शंकर केसी
सल्यान, वैशाख ६ गते । विपन्न तथा सहाराविहीन बालबालिकाको शिक्षा र आवास व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यसहित सल्यानको एक सामुदायिक विद्यालयमा छात्रावास भवन निर्माण सुरु गरिएको छ । जिल्लाको शारदा नगरपालिका–५, तल्लो मार्केस्थित जनकल्याण आधारभूत विद्यालयमा श्रमदानमार्फत निर्माण गर्ने लक्ष्यसहित शनिबार उक्त भवनको शिलान्यास शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले गर्नुभयो ।
निर्माण सामग्री व्यवस्थापनका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ नगद सहयोग, जेसीबी र ट्याक्टर निःशुल्क उपलब्ध गराउने जनाएको छ भने अन्य काम श्रमदानमार्फत गरिने विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण वलीले जानकारी दिनुभयो । हाल विद्यालयमा ३५ जना विपन्न तथा सहाराविहीन बालबालिका अध्ययनरत रहेको र थप २० जना बालबालिका सम्पर्कमा आइसकेको जानकारी दिँदै उहाँले नयाँ शैक्षिक वर्ष सुरु भएसँगै ती बालबालिकालाई पनि आवाससहित अध्ययनको व्यवस्था गरिने बताउनुभयो ।
शिलान्यास कार्यक्रममा नगरप्रमुख भण्डारीले शिक्षा क्षेत्रको विकाससँगै कमजोर आर्थिक अवस्थाका बालबालिकालाई सुरक्षित आवास उपलब्ध गराउनु सबैको दायित्व भएको बताउनुभयो । छात्रावास निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, व्यापारी तथा स्थानीयको सहयोग जुट्ने विद्यालयले अपेक्षा गरेको छ ।
कार्यक्रममा नगर प्रवक्ता राजेशकुमार शर्मा, वडा नं. ५ का वडाध्यक्ष प्रदीप शाही, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर बुढाथोकी, प्रधानाध्यापक डिल्लीबहादुर भण्डारी, निर्माण समिति अध्यक्ष शंकर थापालगायतको उपस्थिति रहेको थियो । सहभागीहरूले छात्रावास निर्माणले विशेषगरी टाढाटाढाबाट पढ्न आउने तथा अभिभावकविहीन बालबालिकाको शिक्षामा सहजता ल्याउने विश्वास व्यक्त गरेका थिए ।