• १३ असोज २०८१, आइतबार

प्रदेश सरकारका सय दिन

‘खर्च कटौती प्रमुख उपलब्धि’

blog

रङ्गेली समाचारदाता

विराटनगर, वैशाख ६ गते । नयाँ सरकार गठन भएको सय दिनमा प्रदेश सरकारले नाम र खर्च कटौतीका लागि मन्त्रालयको सङ्ख्या घटाएर सकारात्मक सन्देश दिएको छ। कोशी प्रदेश सरकार गठन भएको सय दिनको अवधिमा प्रदेश सांसदबाट नामकरण टुङ्ग्याउने र मन्त्रालय फुटाएर १३ सङ्ख्या पु¥याइएकोमा पुनः घटाएर नौमा झारिएको हो। 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मङ्गलबार सार्वजानिक गर्नुभएको सय दिने उपलब्धिमा यी दुई विषयलाई प्राथमिकतामा राखिएको छ। प्रशासनिक खर्च कटौतीमा सरकारले उल्लेख्य सुधार गरेको छ। चालु खर्चलाई २५ प्रतिशत कटौती गर्ने निर्णय गरिएको बताउँदै उहाँले मन्त्रालयको सङ्ख्या कटौती गर्दा त्यसले खर्चको भारलाई कटौती गरेको बताउनुभयो। 

मन्त्रालयको सङ्ख्या घटाएसँगै सङ्गठन तथा व्यवस्थापन कार्य सम्पन्न गरिएको छ। प्रशासनिक खर्चमा मितव्ययीता कायम गर्न सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता बढाउन उच्चस्तरीय प्रशासनिक सुधार कार्यदलसमेत गठन गरिएको छ। मुख्यमन्त्री कार्कीले १५ स्थानीय तहको आवधिक आयोजना निर्माण, कोशी प्रदेश समन्वय परिषद्लाई पूर्णता दिइएको बताउनुभयो। यसैगरी सय दिनमा प्रदेश सभाबाट दुई विधेयक पारित, चार विधेयक पेस गर्न स्वीकृति र चारवटा नियमावली स्वीकृत भएका छन्। 

प्रदेशमा किसानका लागि ४०७ मेट्रिक टन प्राङ्गारिक मल उपलब्ध, दूध उत्पादक १६ हजार ९५ किसानलाई प्रतिलिटर अनुदान, उन्नत बाख्रा वितरणजस्ता उपलब्धि सार्वजनिक गरिएको छ। यसैगरी जनयुद्ध, जनआन्दोलन, मधेश तथा आदिवासी जनजाति आन्दोलनमा मृत्यु भएका एक हजार ४५० जनाका घरपरिवारलाई एक लाख रुपियाँ राहत वितरण गरिएको छ। यसबीचमा आठ लाख ३० हजार ६१० जनालाई कोरोनाविरुद्धको बुस्टर डोज लगाइएको छ भने सय दिनको अवधिमा ११६ किलोटिमर सडक कालोपत्रे, ती वटा झोलुङ्गे पुल र १५ वटा पुल निर्माण सम्पन्न भएको जानकारी गराइयो।