जनार्जन खत्री
सर्लाही, वैशाख ६ गते । नयाँ सरकार गठन भएपछि सर्लाहीका विभिन्न पालिकामा सरुवा गरेर पठाइएका प्रमुख प्रशासकीय अधिकृत अझै हाजिर हुन आएका छैनन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा, स्वास्थ्य र आयुर्वेद शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर सर्लाहीका ११ पालिकामा दरबन्दी अनुसार शाखा अधिकृत र उपसचिवलाई सरुवा गरेको छ । मन्त्रालयले चैत १६ गतेदेखि ३० गतेसम्म सरुवा गरेका ११ जना प्रमुख प्रशासकीय अधिकृतमध्ये चार जनाले मात्र पालिकामा आएर हाजिर भई कामकाज सुरु गरेका छन् । मन्त्रालयले सरुवा गरेर पठाएका अन्य सात जना प्रमुख प्रशासकीय अधिकृत भने सम्पर्कमै नआएका जनप्रतिनिधिको भनाइ छ । चैत १६ गतेको निर्णय अनुसार बागमती, कविलासी, हरिपुर र गोडैतामा सरुवा गरेर पठाइएका चार जना उपसचिव मात्र अहिलेसम्म हाजिर हुनुभएको छ ।
बागमतीमा उपसचिव रामप्रसाद शर्मा, कविलासीमा उपसचिव मनहरि बराल, हरिपुरमा उपसचिव जयराम नेपाल र गोडैतामा उपसचिव हेमबहादुर कार्की हाजिर भएर जिम्मेवारी समाल्नुभएको हो । मन्त्रालयले चैत १९ गते धनकौल गाउँपालिकामा शाखा अधिकृत प्रशान्तकुमार बर्मा, विष्णु गाउँपालिकामा शाखा अधिकृत प्रमोदकुमार ठाकुर र बसबरिया गाउँपालिकामा शाखा अधिकृत सुजितकुमार यादवलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको थियो ।
चैत २६ गते हरिपुर्वा नगरपालिकामा उपसचिव जगदीश अर्याल र ईश्वरपुर नगरपालिकामा उपसचिव शालिकराम दाहाललाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको थियो । चैत ३० गते मलङ्गवा नगरपालिकामा उपसचिव झङ्कनाथ ढकाल र बलरा नगरपालिकामा उपसचिव मेघराज पन्तलाई सरुवा गरेर पठाइएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइडमा उल्लेख छ ।
धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले मन्त्रालयले नयाँ शाखा अधिकृतलाई सरुवा गरिएको सूचना आफूले पनि देखेको तर सरुवा गरिएका कर्मचारी सम्पर्कमै नआएका बताउनुभयो । मन्त्रालयले यसअघि पनि पालिकाहरूमा बारम्बार सरुवा गरेर पठाएका शाखा अधिकृत र उपसचिव सरुवा हुनै नआउने परिपाटी देखिएको थियो । नयाँ सरकार बनेपछि पनि उही समस्या देखिएको हो ।
प्रायः जनप्रतिनिधिबिच किचलो रहेको पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउन अस्वीकार गर्ने गरेका छन् भने कतिपय ठाउँमा हाजिर हुन आउनेलाई जनप्रतिनिधि आफँैले हाजिर नै नगराउने परिपाटी छ । पालिकाहरूमा मन्त्रालयले पठाएका कर्मचारीलाई हाजिर नगराई तल्लो तहका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर आफू अनुकूल काम गराउने परिपाटी व्याप्त रहेको नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले बताउनुभयो । पालिकामा आर्थिक अधिकारसहितको प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकासनिर्माणका कामसँगै दैनिक कामसमेत प्रभावित बन्दै आइरहेको छ ।