• ६ वैशाख २०८३, आइतबार

कुसुन्डा भाषा सिक्दै नयाँ पुस्ता

blog

लीलाधर वली

घोराही, वैशाख १२ गते । 

सोजाक गिम्चि : (नमस्ते साथी)

हिमा : नि गिजि न (तपाईंको नाम के हो ?)

मनबहादुर : चियि गिजि मनबहादुर (मेरो नाम मनबहादुर हो।)

हिमा : नि उहि हाप्पे (तपाईंको घर कहाँ हो ?)

मनबहादुर : चियि उहि प्युठान तिराम। (मेरो घर प्युठानको तिराम हो।)

हिमा : उहि गा नटि नटि चि (घरमा को को छन् ?)

मनबहादुर : मै यै चि (आमा र बुवा छन्।)

यी संवाद घोराही उपमहानगरपालिका–५, धर्नास्थित महेन्द्र माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत कुसुन्डा भाषा सिक्दै गरेका प्युठान जिल्ला तिराम निवासी हेमा कुसुन्डा र मनबहादुर कुसुन्डाका हुन्। 

कुसुन्डा भाषा कुसुन्डा जातिको मातृभाषा भए पनि हेमा र मनबहादुरलाई बोल्न आउँदैनथ्यो। भाषा आयोगले लोपोन्मुख अवस्थामा रहेको कुसुन्डा जातिको भाषा संरक्षणसँगै विकास गर्ने उद्देश्यले इच्छुक नयाँ पुस्तालाई लोपोन्मुख अवस्थामा रहेको कुसुन्डा भाषा सिकाउन थालेपछि विगत केही समयदेखि हेमा र मनबहादुरलगायतका १२ जनाले भाषा सिक्दै आउनुभएको छ। 

भाषा सिक्नकै लागि प्युठानबाट दाङ आउनुभएकी हिमा अहिले आफ्नो मातृभाषामा बोल्न र लेख्नसँगै सामान्य रूपमा आफ्नो मातृभाषामा साहित्य सिर्जना गर्न सक्नेसमेत भएको बताउनुहुन्छ। आफ्नो पुर्खाले बोल्ने गरेको भाषा सिक्ने र संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले नै आफू भाषा सिक्न लागेको उहाँले बताउनुभयो। उहाँ अहिले सामान्य औपचारिक कुरा गर्नदेखि लेखपढ गर्न सक्ने हुनुभएको छ। सोही ठाउँ निवासी मनबहादुर कुसुन्डा पनि अहिले महेन्द्र माध्यमिक विद्यालयको होस्टेलमा बसेर कक्षा ११ को पढाइसँगै आफ्नो मातृभाषा कुसुन्डा सिक्दै आएको बताउनुहुन्छ। 

घरमा हुँदा कुसुन्डा भाषा भएको थाहा भए पनि आफूलाई बोल्न सिकाउने कोही नहुँदा सिक्नका लागि दाङ आएको उहाँले बताउनुभयो। हिमा र मनबहादुर मात्रै होइन, भाषा आयोगको र घोराही उपमहानगरपालिकाको सहयोगमा लोपोन्मुख अवस्थामा पुगेको कुसुन्डा संरक्षण र विकासका लागि कक्षा सुरु भएपछि विगत तीन वर्षदेखि १२ जना कुसुन्डा समुदाय र गैरकुसुन्डा समुदायका नागरिकले भाषा सिक्दै आएको कुसुन्डा भाषाविज्ञ एवं अनुसन्धानकर्ता उदयराज आलेले बताउनुभयो। 

उहाँका अनुसार कुसुन्डा भाषा सिक्नेहरू शब्द चिन्नेदेखि सामान्य रूपमा एकअर्कासँग कुरा गर्न सक्ने भएका छन्। नयाँ पुस्ताले सिक्न र बोल्न थालेपछि ज्ञानीमैयाँ कुसुन्डा र कमला खत्री कुसुन्डामा मात्रै सीमित भएको कुसुन्डा भाषा पुस्तान्तरण हुन थालेको छ। 

चार चरणमा भाषा कक्षा सञ्चालन गरिएको छ। उक्त कक्षामा कुसुन्डा शब्द, बोल्ने शैली, वाक्य बनाउने तरिकालगायतका बारेमा सिकाउने गरेको बताइएको छ। भाषा सिक्न दाङ, प्युठान, रोल्पासहित सुर्खेतका २० जनाको सहभागिता छ।