• १० पुस २०८१, बुधबार

औलो रोग नियन्त्रणमा गाउँपालिका

blog

स्प्रेसहित औलो रोग नियन्त्रणका लागि औषधि छर्कन जाने तयारीका स्वयम् सेवक । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, वैशाख १३ गते । 
हुम्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा औलो रोगको औषधि छर्कने कार्य सुरु भएको छ । गाउँपालिकाले सरोकारवाला पक्षको सहयोग र समन्वयमा लामखुट्टे भगाउने औषधि छर्कने कार्य सुरु भएको हो ।

गाउँपालिकाको मैला स्वास्थ्य चौकीको संयोजक धनराज ढकालले यो समयमा गर्मी बढेसँगै  लामखुट्टे भित्रिने र औलो (मलेरिया) रोगका बिरामी देखिने भएका कारण त्यसलाई नियन्त्रण गर्न औषधि छर्कने कार्य सुरु गरिएको बताउनुभयो । यो कार्यक्रम महामारी रोग नियन्त्रण महाशाखा (ईपिडिमियोलोजी) काठमाडौं, सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको समन्वयमा सुरु भएको हो ।

गत वर्ष ताँजाकोट गाउँपालिकामा सात जनामा औलो रोग देखिएको थियो । यो रोग साउन भदौ महिनामा बढी देखिने गर्छ । उहाँले रोग नियन्त्रणको पूर्वतयारी स्वरूप गाउँपालिकाका पाँच वटै वडाका तीन हजार १५० घरधुरीको घर, शौचालय, गोठलगायतका स्थानमा औषधि छर्ने कार्य सुरु भएको बताउनुभयो ।

१५ दिनभित्र सबैतिर औषधि छर्ने कार्य पूरा हुने उहाँको भनाइ छ । यसका लागि आठ जना स्वयम् सेवक स्पे मेशिनसहित परिचालन गरिएको छ । स्वयम् सेवकहरूले छर्कने औषधिको अनुगमन गर्न दुई जना सुपरभाइजर समेत परिचालन गरिएको छ । औषधि छर्कने स्वयम् सेवकका लागि एक दिने अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

उहाँका अनुसार यो औषधि छर्कने कार्य आगामी साउन भदौमा पनि पुनः गरिने । साथै ती महिनामा औलो रोगका बिरामीहरूको स्वास्थ्य परीक्षण समेत हुनेछ । ताँजाकोट गाउँपालिकामा विगत छ वर्षदेखि औलो रोग देखा पर्दै आएको छ । गत वर्ष औषधि छर्कने र झुल वितरणको कार्यक्रम गाउँपालिकाले गर्नु परेको थियो । गाउँपालिका अध्यक्ष लालकेश जैसीले सन् २०२५ सम्म नेपाल सरकारको औलो रोग नियन्त्रण गर्ने लक्ष पूरा गर्न गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरी रहेको हो ।