• ६ वैशाख २०८३, आइतबार

राम्दीमा नयाँ पुल अन्तिम चरणमा

blog

वालिङ समाचारदाता 

वालिङ (स्याङ्जा), वैशाख ६ गते । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने राम्दी पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पाको सिमाना राम्दीमा निर्माण भइरहेको कालीगण्डकी पुलको निर्माणको काम सकिनै लागेको हो । 

२०८२ असार मसान्तभित्र सक्ने योजनाका साथ सुरु गरिएको पुल केही ढिलो गरी निर्माण सम्पन्न हुन लागेको हो । २०७९ असार ३० गते २७ करोड ७१ लाख नौ हजार रुपियाँमा पुल निर्माण गर्न सम्झौता भएको थियो । सोही सम्झौता अनुसार गएको असार २९ भित्र पुल निर्माणको काम पूरा हुनुपर्ने थियो । निर्माणमा समस्या तथा केही ढिला गरी निर्माणको काम सुरु भएकाले तोकिएको ३६ महिनामा काम पूरा हुन नसकेको ठेकेदार कम्पनीका साइड इन्जिनियर अविरल शर्माले जानकारी दिनुभयो । 

२०२८ सालमा सिद्धार्थ राजमार्ग बनेका बेला निर्माण भएको ट्रस पुल जीर्ण भएपछि पुरानो पुलको पूर्वतर्फ ‘आर्च थ्रु’ डिजाइनमा पुल निर्माण गर्न थालिएको छ । हालसम्म पुल निर्माणको ९० प्रतिशत काम सकिएको इन्जिनियर शर्माको भनाइ छ । पछिल्लो समयमा पुलको माथिल्लो भागमा स्ल्याप राख्ने काम पूरा भएको छ भने पैदलयात्रीको लागि स्ल्याप बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ । 

पुल बनेपछि कालीगण्डकी नदी सुरक्षित रूपमा वारपार गर्न सहज हुने स्थानीयको भनाइ छ । पुरानो पुलमा १५ टनभन्दा धेरै सामग्री बोकेका ट्रक ओहोरदोहोर गर्न रोक लगाइएको छ, जसका कारण स्याङ्जा क्षेत्रमा सामग्रीको मूल्य महँगो हुन पुगेको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो ।