• १३ साउन २०८१, आइतबार

चार दिनदेखि बेपत्ता आरोहीको जीवितै उद्धार

blog

हिमाल आरोहणका क्रममा बेपत्ता भारतीय नागरिकको जीवितै उद्धार । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, बैशाख ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका क्रममा बेपत्ता भारतीय पर्वतारोही अनुराग मालुको चार दिनपछि जीवितै उद्धार गरिएको छ । 

भारतको राजस्थानको किशनगढका ३४ वर्षीय मालु अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिनुभएको हो । सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहीबार बिहान ११ बजेतिर सात हजार पाँच सय मिटरको उचाइबाट जीवितै उद्धार गरिएको मौरीस हर्गोज ट्रेल व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार हेलीबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको छ । उहाँको अवस्था गम्भीर भएको अस्पतालले जनाएको छ । मालु सेभेन समिट ट्रेकको समन्वयमा उहाँ हिमाल आरोहण गर्न आउनुभएको थियो । आरोहण सफल नभएपछि आधार शिविर फर्किनेक्रममा मालु बेपत्ता भएको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

अन्नपूर्ण हिमालबाट यसअघि मंगलबार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि जीवितै उद्धार गरिएको थियो । अन्नपूर्ण आरोहण गरेर फर्किनेक्रममा स्कटल्याण्डका आरोही नोयल हान्नाको मंगलबार मृत्यु भएको थियो । यस वर्षको हिमाल आरोहणयाम सुरु भएदेखि बिहीबारसम्म ३८ जनाले हिमाल आरोहण गरिसकेका छन् ।