• १३ साउन २०८१, आइतबार

पूर्वी नवलपरासीका वनमा डढेलो लाग्ने क्रम बढ्दो

blog

वनमा लागेकाे डढेलाे । फाइल फाेटाे

मीना कँडेल

पूर्वी नवलपरासी, बैशाख ६ गते । पूर्वी नवलपरासीका विभिन्न वनहरूमा डढेलो लाग्ने क्रम बढ्दै छ । जिल्लाका विभिन्न वनहरूमा सुख्खा मौसम सुरु भएपछि चैतसम्ममा दुई हजार ६५० हेक्टर क्षेत्रफलमा डढेलो लागेको हो । 

हरेक वर्ष सामान्यतया: फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशभर अत्यधिक बढ्ने गरेको छ ।

यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ । डढेलोले जंगलमात्र नभएर मानव बस्तीलाई समेत जोखिममा पार्दै आएको छ ।

गत चैतसम्मको प्राप्त तथ्याङ्क अनुसार यो क्षेत्रफल हाल बढ्न सक्ने डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले बताउनुभयो ।

सूचना अधिकारी गौतमले भन्नुभयो “कतिपय स्थानबाट सूचना आउँदैन, सबै गर्दा प्राप्त क्षेत्रफल भन्दा केही धेरै डढेलो लागेको हुन सक्छ’ अहिलेसम्म नवलपुरमा रहेको वन क्षेत्रमा ५३ स्थानमा डढेलो लागेको छ ।”

नवलपुरमा अहिले करिब ३५ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको उहाँले बताउनुभयो । फागुनमा खासै डढेलोका घटना नभए पनि चैत लागेसँगै यहाँ रहेका सामुदायिक वनहरूमा डढेलो लागेको सूचना अधिकारी गौतमले बताउनुभयो ।

डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न सप्ताहव्यापी रूपमा “वन डढेलो सचेतना सप्ताह”कार्यक्रम सञ्चालन गरिएको डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले बताउनुभयो ।

राजमार्ग सडक तथा भित्री सडक छेउछाउमा फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गरहरू हटाउने तथा जलाउनेलगायतका कार्यहरू गरिएको छ” उहाँले भन्नुभयो । 

नेपालमा वन डढेलो प्राकृतिक कारणमात्र नभएर मानवीय कारणले पनि लाग्दै आएको छ । वन पैदावार सङ्कलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण बनेको छ ।

जलवायु परिवर्तनका कारण पृथ्वीको बढ्दो तापमानले पनि डढेलोको समस्या झन् जटिल बनाएको छ । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

प्रदूषण र वनमा हुने आगलागीलगायतका कारणले तुवाँलो बढी मात्रामा देखिएको सरोकारवालाहरू बताउँछन् । जसले विशेष गरेर श्वासप्रश्वास, दम, नाक र आँखामा समस्या हुने चिकित्सक बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले धुवाँ धुलो र प्रदूषणबाट बच्न सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

उहाँले अहिले देखिएको तुवाँलोको समस्याबाट बच्न चस्मा, मास्कको प्रयोग गर्न र अत्यावश्यक काम बाहेक घरबाहिर नजान सुझाव दिनुभएको छ । ठूलो हावाहुरी र पानी नपरेसम्म मौसम यस्तै रहने मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

तुवाँलोले स्वास्थ्यमा पुर्‍याउने असरबाट जोगिन उहाँले सचेत गराउनुभएको छ । नवलपुरमा करिब ७० हजार ४ सय हेक्टर क्षेत्रफलमा वन छ ।