काठमाडौँ, फागुन २६ गते । काठमाडौँ उपत्यकामा ससाना, पार्क, उद्यान, हरियाली प्रवर्धन र सार्वजनिक खुला स्थानको संरक्षणले उपत्यकामा सहरी सौन्दर्य वृद्वि हुँदै गएको छ । विगत केही वर्षअगाडिसम्म उपत्यकाका सडकपेटीमा हुने फोहोर, धुलो र अव्यवस्थित सामानले सहरी सौन्दर्यता कुुरूप भए पनि अहिले भने हरियाली प्रवर्धन र पार्क निर्माणले काठमाडौँ उपत्यकाको प्राकृतिक सौन्दर्यता वृद्वि हुँदै गएको हो ।
बढ्दो सहरीकरण, जनघनत्व र ट्राफिक चापसँगै खुला तथा शान्त स्थानको अभाव देखिएपछि उपत्यकाका स्थानीय तहले पार्क निर्माण, विश्राम स्थल र हरियाली क्षेत्र विस्तारमा तीव्रता दिएका हुन् । उपत्यकाका अधिकांश स्थानीय तहले सडकछेउ वृक्षरोपण, नदी किनार हरियाली विकास र पुराना खुला स्थान पुनस्र्थापना गरी सहरी सौन्दर्यता कायम गर्ने अभियान नै चलाएका छन् ।
सिंहदबारको आसपाका क्षेत्र, जवालाखेल, पुल्चोक, गोदावरी, धापाखेल, स्वयम्भू, टोखा, धापासी, बुढानीलकण्ठ, चाबहिल, जोरपाटी, चक्रपथ, कोटेश्वर, सूर्यविनायकलगायतका क्षेत्रमा पार्क निर्माण र हरियाली प्रवर्धनले उपत्यकावासीलाई आनन्दित तुल्याएको छ । उक्त पार्क र हरियाली प्रवर्धन भएका क्षेत्रमा सर्वसाधारणले पारिवारिक भेटघाट, साँझ बिहानको समयमा व्यायाम, योगा, ध्यान, बालबालिकाको खेलकुदका लागि उक्त स्थानको सदुपयोग हुँदै आएका छन् ।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले नगरपालिकाको प्रत्येक वडामा पार्क निर्माण गर्ने अभियान नै चलाएको भन्दै यसले सहरी सौन्दर्यता कायम भएको बताउनुभयो । स्थानीय तहको निर्वाचनअगाडि यस क्षेत्रमा कुनै पार्क, हरियाली प्रवर्धन नभएको स्मरण गर्दै उहाँले भन्नुुभयो, “स्थानीय तहका जनप्रतिनिधिको पहलमा अहिले उपत्यकाका प्रत्येक चोक, सार्वजनकि स्थलमा पार्क तथा हरियाली प्रवर्धन भएको छ । ती पार्कमा शारीरिक तथा मानसिक विश्रामको केन्द्र बन्दै गएका छन् ।”
अहिले उपत्यकामा खुला ठाउँ बढ्दै गएका छन् भने धुलो, धुवाँ र भिडभाड कम हुँदै गएको छ । २०७४ सालमा स्थानीय तहमा जनप्रतिनिधि आएपछि उपत्यकाको सहरी सौन्दर्यता कायम गर्न आवधिक र वार्षिक योजना निर्माण गरी कार्यान्वयन गरेसँगै उपत्यकामा हरियाली प्रवर्धन र पार्क निर्माण तीव्र बनेको हो ।
ललितपुर महानगरपालिकाले मात्र यस अवधिमा साना तथा ठुला गरी ४६ वटा पार्क निर्माण गरिसकेको छ । खाली रहेको र अव्यस्थित भएका स्थान पहिचान हुनेबित्तिकै त्यहाँ वृक्षरोपण गर्ने र फूल रोप्ने र दायाँबायाँ घेरेर पार्क निर्माण गर्ने कार्य महानगरपालिकाले गर्दै आएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाका साथै अहिले काठमाडौँ उपत्यकामा नै हरियाली प्रवर्धन, पार्क निर्माण पुरातात्विक सम्पदाको संरक्षण गर्ने अभियान चलाई सहरी सौन्दर्यता कायम गरिएको बताउनुभयो ।
सार्वजनिक जग्गा संरक्षण गरी पार्क
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुुदेव थापाले नगरपालिका क्षेत्रमा सार्वजनिक जग्गा संरक्षण गरी पार्क निर्माण हुँदा नगरपालिकाको सहरी सौदर्यता वृद्वि भएको बताउनुभयो । सार्वजनिक जग्गा संरक्षण गरिएका स्थानमा खुला क्षेत्र राखिएको, पार्क निर्माण, खेलमैदान, हरित क्षेत्र विस्तार, पाटी, सत्तल निर्माण गरिएको छ । “विगत साढे आठ वर्षको अवधिमा नगरपालिकाको मुहार नै फेरिने गरी पार्क निर्माण र हरियाली प्रवर्धन भएका छन् । खाली रहेका स्थानमा फिजिकल फिटनेस निर्माण गरिएका छन्, उक्त क्षेत्रमा निःशुल्क रूपमा जोकोहीले पनि व्यायाम गर्न सक्छन्,” उहाँले भन्नुभयो ।
टोखा नगरपालिकाले पनि एक वडा एक पार्क निर्माण कार्यलाई अभियान नै चलाएर सहरी सौन्दर्यतालाई विस्तार गरेको छ । नगरपालिका प्रमुख प्रकाश अधिकारीले भन्नुभयो, “नगरपालिकाका ११ वटै वडामा पार्क निर्माण भएका छन् । पार्क निर्माणले शारीरिक र मानसिक विश्रामको केन्द्र बनेको छ ।” टोखा क्षेत्र अन्तर्गत पर्ने झोरमहाङ्काल, टोखा चण्डेश्वरी, धापासी र गोङ्गबुलगायतका क्षेत्रमा पार्क निर्माण गरिएका छन् । काठमाडौँ उपत्यकामा दुई महानगरपालिकासहित १८ वटा नगरपालिका छन् । सबै नगरपालिकाले आआफ्नो भौगोलिक क्षेत्रमा हरियाली प्रवर्धन र पार्क निर्माण गरेसँगै उपत्यकामा सहरी सौन्दर्यता विस्तार भएको हो ।