• १३ असोज २०८१, आइतबार

गुणस्तरहीन तयारी चिया उद्योगमै नष्ट

blog

कारखानामा नष्ट गरिएको चिया । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, वैशाख ६ गते । सूूर्याेदय नगरपालिकाको अनुगमन टोलीले नगरपालिका वडा ४ को एक उद्योगमा रहेको ५० हजार किलो तयारी चिया नष्ट गरेको छ । उद्योगले ‘गुणस्तरहीन’ चिया बेच्न लागेको भन्दै नगर टोलीले नष्ट गरेको हो ।

सिन्का र धुलोमात्रै रहेको चियाले सूर्याेदय नगर र नेपाली चियाको बदनाम गराउने भएपछि गुणस्तरहीन चिया नष्ट गरिएको वडा १० का वडाध्यक्ष तथा चिया समस्या समाधान समितिका संयोजक पेमाउगेन लामाले बताउनुभयो । 

‘त्यो उद्योगले बेच्न लागेको चियाले यहाँको अरू गुणस्तरीय चिया बिक्रीमा समेत असर गर्ने देखियो,’ उहाँले भन्नुभयो, ‘कारखानासँग छलफल गरी नष्ट गर्न लगाइएको हो ।’ बुधबार यो चिया खाडल खनेर पुुरिएको छ । 

यो उद्योगले अरू उद्योगबाट समेत गुणस्तरहीन चिया ल्याएर बेच्नेगरेको भेटिएको छ । उद्योगमा भण्डारण गरेर राखिएको बोराको मात्र होइन, प्याकेजिङ गरिएको चियासमेत गुणस्तरहीन पाइएको वडाध्यक्ष लामाले बताउनुभयो ।

कारखानाले भने यो चिया भारतमा बिक्री हुने भएकाले उत्पादन र खरिद गरेर बेच्नेगरेको जनाएको छ । ‘यो चिया भारतमा बिक्छ,’ उद्योग प्रबन्धक अजय जैसवालले भन्नुभयो, ‘हाम्रो उद्योगले मात्रै होइन, अरू उद्योगले पनि बेच्नेगरेका छन् ।’ उहाँले अब चाहिँ यस्तो चिया आफूले नबेच्ने बताउनुभयो । 

सूर्याेदय नगरले चिया क्षेत्रमा न्यूनतम् समर्थन मूल्य कार्यान्वयन, चिया प्रशोधन उद्योगको वर्गीकरण, गुणस्तरीय तयारी चिया निर्यातलगायतका लागि काम गरिरहेको नगरको भनाइ छ । नगरले २०७५ सालमा हरियो चियापत्तीको न्यूनतम् समर्थन मूल्यसहितको चियासम्बन्धी कार्यविधि निर्माण गरेको थियो ।