• १३ साउन २०८१, आइतबार

मालवाहक सवारीको तौल अब जोखिने

blog

केशवराज पौडेल/केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, वैशाख ६ गते । सडक संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको अगुवाइमा मालवाहक सवारीको भारवहन क्षमता जाँचिने भएको छ। जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रयासमा व्यवसायी भने बाधक बनेका छन्। 

काठमाडौँ उपत्यकामा भित्रिने निर्माण सामग्रीको ठूलो हिस्सा ढुवानी गर्ने काभ्रेपलाञ्चोक जिल्लामा टिप्परको अत्यधिक भारवहनका कारण अरनिको, बीपी राजमार्ग तथा हेलम्बु र बनेपा–पनौती सडकखण्ड जीर्ण भएपछि प्रशासनले वैशाख ७ (बिहीबार)देखि मालवाहक सवारीसाधनको भारवहन क्षमता जाँच्ने निर्णय गरेको हो।

जिल्लाबाट बाहिर जाने मालवाहक सवारीसाधनले पाँचखाल, पनौती र भकुण्डेबेँसीमा रहेका तौलपुलमा भारको तौल गरी लोड सिट लिनुपर्ने निर्णय गरिएको छ। सोमबार प्रशासन, प्रहरी, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि सम्मिलित बैठकले वैशाख ७ गते बिहान १० बजेदेखि मालवाहक सवारीले भारवहन जाँच अनिवार्य गर्नुपर्ने निर्णय गरेको हो। जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले भन्नुभयो, “जनताको गुनासो र स्थलगत अनुगमनपछि टिप्परको भार जाँच्नुपर्ने अनिवार्य देखिएकाले यो निर्णय गरेका हौँ।” 

प्रशासनको निर्णयपछि मङ्गलबार सात सय टिप्पर सदस्य रहेको (बागमती टिप्पर व्यवसायी सङ्घ)को आकस्मिक बैठकले भारवहन क्षमता जाँच्न नदिने निर्णय गरेको छ। सङ्घका अध्यक्ष सुरेश खत्रीले टिप्परको स्वीकृति घनमिटरमा आधारित भएकाले प्रशासनको निर्णय मान्न बाध्य नहुने जिकिर गर्नुभयो तर प्रशासनले भने सवारीसाधनको निश्चित भारवहन क्षमता हुने भएकाले टिप्परको भारवहन अनिवार्य नापिने जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले वैशाख ७ देखि मालवाहक सवारीसाधनले अनिवार्य रूपमा भारवहन क्षमता जाँच गराएर लोड सिट लिनुपर्ने निर्णय गरेको जानकारी दिनुभयो। 

गृह मन्त्रालयले मालवाहक सवारीसाधनको भारवहन नियमन निर्देशिका २०७४ अनुसार मालवाहक सवारीसाधनको भारवहन क्षमता तौलपुलमा जाँच गर्न निर्देशन दिएपछि प्रशासन कार्यालयले मालवाहक सवारीसाधनलाई तौलपुलमा भारवहन जाँच गर्नुपर्ने नियम लागू गरेको उहाँले स्पष्ट पार्नुभयो। 

राजमार्गमा गुड्ने मालवाहक सवारीसाधनले तोकेभन्दा बढी भार बोकेका कारण सवारी दुर्घटना हुने सम्भावना बढेको तथा सडकको अवस्था नाजुक भएको प्रशासनको निष्कर्ष छ। सहायक प्रजिअ पोखरेलले सबैको प्रयासबाट सडक सुरक्षा कायम गराउनुपर्ने भएकाले व्यवसायीले प्रशासनको निर्णयलाई स्वीकार गर्ने आपूmहरूले विश्वास लिएको बताउनुभयो। 

प्रशासनले भारवहन जाँच्ने निर्णय गरेसँगै नागरिक समाजबाट भने यसको स्वागत गरिएको छ। टिप्परका कारण सडक अस्तव्यस्त भएकाले यो निर्णयले सडक सुरक्षालाई विशेष ध्यानमा राखेको आफूहरूले अनुभूति गरेको नागरिक समाजका अगुवा विलाश थापाले बताउनुभयो। भारवहन क्षमता मात्रै नभएर प्रशासनले द्रुत गति र प्रेसर हर्नमा पनि ध्यान दिनुपर्ने बनेपाका स्थानीय युवराज न्यौपानेले बताउनुभयो। “प्रशासनको यो निर्णय स्वागतयोग्य छ, कार्यान्वयन भयो भने जनताले पक्कै राहत पाउनेछन्,” न्यौपानेले भन्नुभयो। 

कार्यान्वयन चुनौतीपूर्ण 

प्रशासन कार्यालयले मालवाहक सवारीसाधनले तौलपुलमा अनिवार्य रूपमा भारवहन जाँच गर्नुपर्ने नियम बनाए पनि यो नियम लागू गराउन भने चुनौतीपूर्ण देखिएको छ। अरनिको, बीपी राजमार्ग र बनेपा–पनौती सडकखण्डमा मालवाहक सवारीसाधनका रूपमा अधिकांश टिप्पर रातको समयमा गुड्ने भएकाले तौलपुलमा भारवहन जाँच गर्दा सवारी जाम हुने अवस्था देखापर्न सक्छ। 

जिल्लाका तीनवटै स्थानमा खडा गरिएका तौलपुल सडकनजिक रहेको र पर्याप्त खाली ठाउँ नभएका कारण तौलपुलमा जाँच गर्दा सवारी जाम भने हुने दाबी व्यवसायीले गर्दै आएका छन्। यता तौलपुल सञ्चालक भने यो समस्या नहुने जिकिर गर्छन्। 

रातभर निर्माण सामग्री बोक्ने टिप्पर सञ्चालन हुने भएकाले तौलपुलमा खटिने ट्राफिक प्रहरीलाई समेत कठिनाइ हुने देखिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुरेश थापाले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा मालवाहक सवारीसाधनको भारवहन क्षमता जाँच्न सकिने बताउनुहुन्छ। 

बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२, भकुण्डेबेँसीमा अरनिको राजमार्गस्थित पाँचखाल नगरपालिका–५, केराघारी र बनेपा–पनौती सडकखण्डअन्तर्गत पनौती नगरपालिका–५, खड्पुमा तौलपुल स्थापना गरिएको छ।