• १३ असोज २०८१, आइतबार

धमिलो खानेपानीबाट मुक्ति

blog

गाईघाट समाचारदाता

गाईघाट, वैशाख ६ गते । सदरमुकाम नजिकै भएर पनि खोलाको धमिलो पानी खाएर जीवन गुजारा गर्दै आएका उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ८ र १६ का उपभोक्ताले अब भने त्यसबाट छुटकारा पाएका छन्। कोशी प्रदेश सरकारको सहयोगमा निर्माणाधीन शाहीखोला खानेपानी योजना शनिबारदेखि सञ्चालन भएसँगै स्थानीय बासिन्दाले शुद्ध, स्वच्छ र सफा खानेपानी पाएका हुन्।

वर्षौंदेखिको  खानेपानीसम्बन्धी समस्या झेल्दै आएका स्थानीय उपभोक्ताका लागि गाउँमै स्वच्छ खानेपानीको योजना निर्माण भएपछि त्रियुगा नपा वडा नं. ८ र १६ का स्थानीय उपभोक्ताका लागि स्वच्छ खानेपानीको प्रबन्ध भएको हो। पानीको धारा सञ्चालन भएकोमा खुसी हुँदै स्थानीय उपभोक्ता कमलबहादुर राउतले भन्नुभयो, “अब शाहीखोला गाउँका स्थानीय बासिन्दाले खोलाको धमिलो पानी खान नपर्ने भएको छ।”

कोशी प्रदेश सरकारको ८० लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको सो खानेपानी योजनाबाट उक्त वडाका नौ सय घरधुरीका करिब पाँच हजार उपभोक्तालाई स्वच्छ खानेपानीको सुविधा पुग्ने शाहीखोला सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ। स्थानीय आपसोता खोलामा भूमिगत पानी विद्युत्को माध्यमबाट १७ सय मिटर टाढा रहेको रिजर्भ ट्याङ्कीमा जम्मा गरी शनिबारदेखि उपभोक्तालाई वितरण गर्न सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष मदनराज कटुवालले बताउनुभयो। 

सो खानेपानी योजनाको शनिबार उद्घाटन गर्दै कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले स्थानीय र प्रदेश सरकारले एकआपसमा सहकार्य गरेर योजना सञ्चालन गरी स्थानीय बासिन्दाको समस्या समाधान गर्नुपर्ने बताउनुभयो। पानी जीवनसँग जोडिएका कारण निर्माण गरिएका ट्याङ्की र धाराको संरक्षण र सरसफाइमा सबैले ध्यान दिन उहाँले आग्रह गर्नुभयो।

त्रियुगा नपाका प्रमुख वसन्तकुमार बस्नेतले त्रियुगा नपामा सञ्चालित २४ वटा खानेपानीका योजना यसै वर्ष सम्पन्न गरेर उपभोक्तालाई खानेपानीको समस्या अन्त्य गर्ने बताउनुभयो। खानेपानीको विषयमा कसैले पनि राजनीति गर्न नहुने उहाँले बताउनुभयो।