• १३ साउन २०८१, आइतबार

मर्स्याङ्दी जलविद्युतको उत्पादन घट्यो

blog

आँबुखैरेनी गाउपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको पावर हाउस । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख १३ गते । 
हिमालमा हिउँ नपर्दा तनहुँको आँबुखैरेनी गाउँपालिका –४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायु परिवर्तनले गर्दा हिमालमा हिउँ कम हुँदा गर्मी बढ्दै गएपनि मर्स्याङ्दी नदीमा पानी कम भएकाले उत्पादन बढ्न नसकेको केन्द्रले जनाएको छ ।

प्रशस्त हिउँ नहुँदा तापक्रम बढेपनि हिमाल कम पग्लिएकाले नदीमा पानी कम भएको केन्द्रका प्रमुख बद्री फुयाँलले बताउनुभयो । ‘‘जलवायु परिवर्तनले हिमालमा प्रशस्त हिउँ परेको छैन, तापक्रम बढेपनि हिमालमा हिउँ कम हुँदा नदीमा पानी बढ्न सकेको छैन’’ केन्द्र प्रमुख फुयाँलले भन्नुभयो । यस वर्ष लामो समय खडेरी परेकोले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेकाले तथा कतिपय सुकेकाले उत्पादन बढ्न नसकेको केन्द्र प्रमुख फुयाँलले जानकारी दिनुभयो । हाल सुख्या मौसम भएकाले वर्षा नहुँदा मर्स्याङ्दीमा मिसिने स्रोतमा पानीको बहाव कम भएपछि उत्पादन घटेको केन्द्रले जनाएको छ ।

नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोहीअनुसार घटेको उहाँले जानकारी दिनुभयो । केन्द्रका अनुसार विद्युतको माग साँझ ५ देखि १० बजेसम्म र बिहान ५ देखि १० बजे बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर करिब पूर्ण क्षमतामै उत्पादन गरिएको छ ।

जेठ लागेपछि हिउँ धेरै पग्लने र वर्षा धेरै हुने भएकाले उत्पादन बढ्दै जान्छ  । हाल पानी कम हुँदा घटेर दिउँसो ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ । विद्युतको माग धेरै भएको समयमा तीन वटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमताअनुरूपको ६९ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

सुख्खा मौसममा विद्युत उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता हुन्छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत उत्पादन पनि घट्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौंको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।