काठमाडौं, वैशाख ८ गते । साग स्वर्णधारी विकास थापाले १९औँ एसियाली खेलकुदका लागि भएको भारोत्तोलन खेलाडी छनोट प्रतियोगितामा राष्ट्रिय कीर्तिमान रच्नुभएको छ ।
नेपाल प्रहरीका उहाँले पुरुष ८१ केजीमा स्न्याचमा १२२ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको १२० केजीको कीर्तिमानमा सुधार गर्नुभएको हो । बिहीबार अवेर सम्पन्न प्रतियोगितामा विकासले स्न्याचमा १२२ सहित क्लिन एन्ड जर्कमा १३५ केजी गरी कुल २५७ केजी वजन उचाल्दै पहिलो स्थान हात पार्नुभयो ।
नेपाल भारोत्तोलन सङ्घले आयोजना गरेको प्रतियोगिताको पुरुष ९६ केजीमा प्रहरीका विशालसिंह विष्ट पहिलो हुनुभयो । उहाँले स्न्याचमा १०५ केजी र क्लिन एन्ड जर्कमा १२४ केजी गरी कुल २२९ केजी तौल उठाउनुभयो । १०९ केजीमुनि प्रहरीका सन्देश गुरुङले स्न्याचमा ११६ केजी र क्लिन एन्ड जर्कमा १४० केजीसहित जम्मा २५६ केजी भार उचाल्दै पहिलो हुनुभयो ।
१०९ केजीमाथि प्रहरीका राजीव महर्जनले स्न्याचमा १२५ केजी र क्लिन एन्ड जर्कमा १५० केजी गरी जम्मा २७५ केजी वजन उचाल्दै पहिलो हुनुभयो । ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो पहिलो बन्नुभयो । उहाँले स्न्याचमा ९१ केजी र क्लिन एन्ड जर्कमा ११३ केजी गरी जम्मा २०४ केजी भार वहन गर्नुभएको थियो ।
६७ केजीमा प्रहरीका प्रकाश केसीले स्न्याचमा १०० केजी र क्लिन एन्ड जर्कमा १२० केजी गरी जम्मा २२० केजी तौल उचाल्दै शीर्ष स्थान हात पार्नुभयो । स्न्याचमा ९६ केजी र क्लिन एन्ड जर्कमा ११८ केजी गरी जम्मा २१४ केजी तौल उचालेका आर्मीका राजु चौधरी ७३ केजी स्पर्धामा अब्बल बन्नुभयो ।
महिला ४९ केजीमा लुम्बिनीकी कृष्णाकला विष्ट, ५५ केजीमा आर्मीकी प्रभा थारु, ५९ केजीमा प्रहरीकी टीकामाया गुरुङ, ६४ केजीमा प्रहरीकी पूजा कुमाल, ७६ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ८७ केजीमुनि प्रहरीकी तारादेवी पुन र ८७ केजीमाथि प्रहरीकी विद्या राईले पहिलो हुनुभयो ।
प्रतियोगितामा पुरुषमा २१ र महिलामा ११ खेलाडीले समान ७-७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । आ-आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी पहिलो चरणमा छनोट भएको सङ्घले जनाएको छ ।