• १३ साउन २०८१, आइतबार

हिमपहिरोमा बेपत्ताको खोजी जारी

blog

काठमाडौँ, वैशाख ७ गते । हिमपहिरोमा परी सगरमाथा क्षेत्रमा बेपत्ता भएका तीन जना भरियाको अवस्था एक सातादेखि अज्ञात छ । हिमपहिरोमा बेपत्ता भएका खुम्बु पासाङल्हामु गाउँपालिका–५, छेसोका तीन जनाको खोजी कार्य जारी रहे पनि हालसम्म फेला पार्न सकिएको छैन ।

आरोहीको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू चैत २९ गते हिमपहिरोमा बेपत्ता भएका थिए । बेपत्ताहरूको शेर्पाको समूह, रेको डिभाइस र हेलिकोप्टरबाट खोजी कार्य भइरहे पनि हिउँका ठूला ढिस्कामुनि पुरिएकाले खोजी कार्यमा कठिनाइ रहेको र हिउँ पग्लिएपछि थप खोजी कार्य गरिने इमाजिन ट्रेक नेपालका कार्यकारी निर्देशक दावा शेर्पाले बताउनुभयो । 

क्याम्प एकभन्दा तल पाँच हजार सात सय मिटरको उचाइस्थित दाम (खुम्बु आइसफल)मा गएको हिमपहिरोमा ३२ वर्षीय तेम्बा तेन्जी शेर्पा, २२ वर्षीय लाक्पा रिता शेर्पा र ४५ वर्षीय दा छिरि शेर्पा पुरिनुभएको हो । उहाँहरू तीनै जना सगरमाथा आरोहणका लागि बाटो बनाउन ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम)को सामान बोकेर दोस्रो शिविरतर्फ उक्लँदै गर्दा हिमपहिरोमा 

पर्नुभएको हो ।  

निर्देशक शेर्पाले दुर्घटनाको चार दिनसम्म नियमित खोजी कार्य गरिएको र बेपत्ताहरू पुरिएको सम्भावित स्थानमा ठुल्ठूला हिउँका ढिस्का रहेकाले हिउँ नपग्लिएसम्म शव भेटिने सम्भावना नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “दोस्रो शिविरभन्दा माथिको बाटो निर्माणको काम रोकर बेपत्ताको खोजीमा लागे पनि ठूलो हिमपहिरोमा पुरिएकाले खोजीमा कठिनाइ देखिएको छ । बेपत्ताहरू जीवित नरहेको निष्कर्षपछि पीडित परिवारलाई राहतस्वरूप बिमा दाबी भुक्तानीको रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेका छौँ ।”

पर्यटन विभागका अनुसार यस पटक सगरमाथा आरोहणका लागि मङ्गलबारसम्म नेपालसहित ५८ देशका ३९६ जनाले अनुमति लिएका छन् । आरोहण अनुमतिबाट सरकारलाई यस वर्ष ६४ करोड ४८ लाख चार हजार ३७८ रुपियाँ हिमाली दस्तुर आम्दानी भएको छ ।