• १० पुस २०८१, बुधबार

रत्न राजमार्गको स्तरोन्नति सुरु

blog

छिन्चु समाचारदाता

सुर्खेत, वैशाख ६ गते । रत्न राजमार्गको नेपालगञ्जदेखि सुर्खेतको वीरेन्द्रनगर उपत्यका जोड्ने खण्डलाई व्यवस्थित बनाइने भएको छ। सञ्चालनमा आएको लामो समय भइसक्दा पनि यो सडकको स्तरोन्नति भएको थिएन ।

कोहलपुर–वीरेन्द्रनगर ११५ किलोमिटर र कोहलपुर–नेपालगञ्ज २५ किलोमिटर रहेको यो सडकका विभिन्न भाग जीर्ण छन्। सुर्खेततर्फ हर्रे–बाङ्गेसिमलसम्मको सडकमा भने स्तरोन्नति र खाल्टाखुल्टी पुर्ने काम धमाधम भइरहेको छ। केही समयअघिसम्म वीरेन्द्रनगर बजार क्षेत्रमै सडकको अवस्था निकै कुरूप थियो। खाल्टाखुल्टी, धुलोधुवाँले सवारीसाधन मात्र होइन, पैदल यात्रुलाई समेत यात्रा गर्न सकस हुन्थ्यो। पछिल्लो समय अधिकांश ठाउँमा खाल्टाखुल्टी पुर्ने काम भइसकेको र बाँकी ठाउँमा पनि मर्मतसम्भारको काम जारी रहेको सडक डिभिजन कार्यालय सुब्बाकुनाले जनाएको छ। यस्तै बजार क्षेत्रमा पर्ने मुख्य पुलको निर्माण पनि सम्पन्न भएको छ। कतिपय ठाउँमा निर्माणका काम जारी छन्।

यो राजमार्ग हर्रे–सुब्बाकुनासम्म दुई लेन र सुब्बाकुना–बाङ्गेसिमल बजार क्षेत्र चार लेनको छ। करिब १० किलोमिटर लम्बाइको सुब्बाकुनादेखि यरिचोकसम्मको सडक थप व्यवस्थित गर्न सडक डिभिजन लागेको छ। अहिले अधिकांश खाल्टाखुल्टी टालिसकिएको छ। सडक किनारा थप व्यवस्थित गरी नाला स्तरोन्नति गर्ने काम धमाधम भइरहेको छ।

घुलियाबिटदेखि यरिचोकसम्म छ किमिमा ‘एचब्रेक’ भएको ठाउँलाई व्यवस्थित गर्न लागिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ। त्यसका लागि दुई करोड २२ लाख बजेट छुट्याइएको छ। जीर्ण अवस्थाको सडकमा खाल्टाखुल्टी पुरेर नयाँ कालोपत्रे हालेसँगै सडकले नयाँ स्वरूप पाएको यातायात व्यवसायीले बताएका छन्।  

मर्मतसम्भारको कार्ययोजनाअनुरूप हर्रेबाट काम सुरु भइसकेको छ। साथै दुई लेनअन्तर्गत तोलीखोला–छिन्चु–जाजरकोट सडक चार लेन गर्ने काम भइरहेको छ। छिन्चु–कर्णाली प्रवेशद्वारअन्तर्गत पर्ने पहिलो बजार हो। त्यसैले पहिला छिन्चुमा चार लेन बनाउने र विस्तारै सबै क्षेत्रमा चार लेन सडक विकास गर्ने योजना डिभिजन कार्यालयको छ।