• १३ साउन २०८१, आइतबार

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहलमा वृद्धि

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, बैशाख ६ गते । यस वर्षको हिमाल आरोहण याम सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आरोही र पर्यटकको चहलपहल बढ्न थालेको छ । 

पर्यटक सिजन सुरु भएसँगै अन्नपूर्ण आधार शिविर जाने पदयात्रामा निस्केका पर्यटक र हिमाल आरोहणका लागि आएका स्वदेशी तथा विदेशी आरोहीका कारण पछिल्ला दुई हप्ता यता चहलपहल बढेको मौरिस हर्गोज ट्रेल व्यवस्थापन समितिका अध्यक्ष तथा नारच्याङका स्थानीय तेज गुरुङले जानकारी दिनुभयो ।

गुरुङले भन्नुभयो, ‘‘आरोहीका साथै पदयात्राका लागि आएका पर्यटकका कारण यस पदमार्गमा चहलपहल बढेको छ ।’’ कोरोना महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र यसपटक फेरि ब्युँतिएको उहाँले बताउनुभयो । 

गुरुङले दिएको जानकारीअनुसार मङ्गलबारसम्म स्वदेशी र विदेशी गरी ३८ जनाले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरिसकेका छन् । अन्य आरोहीहरू पनि अन्नपूर्णको चुचुरोमा पुग्ने क्रममा छन् । 

८२ वर्षीय जापानी आरोही हिमाल आरोहणका लागि आधार शिविरबाट चुचुरोतर्फ प्रस्थान गरेको  उहाँले जानकारी दिनुभयो । ‘‘आरोही र पर्यटकको सङ्ख्या बढेसँगै आधार शिविरमा चहलपहल बढेको छ,’’ गुरुङले भन्नुभयो, ‘‘अन्नपूर्ण हिमालमा देखिएको चहलपहल अहिलेसम्मकै धेरै हो । दुई वर्ष अघि ६५ जनाले हिमाल आरोहण गरेका थिए । 

यस वर्ष त्यो सङ्ख्या बढ्ने देखिएको छ । आधार शिविरमा विदेशीका साथै आन्तरिक पर्यटक पनि उल्लेख्य मात्रामा पुगेका छन् ।’’ व्यवस्थित पदमार्ग र सुरक्षित पदयात्राका कारण अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको उहाँले बताउनुभयो । पर्यटक आगमन बढेसँगै पर्यटन व्यवसायीहरू उत्साहित बनेको अन्नपूर्ण गाउँपालिका –३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । 

कतारकी राजकुमारी अस्मा आल्थानी र आरोही निर्मल पुर्जाले हिमाल आरोहण गरेसँगै अन्नपूर्णको स्वदेश तथा विदेशमा प्रचारप्रसार भएकाले पनि यस वर्ष आरोहीको सङ्ख्या बढ्ने आशा गरिएको  उहाँले बताउनुभयो । 

सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो ।

आधार शिविर जानका लागि नारच्याङबाट छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति,फुल,चराचुरुङ्गी पदमार्गको आकर्षण भएको गुरुङले बताउनुभयो । यो पदमार्ग एक दशक अघि पहिचान भएको थियो । 

समुन्द्री सतहदेखि चार हजार ५ सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य मनमोहक छ । शिविरमा नीलो रङ र गोलो आकारका पाँच वटा तालहरू छन् । नारच्याङवासीले उक्त तालहरूलाई पञ्चकुण्ड भनेर नामकरण गरेका छन् । ती तालहरूबाट हिमालको छायाँ हेर्न सकिन्छ ।