• २३ पुस २०८१, मङ्गलबार

‘जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने’

blog

प्रतिनिधि सभा बैठक । फाइल तस्बिर

काठमाडौं, वैशाख  ६ गते । सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ । प्रतिनिधि सभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाउनुभयो । उहाँले साबिककै अवस्थामा जग्गा कित्ताकाट खुलाउँदा जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने बताउनुभयो ।

सांसद रमा कोइराला पौडेलले भारत हुँदै ओमान जान हिँडेका नेपाली महिला मुम्बईमा अलपत्र परेको सम्बन्धमा जानकारी गराउँदै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै, ती महिलालाई विदेशमा कानुनी लडाइँ लड्नुपर्ने भएकाले सहयोग गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

सांसद श्यामकुमार घिमिरेले नेपालको निजी क्षेत्रले भारतमा विद्युत् निर्यात गर्न पाउने सहमति भए पनि कानुनी अड्चन देखिएकाले तत्काल त्यस्तो कानुन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । – रासस