गोरखापत्र समाचारदाता
ललितपुर, वैशाख ६ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सदस्यता नवीकरणको समयावधि दुई महिना थप गरेको छ । एमालेले फागुन–चैतमा सदस्यता नवीकरण गरिसक्ने व्यवस्था गरेकामा आमनिर्वाचनका कारणले जेठ मसान्तसम्म समय थप गरेको जनाएको छ ।
एमालेमा करिब साढे पाँच लाख पार्टी सदस्य छन् । पार्टीको दोस्रो विधान महाधिवेशन र ११ औँ राष्ट्रिय महाधिवेशन–२०८२ ले पारित गरेको विधानबमोजिम पार्टी सदस्यको योग्यताका हकमा विधानको धारा–४ र सङ्गठित सदस्यको हकमा धारा–५ मा व्यवस्था गरिएको छ । “आमनिर्वाचनका कारण विधानमा व्यवस्था भएको सदस्यता नवीकरण फागुन–चैतमा गर्ने व्यवस्थालाई हाल सदस्यता नवीकरण गर्न २०८३ जेठ मसान्तसम्मलाई तोकिएको व्यहोरा निर्देशन गर्दछु,” महासचिव शङ्कर पोखरेलले परिपत्र गर्नुभएको छ । सदस्यता कार्डको हकमा पार्टी सदस्यका लागि प्रदेश/जिल्ला कमिटी आफैँले छपाइ गरी वितरण गर्न केन्द्रले निर्देशन पठाएको छ ।
“सङ्गठित सदस्यताको हकमा भने पार्टी केन्द्रले नै डिजिटल कार्ड उपलब्ध गराउने छ । केन्द्रीय कमिटी, सल्लाहकार परिषद्, केन्द्रीय आयोगका सदस्यको नवीकरण पार्टी केन्द्रमा नै हुने छ । तोकिएको समयभित्र सदस्यता नवीकरण गरी यथासमयमा नै सङ्गठन विभागमा आफ्नो रेकर्ड डिजिटल्ली अद्यावधिक गर्नुहुन निर्देशित गरिन्छ,” महासचिव पोखरेलले पत्रमा भन्नुभएको छ ।