार पुनर्निर्माणको काम गरिने गाउँपालिकाका प्राविधिक रतन ऐरले जानकारी दिनुभयो ।

उहाँका अनुसार दरबरको जगसम्मै उत्खनन् गरी पुनर्निर्माण गरिन लागेको छ । यसका लागि दक्ष कालिगढ भक्तपुरबाट आउनुभएको छ । दरबारको संरचना जस्ताको त्यस्तै र तीन मिटर उचाई भएका पर्खालहरु निर्माण गरिने छन् । छानोबिनाको भग्नावशेष अवस्थामा रहेको दरबार उत्खनन् गर्दा भेटिएका संरचना अनुसार निर्माण गरिने उहाँले बताउनुभयो ।

उत्खनन् र अध्ययन अनुसन्धानबाट अजयमेरुकोटमा दुई तलाको करिब १४ कोठे दरबार भएको हुनसक्ने देखिएको थियो । बिचमा गल्लि, एकातिर तीन र अर्काे तिर चार कोठा गरी भूई तलामा सात र माथि जाने ढुङ्गाको सिंढी पनि भेटिएकाले दुई तले भवनमा करिब १४ कोठाको मूख्य दरबार रहेको हुनसक्ने खुलेको थियो । मुख्य दरबार क्षेत्रमा दरबारसंँगै एक तले भवन, मण्डली, सुरक्षा टावरलगायतका गरी १० वटा ढुङ्गे संरचना भएको भेटिएका थिए ।  

डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको उत्खननका समयमा पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवम् पुरातत्वविद भाष्कर ज्ञवालीले बताउनुभएको थियो । पहिलो पटक उत्खनन् गरी अध्ययन, अनुसन्धान गरिएको अजयमेरुकोट यहाँको कलाकृती र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र नै रहेको पाइएको उहाँको भनाइ थियो ।  

उहाँका अनुसार अजयमेरुकोटको बिशिष्ट कलाकृती र निर्माण शैली कर्णाली नदीभन्दा पूर्वमा रहेका देवलहरुभन्दा फरक रहेको छ । यहाँ बिचमा मण्डप बनाएर दायाँ बायाँ देवल बनाउने शैली छ ।  बैठक कक्ष र नाउलाहरु विशिष्ट किसिमका छन । यो नेपालकै उत्कृष्ट कलाकृतिका रुपमा रहेको छ । उहाँले भन्नुभएको थियो ।  

उहाँका अनुसार अजयमेरुमा थुप्रै किसिमका १३औँ, १४औँ शताब्दिका कोटदेखि लिएर किल्लाको रुपमा रहेको छ । अजयमेरुकोट भनिए पनि कोट मात्रै नभएर दरबारका भग्नावशेषहरु, डबलीहरु, सुरक्षा गर्न बनाइएका टावरहरु, रानी गुफा, कुवाहरु र राज दरबारसँग सम्बन्धित थुप्रै ढुङ्गे संरचनाहरु छन् ।

यसैसँग जोडिएको हाट गाउँमा ढुङ्गे देवलहरु, मण्डली र नाउलाहरु रहेका छन् । कोट आफैँमा सार्वजनिक स्वमित्वमा रहेको छ । तर हाट गाउँमा रहेका ढुङ्गे देवलहरु, नाउला र मण्डलीहरु नीजि स्वामित्वमा रहेका छन् ।

अजयमेरुकोटमा निरय पाल र नागी मल्लको अभिलेख पाइएका छन । पहिले नपढिएका केही अभिलेखहरु अहिले हामिले उतार गरेका छौँ । उहाँले भन्नुभयो, ‘‘यसको क्रस चेक गर्छौ । विषय विज्ञहरुसँग बसेर अध्ययन गर्छौ । यहाँ १३औँ शताब्दिका संरचनाहरु यत्रतत्र छरिएर रहेका छन् ।’’