सदाचार, इमानदारिता, नैतिकता, कर्तव्यपरायणता र शालीनता मानवीय गुणहरू हुन् । असल मानिसमा यी गुण अनिवार्य हुन्छन् । अज्ञानी बालक र अशक्त वृद्धलाई छोडेर जुनसुकै अवस्थाको मानिसका लागि यी गुण अपरिहार्य मानिन्छन् । समाजका युवाका निमित्त त यी गुणको कठोर अनुसरणबिना जीवनको सफलता सम्भव छैन । हाम्रो समाज मानवीय गुणको अनुसरणका दृष्टिले दिनानुदिन ह्रासोन्मुख देखिएको छ ।
समाजका अगुवा भनेका नेताहरू हुन् । उनीहरूले सदाचार र मानवताको बाटो देखाउन सके मात्र अनुयायीहरूले सिको गर्छन् । हाम्रा सामाजिक संस्थाको नेतृत्व वर्गमै नैतिकता र आत्मानुशासनको ह्रास भइरहेको छ । यसैले मुलुकको भविष्यका रूपमा रहेका युवा वर्गमा यसको असर परिरहेको छ । नैतिकता ह्रासको परिणामस्वरूप समाजमा लेखकले देखेभोगेका एक–दुई घटनाको यथार्थ शब्दचित्र प्रस्तुत गर्नु र नववर्षको प्रारम्भसँगै यसमा सुधारको प्रणतर्फ जनमानसलाई अभिप्रेरित गर्नु यस सङ्क्षिप्त लेखनको उद्देश्य हो ।
नीतिशास्त्रले भन्छ, उपकारी र गुणी व्यक्ति सदासर्वदा शालीन हुन्छ, फलेको र छहारी भएको फलवृक्षजस्तै । असल मानिसको स्वभावलाई उदाहरणका रूपमा लिएर नीतिशास्त्र निर्माण भएको हुन्छ र तिनले दुर्जनको दुर्जनतामा परिवर्तन ल्याएर मानव समाजमा सदाचार विस्तार गर्ने उद्देश्य लिएका हुन्छन् तर बेलगाम हाम्रा युवा र हाम्रो समाज ‘मै खाउँ, मै लाऊँ, दुर्बलहरू जतासुकै जाऊन्’को बाटोमा हिँडिरहेका छन् । पराधीनता लेखकलाई स्वीकार्य छैन । लेखक यथासम्भव आफ्ना काम आफैँ गर्न चाहन्छन् । बत्ती–पानी, तिरोतारो, बैङ्किङ कारोबार, किनमेल, लाइसेन्स–ब्ल्युबुक नवीकरण, अन्य सामाजिक वा सार्वजनिक कार्यक्रममा आफैँ सक्रिय रहनुपर्ने हुन्छ । राज्यले नागरिकलाई सेवासुविधा पु¥याइरहेको विज्ञापन गर्न पनि छोडेको छैन ।
म एक दिन तोकिएको मितिमा सवारीसाधनको प्रदूषण जाँच गराउन यातायात व्यवस्था विभागको लाइनमा पुगेँ । १० बजेसम्म लाइन लामो हुने हुँदा मैले ८ बजे नै सवारीसाधन लाइनमा छोडेर १० बजेपछि राजस्व तिर्न काउन्टर पुगेँ । लाइन त्यहाँ पनि लामै थियो । सबै मेरो तुलनामा युवा नै लाइनमा अगाडि थिए । मैले काउन्टरमा ज्येष्ठ नागरिक सुविधा छैन भनेर सोधेँ । “छ न त छ तर अगाडिका कसैले तपाईंलाई ठाउँ छोडिदिनुहुन्छ भने छ,” काउन्टरकी कर्मचारीले भनिन् ।
लाइनमा बसेका सबै मुखामुख गर्न थाले । मैले उनीहरूको हाउभाउ पछाडिबाट पढिरहेँ । कसैले अगाडि जान मलाई प्रस्ताव गरेन । उल्टै एउटा युवाले “ज्येष्ठ नागरिक हो र ! जुँगा कालै छन् । फुर्तिलै हुनुहुन्छ । आफ्नो पालो पर्खिन सकिहाल्नु हुन्छ नि” भन्यो । अर्को युवाले त “हामी पनि सबै काम छोडेर लाइन कुर्न आएका । पालो मिच्न दिन सकिन्न” भनेर ठूलाठूला आँखा ग¥यो । मलाई विवाद गरेर ज्येष्ठ नागरिकको सुविधा लिने चाहना भएन, क्षमता भएन भनौँ ।
यातायात व्यवस्था विभागमा राजस्व बुझाएपछि प्रदूषण जाँच गराउने पालो आयो । गाडीहरूको लामै लाम थियो । मेरो अगाडि केही गाडी थिए । यहाँ पनि मैले ज्येष्ठ नागरिकको अधिकारको दाबी गरेँ तर जाँच गर्ने कर्मचारीले भन्यो, “सुविधा त छ तर गाडी कसरी अगाडि ल्याउन सक्नुहुन्छ । सक्नुहुन्छ भने ल्याउनुहोस् ।” नभन्दै बाटो साँघुरो थियो । दोहोरो गाडी चल्ने अवस्था थिएन । म चित्त बुझाएरै कुरिरहेको थिएँ । एउटा गाडी जबर्जस्ती अगाडि आयो । पछाडिका गाडीहरूलाई छुनछुन खोज्दै त्यो गाडी अगाडि बढेको थियो । मेरो गाडीलाई त थोरै छोई नै हाल्यो ।
मैले “हैन, के गरेको भाइ ?” भने । “सरी है अङ्कल, मलाई हतार छ । केही भएको छैन । तपाईंको गाडीको चक्का सिधा भएको रहेनछ । मलाई थाहै भएन,” उसले भन्यो । त्यहाँ मैले शालीनता नअपनाएको भए ठूलै विवाद हुन्थ्यो । म विवाद गर्ने पक्ष र क्षमतामा थिइनँ तर मैले प्रश्न गर्न भने छोडिनँ । अगाडि गएर प्रदूषण जाँच गरिरहेको कर्मचारीलाई भने– यो गाडीलाई चाहिँ किन अगाडि आउन दिनुभएको त ? उसले सजिलै भन्यो, “उहाँ आउन सक्नुभयो, आउनुभयो । तपाईंलाई पनि आउनुहोस् भनेकै हो । त्यो हाकिम साहेबको गाडी हो । पहिले नै पैसा तिरिसकेको थियो । हामीले रोक्न मिल्दैन ।” अब मसँग ‘शालीन’ हुनुबाहेक कुनै क्षमता थिएन, विकल्प थिएन ।
यति मात्र होइन, मैले ट्राफिक प्रहरीबाट पनि यस्तै पक्षपातपूर्ण व्यवहार भोगेको छु । घरजग्गा कर तिर्न म कर कार्यालय पुगेँ । पार्किङको समस्या छँदै थियो । त्यस दिन संयोगले श्रीमती पनि साथमै थिइन् । अरूहरूले पार्किङ गरिरहेको स्थानमा हामीले पनि गाडी पार्क गरेर कार्यालयको काम पूरा गरेर फर्कियौँ । मेरो गाडीको अगाडिको देब्रेपट्टिको चक्का लक गरिदिएको रहेछ । मैले २०४६ देखि आजसम्म काठमाडौँमा यस्तो समस्या बेहोरेको थिइन । मलाई थाहा पनि थिएन । गाडी चलाउन खोजेँ । चक्का घुमेन । निस्किएर हेर्छु त चक्का लक छ । मैले नजिकको ट्राफिकलाई सम्पर्क गरेँ । गलत ठाउँमा पार्किङ गरेकाले लक गरिएको भन्ने जवाफ पाएँ । त्यहाँ त्यसबेलासम्म पनि धेरै गाडी पार्किङ गरिएका थिए ।
मैले ट्राफिकलाई सो कुरा पनि जानकारी गराएँ । ट्राफिक घुम्तीको समय परेर त्यसो भएको हो भन्ने खबर भयो । यस्तैमा घुम्दै दुई ट्राफिक प्रहरी आइपुगे । मेरोसमेत अरू गाडीहरू पनि उसै गरी पार्किङ गरिएका थिए । कुनैमा ड्राइभर थिए, कुनैमा थिएनन् । मैले मेरो गाडी मात्र लक हुनुको कारण सोधेँ । उनीहरूले पनि ट्राफिक रनिङको टाइम प¥यो भनेर सजिलै जबाफ फर्काए । एउटाले थप्यो– तपाईंलाई नियम थाहा रहेनछ । अरू गाडीहरूमा ड्राइभर बस्छन् । ट्राफिक घुम्ने समय बुझेर भाग्छन् । तपाईंले त्यस्तो केही गर्नु भएनछ ।” ट्राफिकले त्यसो भन्दै गर्दा पनि पार्किङमा ड्राइभर नभएका गाडीहरू थिए ।
थप विवाद मेरो लागि सह्य भएन । आफैँ सहनशील र शालीन बनेर फर्किएँ । मेरी श्रीमती यो तमासा हेरिरहेकी थिइन् । भनिन्, “के गर्नु हामीले शालीन हुनैपर्छ । झगडा गर्न सक्ने हट्टाकट्टा र तन्नेरी भए पो विवाद गर्नु ।” उनको आशय पनि शायद ‘हामी बूढाबूढी’ भन्ने हुँदो हो तर त्यसो भनिहालिनन् । मेरो सोच भने बूढाबूढीले शालीन हुनुपर्छ । तन्नेरीले भने जे मन लागे पनि गर्न पाउँछ । भाँडभैलो गरे हुन्छ । गुण्डागर्दी तमासा सकेजति गरे हुन्छ । मुख छोड्ने, हात हाल्ने जुनसुकै व्यवहार गर्न पनि बलियोलाई छुट छ भन्ने मान्न तयार छैन । मेरो मान्यता ठीक विपरीत छ । शालीनता सबैखाले मानिसको साझा शोभा र गहना हो । यसले सबैलाई समान मान दिलाउँछ । किशोर, युवा, बलियाबाङ्गाहरूका निमित्त त यो गुण अपरिहार्य नै हुन्छ । बूढाबूढीले जीवनयापनकै निमित्त शालीनतालाई अनिवार्य मान्नु पर्दैन । उनीहरूको जीवन अन्त्यको नजिक नजिक पुगेको हुन्छ तर युवाको पूरै जीवन बाँकी हुन्छ । यो जीवन पूर्ण रूपमा जिउनका निमित्त उसमा सदाचार, सुसंस्कार र शालीनता अपरिहार्य हुन्छन् । यी गुणको अभावमा उसले सफल जीवन बिताउन सक्तैन ।
नीतिशास्त्रले असल र खराब मानिसको चरित्रमा स्पष्ट भिन्नता देखाएको छ । असल मानिसले मनमा जुन कुरा सोच्छ, त्यही कुरा बोलेर सुनाउँछ । उसले गर्ने व्यवहार पनि उसको मन र बोलीवचनजस्तै समान हुन्छ तर खराब व्यक्ति मनमा कुटिलता राख्छ । बोलीवचनले कृत्रिम चिप्लो घसेर मिठो पारेर बोल्छ । उसको आचरण र व्यवहार भने अपराधपूर्ण, षड्यन्त्रपूर्ण र पासविक हुन्छ । अहिले समाजमा असल मानिसको खडेरी र दुर्जन मानिसको बोलवाला छ । समाजका अगुवा, नेताहरू कसैको बोलीमा विश्वास गर्न सकिँदैन । जब उनीहरूको स्वार्थी, भ्रष्ट र अनैतिक आचरण देखिन्छ तब कसैले पनि उनीहरूको मिठो बोलीमा विश्वास गर्दैन । उनीहरूको मिठो वचनलाई साधारण जनमानसले अगाडि दूध देखिएको विषको घडासँग तुलना गर्दछ । हाम्रो समाजमा मानवता दिनानुदिन कमजोर हुँदै गएको छ भने अनैतिक र भ्रष्ट चरित्र मौलाउँदै गएको छ । राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक र स्वास्थ्य क्षेत्रमा व्याप्त यस्ता विकृतिको प्रत्यक्ष अनुभव गरिएको छ । यस्ता विकृतिको चित्रणमा जति नै शब्द र पृष्ठ खर्च गरे पनि अपर्याप्त नै हुन्छ । एक दिनको घटना भने जति नै बिर्सिन खोजे पनि बिर्सिन सकिँदैन ।
म नास्तिक होइन । आफू दुर्बल भएको अनुभव हुनेबित्तिकै मेरो बोली “ऐøया आमा ! मरेँ नि आमा !! रक्षा गर भगवान् !!!” भन्न पुग्छ भने म कसरी नास्तिक हुन सक्छु ? तर म निराहार भएर, जलाहार–फलाहारसमेत छोडेर कुनै मन्दिरमा पङ्क्तिबद्ध भएर आस्तिकताको आडम्बर देखाउँदै हिँड्ने ढोँगी भने बन्न सकिनँ । म आफ्नै दिनचर्याले घुम्दै थिएँ । पशुपति परिसर घुम्ने पनि चाहना भयो । म त्यहाँ पुगेँ । बाटामा भक्तजनका नानाथरिका आडम्बरयुक्त ढोङहरू सुन्दै गएको थिएँ ।
मन्दिरभित्र दुवैतिर दर्शकको लामो पङ्क्ति रहेछ । पङ्क्ति छोटै भए पनि पङ्क्तिबद्ध भएर दर्शन गर्ने मलाई उत्साह हुँदैन । खाली देखेँ भने शिवलिङ्गको दर्शन गरी पनि हाल्छु । नत्र परैबाट बिदा माग्छु । परिवार र केटाकेटीसँग पशुपति दर्शन गर्न जाँदा म उनीहरूको खुसियाली र उत्सुकताका निमित्त शिलागजुरमा पैसा अड्काउने काम गर्छु । म एक्लै जाँदा यो काम गर्दिनँ । साथ छँदा मैले सधैँ यो काम गर्ने गरेको छु । संयोगले मैले फालेको पैसा धेरैजसो गजुरमा अड्किन्छ । परिवारका सदस्यहरू मलाई भाग्यमानी ठान्छन् र त्यसको राम्ररी नै प्रचार पनि गर्दछन् । म घरमा पशुपतिनाथमा पैसा अड्काउने भाग्यशाली व्यक्ति गनिएको छु ।
त्यस दिन पनि मैले प्रायः सधैँझैँ अचम्मको दृश्य देखेँ । बलियाबाङ्गाहरू लाइनमा ठेलमठेल गर्छन् । नानाथरि बोलीवचन गर्छन् । दुर्बल बूढापाकाहरूलाई यो सब गर्ने चाहना हुँदैन । उनीहरूसँग यस्तो शक्ति पनि हुँदैन । सुरक्षा र सहयोगका लागि खटिएका पुलिसहरू पनि बलियाबाङ्गा बिचौलियाकै पक्षमा हुन्छन् । कमजोर र बूढापाकालाई उल्टै हप्काउँछन् । “उठ्नै नसक्नेले किन दर्शन गर्न खोज्नु ? बूढाबूढीले घरैमा बस्ने हो । पशुपतिको दर्शन गर्न रहर गर्ने होइन । मठमन्दिर जान खोज्ने होइन” भन्दै एउटा बलियोबाङ्गो व्यक्तिले दुर्बल भक्तलाई हकार्छ । अरूहरू बलियाको साथ दिन्छन् । म मनमनै प्रश्न गर्छु, “भगवान् कसलाई चाहिने हो ? असहायलाई कि भुस्तिघ्रेलाई ?”
यद्यपि भगवान् सबैका सहारा हुन्– ठूलासाना सबैका, धनी–गरिब सबैका । भगवान् बलिया–दुब्ला, बूढा–तन्नेरी, महिला–पुरुष, तल्लोमाथ्लो सबै जातका समान सहारा हुन् । सबैका लागि उनको दयाको ढोका सधैँ खुला रहन्छ तर त्यहाँ त त्यसो भइरहेको थिएन । बलियाले पशुपतिनाथलाई पेवा बनाइरहेको थियो । धार्मिक स्थलमा, नेपालीको आस्था केन्द्रमा त यस्तो अभद्रता र दानवताको राज भइरहेको देखिन्छ भने अरू ठाउँ कस्ता होलान् ? संस्कारको दयनीय खडेरीको नमुना खोज्न यहाँभन्दा अगाडि बढ्नु पर्दैन तैपनि लेखकको भोगाइ यत्तिमै सीमित छैन ।
काठमाडौँको ट्राफिक अव्यवस्थामा शालीन चालकहरूले नै बढी दुःख पाउँछन् । मलाई नियमित आवतजावत गर्नुपर्छ । बीसवर्षे चालकहरू बेलगाम गाडी चलाउँछन् । मोटरसाइकल चलाउने युवा विद्यार्थीको त कुरै छोडौँ । सडकमा टेम्पो र साइकलसमेत जसको शक्ति, उसैको भक्तिको हिसाबमा दौडिरहेका हुन्छन् । पहिले पहिले साझाको गाडी र ठूला गाडी देख्दा यी गाडीमा पक्कै परिपक्व र शालीन चालक छन्जस्तो विश्वास हुन्थ्यो ।
आजकल त यस्ता गाडीसमेत २०–२२ वर्षे केटाले नै बेपरवाह चलाइरहेका हुन्छन् ।
दायाँ लेनबाट एउटा पेल्दै आउँछ, बायाँ लेनबाट अर्को । जाम भएको स्थानमा ठूला गाडीले साना गाडीलाई पेल्दै हिँडेका हुन्छन् । सहचालक र सहयोगीहरू सबैले सुन्ने गरी खुलेआम “पेल्दिउँ दाइ, पेल्दिउँ” भनेर चालकलाई उकास्छन् । कति चालकले यात्रामा मेरो गाडीलाई ठक्कर दिँदै हिँडेका छन् । यात्रामा सहभागी मेरी श्रीमती पनि आफैँले गल्ती गरेसरह अनुभूति गर्छिन् । यस्ता अवस्थामा पनि मजस्तो चालक शालीन बन्नुको विकल्प छैन । साढे तीन दशक बढीको मेरो अनुभवमा बाक्लो र अव्यवस्थित ट्राफिक भएको अवस्थामा मैले यस्तै अनुभव गरेको छु ।
विद्यार्थी जीवन र प्राध्यापन सेवामा रहँदा मैले अनेक परिवर्तन देखेँ । कतिपय परिवर्तनमा त आफूसमेत सक्रिय भएर लागेँ । लाग्नुको एउटै उद्देश्य थियो– देशको समुन्नति । देशमा पूर्ण प्रजातन्त्रको स्थापना हुनेछ । सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक र स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ । असहाय, निर्धन, अशक्तले सहारा पाउने छन् । राजनीतिक नेता र सहयोगीहरू राजनीतिको उच्च सेवाभावबाट अनुप्रेरित हुने छन् । मुलुकमा सदाचार र सुशासनको प्रत्याभूति प्राप्त हुनेछ ।
समाजमा शालीनता भयो भने लक्ष्मीप्रसाद देवकोटाले भनेझैँ मुलुक सुन्दर र शान्त हुनेछ । नभन्दै देशमा प्रजातन्त्र पुनस्र्थापना भयो । लोकतन्त्र÷गणतन्त्र स्थापना भयो । धर्मनिरपेक्षता र सङ्घीयतासमेत प्राप्त भयो । गणतान्त्रिक नयाँ संविधान निर्माण भयो । त्यसको कार्यान्वयन भएको पनि एक दशक हुन लाग्यो तर परिणाम ठीक उल्टो भयो । मुलुकमा सदाचार र सुशासन नै सङ्कटमा परेको छ । समाजमा अराजकता र अपराधीकरणले प्रोत्साहन पाइरहेको छ । स्वार्थ र भ्रष्टाचारले बढावा पाएको छ । सत्य र इमानदारिता कतै खोजे पनि पाइँदैन । असहाय र दुर्बलहरूले जीवनयापन गर्ने अवस्था छैन ।
सबैभन्दा डरलाग्दो विषय त के छ भने समाजमा सदाचार, सुसंस्कार र शालीनता दिनानुदिन अधोगतितर्फ लागेका छन् । पतनोन्मुख देखिएका छन् । समाजको मेरुदण्ड सदाचार हो । यो भाँचिएको छ । यसले विशेष गरी युवावर्गलाई प्रभावित गरेको छ । तसर्थ आजको राष्ट्रिय चुनौती भनेको ह्रास भएको नैतिकता, इमानदारिता र सदाचारको पुनरुत्थान हो । हाम्रो व्यवस्था, हाम्रा नेता, सरकार र सबैले समयमै सचेत रहेर देशमा सुशासन र व्यक्तिमा शालीनताको विकास नगर्ने हो भने हाम्रो सङ्घर्ष र हाम्रा उपलब्धि इतिहास र गन्तीका विषय मात्र हुनेछन् ।
लेखक अध्ययन अनुसन्धानमा क्रियाशील हुनुहुन्छ ।