• ६ वैशाख २०८३, आइतबार

‘गुनासोपेटिका’ प्रयोगविहीन

blog

गौशाला समाचारदाता

गौशाला (महोत्तरी), वैशाख ६ गते  । सरकारी कार्यालयमा सेवाग्राहीका गुनासा, सुझाव तथा उजुरी सङ्कलन गर्न राखिएका ‘गुनासोपेटिका’ पछिल्लो समय प्रयोगविहीन बन्दै गएका छन् । सङ्घ, प्रदेश तथा स्थानीय तहका अधिकांश कार्यालयमा राखिएका यस्ता पेटिका प्रायः रित्तै रहने गरेका छन् भने कतिपय कार्यालयमा लामो समयदेखि नखोलिएको अवस्थासमेत देखिएको छ । 

केही वर्षअघिसम्म गुनासोपेटिकामा सेवाग्राहीका उजुरी तथा सुझाव सङ्कलन हुने गरे पनि अहिले पेटिका खोल्दा प्रायः खाली नै पाइने गरेको सम्बन्धित कार्यालयले जनाएका छन् । कतिपय स्थानमा त पेटिका खोल्ने प्रचलन नै हराउँदै गएको छ भने केही पेटिकामा माकुराको जालो र बारुलाको घारसमेत बनेको पाइन्छ । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख डा. दीपेन्द्र महतोले आफू निर्वाचित भएको करिब चार वर्षको अवधिमा गुनासोपेटिकामा एउटा पनि उजुरी नपरेको बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीले चित्त नबुझेका विषय प्रत्यक्ष रूपमा जनप्रतिनिधि, सूचना अधिकारी वा कार्यालय प्रमुखसमक्ष राख्ने प्रवृत्ति बढेकाले पेटिकाको प्रयोग घटेको हुन सक्छ ।

औरही नगरपालिकाका प्रमुख प्रदीपकुमार खड्काले दैनिक रूपमा सेवाग्राहीसँग प्रत्यक्ष भेटघाट हुने र गुनासा सिधै प्रस्तुत गरिने भएकाले पेटिकामा उजुरी नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “सेवाग्राहीले आफ्ना समस्या र गुनासा प्रत्यक्ष रूपमा जनप्रतिनिधि तथा कर्मचारीसमक्ष राख्ने चलन बढेको छ ।”जिल्ला प्रशासन कार्यालय जस्तो बढी सेवाग्राहीको चाप हुने निकायमा समेत गुनासोपेटिका प्रभावकारी रूपमा प्रयोग हुन सकेको छैन । महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सेवाग्राहीले गुनासो भए सिधै कार्यालयमा उपस्थित भई वा सम्बन्धित अधिकारीसँग सम्पर्क गर्ने भएकाले पेटिकाको प्रयोग घटेको हो । 

सूचना प्रविधिको तीव्र विकाससँगै गुनासो दर्ता गर्ने शैलीमा समेत परिवर्तन आएको छ । बर्दीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीका अनुसार अहिले अधिकांश सरकारी कार्यालयले आफ्ना वेबसाइटमार्फत नै गुनासो तथा उजुरी दर्ता गर्ने व्यवस्था मिलाएका छन् । उहाँले भन्नुभयो, “सेवाग्राहीलाई सहजताका लागि अनलाइन प्रणाली विकास गरिएकाले परम्परागत गुनासोपेटिका प्रयोगविहीन बन्न पुगेका छन् ।”

सरकारी कार्यालयले नागरिक बडापत्र, सेवा प्रवाहसम्बन्धी विवरण तथा अन्य सूचनासमेत वेबसाइटमार्फत सार्वजनिक गर्ने गरेका छन् । यसले गर्दा सेवाग्राहीले प्रत्यक्ष भेटघाट, फोन वा डिजिटल माध्यमबाट गुनासो राख्ने अभ्यास बढेको देखिन्छ । सूचनाको हकका क्षेत्रमा व्रिmयाशील धर्वेन्द्रकुमार यादव ले गुनासोपेटिका राम्रो व्यवस्था भए पनि यसको प्रभावकारिताबारे पर्याप्त जानकारी नदिँदा प्रयोग घटेको बताउनुभयो । उहाँका अनुसार कार्यालयले पेटिकाको नियमित प्रयोग तथा व्यवस्थापनमा ध्यान नदिँदा यसको महìव क्रमशः कम हुँदै गएको छ ।