रामकृष्ण बोहरा
बागलुङ, असार ४ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिका– ३ दमेकका किशोरीहरुले सीप सिकेर उद्यमी बन्न थालेका छन् । विद्यालय उमेरका किशोरीहरुले अल्लोको सामान बनाउन सिकेका छन् । कक्षा १० मा अध्ययनरत अनिषा विक पढाईसँगै अल्लोको सामान बनाएर उद्यमी बन्ने लक्ष्यमा हुनुहुन्छ ।
जङ्गलबाट अल्लो (चाल्ने सिस्नो) ल्याएर धागो निकाल्ने, धागोको सामग्री बनाउने काम पनि विक पोख्त हुनुभएको छ । चैत तेस्रो सातादेखि वैशाख तेस्रो सातासम्म विद्यालय बन्द भएको समयमा अल्लोको सामान बनाउन सिकेको विक बताउनुहुन्छ ।
विक जस्तै एसइई दिए पछिको खाली समयमा जुना श्रीषले पनि अल्लोको धागोबाट कपडा बुन्ने सिप सिक्नुभएको छ । ‘‘फुर्सदमा सिकेको सीपलाई व्यवसायीक बनाउने योजना छ’’ श्रीसले भन्नुभयो । विक र श्रीस जस्तै दमेकका किशोरीहरुले सिकेको सीपलाई व्यवसायमा रुपान्तरण गर्ने तयारी गर्नुभएको छ ।
जैमिनी ३ को दमेक, कालापतल, बनौ, नौलाको बस्तीमा प्रशस्त अल्लो पाइन्छ । सङ्कलन गर्ने सीप भएमा घरमै बसेर व्यवसायीक बन्ने योजनासहित दमेकका केही महिलाहरुले नियमित काम गरिरहेका छन् । नयाँ पुस्तालाई परम्परागत सीप सिकाएर उद्यमशिल बनाउन पहल गरेको स्थानीय गंगा घर्तीमगरले बताउनुहुन्छ ।
घर्तिमगरले स्थानीय किशोरी र युवतीहरुलाई १५ दिने तालिम समेत दिनुभएको छ । जङ्गलमा पुगेर अल्लो पहिचान गर्ने, अल्लो काटेर कसरी ल्याउने, सुकाउने, पानीमा पकाउने, मकैको पिठोमा मुछेर सुकाउने र त्यसबाट धागो कात्ने कामबारे उनीहरु जानकार भइसकेको घर्तिमगरले बताउनुभयो ।
अल्लोबाट धागो बनाउने प्रकृयाबारे प्रयोगात्मक रुपमा प्रशिक्षण दिँदा गाउँका २० जनाले काम सिकेका छन् । उनीहरुले मेहेनत गरेर काम गरिदिए लाखौंको धागो उत्पादन हुने घर्तीमगरले जानकारी दिनुभयो । नयाँ उद्यमीहरुले काम गरेमा सहजै बिक्री र राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । मगर र छन्त्यालको बसोबास भएको दमेकमा अल्लोको सल, पच्छ्यौरा, झोला र भाँग्रो बिक्री भरहेकाले थप युवा उद्यमीले अल्लोको कपडा बुन्ने सीप सिक्न उत्साहित देखिएका छन् ।
जैमिनी नगरपालिकाले युवा उद्यम विकास कार्यक्रममार्फत किशोरी र युवाहरुलाई तालिमको व्यवस्था गरिएको नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । हरेक वडामा युवा उद्यमशिलता र सशक्तीकरणको बजेट राखेर कार्यक्रम गरेको र त्यसबाटै ढाका बुनाइ, मुढा बुनाइ, मह उत्पादन, सशक्तिकरण र कानुनी सचेतनाको तालिम पनि सञ्चालन गरिएको हो ।
यस्तै, दमेककै २० जना युवाले मुढा बनाउने तालिम लिएर काम थालिसकेका छन् । ग्रामीण क्षेत्रमा घरघरमा मुढाको उपयोगिता भएकोले तालिममार्फत सिप सिकेको स्थानीय शक्तीकला घर्तीले बताउनुभयो । मुढा बुन्न सकेमा बिक्रीको चिन्ता नहुने उद्यमीको अनुभव छ । नगरपालिकाले स्थानीय स्रोतलाई उपयोग गर्ने खालका मह उत्पादन, आलुको चिप्स बनाउने, बाँकोको गुन्द्रुक बनाउने तालिम पनि दिएको छ ।