• ७ जेठ २०८१, सोमबार

एसीसी प्रिमियर कप : नेपालको विजयी सुरुवात

blog

मलेसियालाई हराएपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, वैशाख ५ गते । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो ।

जितका लागि मलेसियाले दिएको दुई सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले ३ं६.२ ओभरमा चार विकेटको क्षतिमा दुई सय ३७ रन जोड्दै लक्ष्य पूरा गरेको हो । 

नेपालका लागि भीम सार्की र कुशल मल्लले अर्धसतकीय रन बनाउनुभयो । भिमले ७१ रन  बनाउनुभयो । उहाँले ९८ बलमा पाँच चौकाको सहयोगमा उक्त रन जोड्नुभएको हो । 

कुशल मल्लले अविजित ७० रन बनाउनुभयो । उहाँले ४० बलमा पाँच चौका, पाँच छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । कप्तान रोहित पौडेलले ४२ र ओपनर कुशल भुर्तेलले ३८ रन बनाउनुभयो । 

बलिङमा मलेसियाका मुहमद वाफिक, रिजवान हैदर, भिरनदिप सिंह र विजय युनाईले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३५ रन बनाएको थियो । 

मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाउनुभयो । उहाँले ९५ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

भिरनदिप सिंहले ४६, कहिजर हायातले २२, सायजरुल इदरुसले २१, मुहमद अमिरले १७, मुहमद सहादतले १५, सयद अजिजले १३ र विजय उनईले १२ रन जोड्नुभयो । 

बलिङमा नेपालका सोमपाल कामी र सदीप लामिछानेले तीन तीन विकेट लिनुभयो । ललित राजवंशीले दुई तथा गुलशन झाले एक विकेट लिनुभयो । यससँगै मलेसियाविरुद्ध नेपालले आफ्नो अपराजित यात्रा कायम राखेको छ । यसअघि भएका पाँच भिडन्तमा पनि सबै नतिजा नेपालको पक्षमा रहेको थियो । 

एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।

यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

मूलपानी मैदानमा भएको  ‘बी’ को अर्को खेलमा हङकङले सिंगापुरलाई आठ विकेटले पराजित गरेको छ । हङकङको जितमा बाबर हायतले अविजित एक साय आठ रन जोड्नुभएको थियो । 

प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । 

नेपालले दोस्रो खेल वैशाख ८ ओमानसँग खेल्नेछ । उक्त खेललाई एकदिवसीय मान्यतासमेत रहने छ । नेपालले समूहको तेस्रो खेल वैशाख ११ गते साउदी अरब र चौथो खेल वैशाख १४ गते कतारसँग खेल्नेछ । सेमिफाइनल  वैशाख १६  र फाइनल खेल १८ गते कीर्तिपुरमा हुनेछ । 

मलेसियाविरुद्ध नेपाल-११ 

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।