गलकोट समाचारदाता
गलकोट (बागलुङ), वैशाख ६ गते । बिहानै सूर्योदयसंगै देखिने हिमालहरू चाँदी झैँ टल्किन्छन् । त्यही मोहित सूर्योदयसंगै दर्जन बढी हिमाल हेर्न अहिले पर्यटक बेलढुङ्गामा पुग्ने गरेका छन् । रुकुमको पुथा हिमालदेखि रसुवाको लाङटाङसम्मको हिमाल हेर्न पर्यटक बेलढुङ्गा पुग्ने गरेका छन् । प्राकृतिक भ्युटावरका रूपमा चिनिएको बागलुङ र म्याग्दीको सिमानामा रहेको बेलढुङ्गामा पर्यटक पु¥याउन पर्यटकीय पूर्वाधार र घरबासले सघाएको देखिन्छ । एक दशकअघिसम्म भिरमा घाँस काट्नेले मात्रै देखेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको छ ।
पहिचान, पर्यटकीय पूर्वाधार, प्रचार र प्रवर्धनसहित स्थानीय जागरुक बनेपछि बेलढुङ्गाले चर्चा मात्रै बटुल्न थालेन पर्यटकसमेत भित्र्याउन थालेको हो । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३, धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका भकिम्ली म्याग्दीको सिमानामा अवस्थित बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाइमा लालीगुराँससँगैको थुम्कोबाट देखिने आँखैअघिका हिमाल पर्ने गरेको छ ।
बेलढुङ्गाबाट सम्मुखमै दर्जनौँ हिमालको सुन्दर दृश्यले त्यहाँ पुग्ने पर्यटकलाई मोहित बनाउने गरेको छ । बेलको जस्तै आकृतिमा रहेको अग्लो ढुङ्गालाई परम्पराकालदेखि बेलढुङ्गा भनिँदै आएको थियो तर उक्त स्थानमा अहिले रेलिङसहितको फराकिलो पूर्वाधार निर्माण भइसकेको छ । यहाँ आएर मैले आँखैअघि बेलढुङ्गाबाट हिमाल हेर्न पाउँदा मोहित भएको शिव शर्माले जानकारी दिनुभयो । बेलढुङ्गाबाट आँखैअगाडि देखिने दर्जन बढी हिमशृङ्खला, गुराँससंगैको हराभरा वनजङ्गलको मनोरम दृश्य यसको प्रमुख आर्कषणको केन्द्र रहेको थापाको भनाइ छ ।
बेलढुङ्गाभन्दा केही तल म्याग्दीको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रमसमेत रहेको छ । धार्मिक आस्थाका कारण स्वर्गाश्रम पुग्ने सङ्ख्या पनि अधिक छ । गण्डकी प्रदेश सरकारले बेलढुङ्गा हुँदै पञ्चकोट जोड्ने पदमार्ग निर्माणका लागि समेत लगानी गरिरहेको छ । काठेखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले बेलढुङ्गा पुग्ने पदमार्गसहितका अन्य पूर्वाधार निर्माणमा ४० लाख रुपियाँ लगानी भइसकेको छ ।
स्थानीय गोपाल श्रीसको भनाइमा रुकुमको पुथा हिमालदेखि धौलागिरी, अन्नपूर्ण, माछापुच्छ«े, मनास्लुदेखि रसुवाको लाङटाङसम्मको हिमाल देख्न सकिन्छ । बेलढुङ्गा घरबासमा हरेक मौसममा पर्यटक बस्न आउने र बिहान बेलढुङ्गा पुग्ने गरेका छन् भने म्याग्दीको स्वर्गाश्रमबाट समेत पर्यटक दैनिक त्यहाँ पुग्ने गरेका छन् । बेलढुङ्गाको केही तल देउरालीसम्म बाटोको पहुँच पुगेको छ । देउराली धुरीबाट झन्डै एक किलोमिटर पदमार्गमार्फत करिब १० मिनेटको यात्रामा बेलढुङ्गा पुगिन्छ ।