• ६ वैशाख २०८३, आइतबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले विकास निर्माण प्रभावित

blog

पाल्पाको निर्माणाधीन आर्यभाङ्ज्याङ–रामपुर सडकखण्ड । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, वैशाख ६ गते ।
पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिले जिल्लाका विकास निर्माणका कामहरू प्रभावित भएका छन् । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेसँगै चालु अवस्थामा रहेका विकास निर्माणका आयोजना प्रभावित बनेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण सडक कालोपत्रे गर्न आवश्यक निर्माण सामग्री नपाएको गुनासो निर्माण व्यवसायी सङ्घ पाल्पाका अध्यक्ष दामोदर गैरेले गर्नुभयो । उहाँका अनुसार तेलको निरन्तर मूल्य वृद्धिका कारण भइरहेका काम रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।

सरकारले विकास निर्माण क्षेत्रलाई सहुलियत प्रदान गरी काम गर्ने वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो । मध्यपूर्वी मुलुकहरूमा भइरहेको युद्धका कारण पनि निर्माण उद्योग संकटमा परेको उहाँले बताउनुभयो । तेलको मूल्य वृद्धिसँगै छड, सिमेन्ट, अलकत्रा, बिटुमिनजस्ता सामग्रीको अभाव भएको उहाँको भनाइ छ ।

पछिल्लो समय गृह मन्त्रालयबाट क्रसर उद्योग बन्द गर्ने निर्णय भएपछि बालुवा, गिट्टी र ढुङ्गाको समेत अभाव देखिएको उहाँले बताउनुभयो । निर्माण व्यवसायीहरूले ठेक्का मूल्य समायोजन गरे मात्र हालको अवस्थामा काम अघि बढाउन सकिने बताएका छन् । मूल्य वृद्धिअनुसार निर्माण सामग्रीको दररेट समायोजन निर्देशिका परिमार्जन गर्नुपर्ने निर्माण व्यवसायी सङ्घ पाल्पाका महासचिव राजेन्द्र केसीले माग गर्नुभयो ।

जिल्लामा सङ्घीय, प्रदेश र स्थानीय सरकार मातहतका विकासे आयोजनाहरू हाल ठप्पजस्तै बनेका छन् । मूल्य वृद्धिका कारण निर्माण सामग्री अभाव भएको र अन्य सामग्रीको मूल्य पनि बढेकाले काम रोक्नुपर्ने अवस्था आएको केसीले बताउनुभयो । समयमै मूल्य समायोजन नभए हजारौँको रोजगारीसमेत गुम्ने जोखिम रहेको निर्माण व्यवसायीहरूको भनाइ छ ।

यसैबिच तानसेन नगरपालिकाले निर्माण क्षेत्रको मूल्य समायोजन गर्न सङ्घीय सरकारलाई अनुरोध गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण विकास निर्माणका काम ठप्प भएकाले मूल्यअनुसार समायोजन गर्न नगरप्रमुख सन्तोषलाल श्रेष्ठले आग्रह गर्नुभएको छ ।