गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २६ गते । इरानमा मोजतबा खामेनी नयाँ सर्वोच्च नेता चयन हुनुभएको छ । ५६ वर्षीय उहाँ अमेरिका र इजरायली सैन्य कारबाहीमा हालै मारिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका छोरा हुनुहुन्छ । देशको विशेषज्ञ सभाले नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेका नयाँ सर्वोच्च नेता मोजतवालाई त्यहाँको रिभोलुसनरी गाड्र्सले तत्काल बफादारी व्यक्त गरेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।
न्यायपालिकाका प्रमुख घोलामहोसेन मोहसेनी एजेईले उक्त निर्णयलाई ‘आनन्द र आशाको स्रोत’ बताउनुभयो भने वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानीले यसलाई पूर्ण रूपमा कानुनी प्रक्रिया अनुसार भएको बताउनुभयो । इजरायली सेनाले यसअघि ‘कुनै पनि उत्तराधिकारीलाई लक्षित गर्न सक्ने चेतावनी दिइसकेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ नेताले अमेरिकाबाट स्वीकृति नपाए लामो समय टिक्न नसक्ने बताउनुभएको छ । अमेरिका र इजरायल दुवैले नयाँ नेता मोजतबालाई अस्वीकार गर्ने भएका छन् ।
इजरायलमा क्षेप्यास्त्र प्रहार
नयाँ सर्वोच्च नेताको घोषणालगत्तै इरानले इजरायलतर्फ पहिलो क्षेप्यास्त्र प्रहार गरेको सरकारी प्रसारण संस्था आइआरआइबीले जनाएको छ । उक्त आक्रमणमा इजरायलमा एक महिला घाइते भएको चिकित्सकले बताएका छन् । त्यसको जवाफमा इजरायली सेनाले मध्यइरानका ‘शासनसम्बन्धी पूर्वाधार’ लक्षित गर्दै नयाँ आक्रमण सुरु गरेको जानकारी दिएको छ । अमेरिका–इजरायल र इरानबिच १० दिनदेखि जारी युद्ध झन् व्यापक बन्दै जाँदा मध्यपूर्वका विभिन्न देशमा आक्रमण, प्रतिआक्रमण, कूटनीतिक पहल र आर्थिक प्रभाव एकसाथ देखिएका छन् । युद्धको प्रभाव खाडी क्षेत्रदेखि एसियाली बजारसम्म फैलिँदै गएको छ ।
राष्ट्रपति ट्रम्पले युद्ध कहिले अन्त्य गर्ने भन्ने विषय इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँगको आपसी समझदारीबाट तय हुने बताउनुभएको छ । उहाँले अन्तिम निर्णय भने वासिङ्टनले गर्ने स्पष्ट पार्नुभयो । युद्ध अन्त्यको समयबारे सोध्दा उहाँले आफूले उचित समयमा निर्णय गर्ने बताउँदै त्यसअघि सबै पक्षलाई ध्यानमा राखिने उल्लेख गर्नुभयो । अमेरिकी र इजरायली अधिकारीले आक्रमणको मुख्य उद्देश्य इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुका साथै त्यहाँको सत्ता परिवर्तन रहेको बताएका छन् ।
सित्रा टापुमा रातभर आक्रमण
यता बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार सित्रा टापुमा रातभर भएको इरानी ड्रोन आक्रमणमा ३२ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये बच्चासहित चार जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ । यसै क्रममा कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कुवेतले पनि नयाँ आक्रमणको विवरण सार्वजनिक गरेका छन् । कतारको राजधानी दोहामा विस्फोटका आवाज सुनिएको एएफपीका पत्रकारहरूले बताएका छन् । कतारको रक्षा मन्त्रालयले आफ्नो वायु प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र आक्रमण रोकेको जनाएको छ । साउदी अरबका नागरिक सुरक्षा अधिकारीका अनुसार त्यहाँ दुई जनाको मृत्यु भएको र १२ जना घाइते भएका छन् । लेबनानमा पनि तनाव चर्किएको छ । इरान समर्थित लडाकु समूह हेजबुल्लाहले सिरियाबाट हेलिकोप्टरमार्फत आएका इजरायली सेनासँग पूर्वी लेबनानमा झडप भइरहेको जनाएको छ ।
साउदी अरब छाड्न आदेश
यसैबिच सुरक्षा जोखिम बढेपछि अमेरिकी विदेश मन्त्रालयले गैरआपत्कालीन अमेरिकी सरकारी कर्मचारी तथा उनीहरूका परिवारलाई साउदी अरेबिया छाड्न आदेश दिएको छ । युद्धको असर विश्व अर्थतन्त्रमा पनि देखिएको छ । आपूर्ति अवरुद्ध हुने डरका कारण कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य डब्लुटिआई र ब्रेन्ट दुवै प्रतिब्यारेल एक सय डलरभन्दा माथि पुगेका छन् । युद्ध सुरु भएयता डब्लुटिआई करिब ७५ प्रतिशत र ब्रेन्ट ६० प्रतिशतभन्दा बढी बढेको छ । तेलको मूल्य वृद्धि भएपछि दक्षिण कोरिया र जापानका सेयर बजारमा प्रारम्भिक कारोबारमै तीव्र गिरावट आएको छ । ट्रम्पले भने तेलको मूल्यवृद्धि इरानको आणविक खतरा हटाउन तिर्नुपर्ने सानो मूल्य भएको टिप्पणी गर्नुभयो ।
अमेरिकी सेनाले युद्ध सुरु भएदेखि सातौँ सैनिकको मृत्यु भएको पनि जनाएको छ । प्रारम्भिक इरानी जवाफी आक्रमणका क्रममा साउदी अरेबियामा भएको हमलामा एक सैनिक मारिएका हुन् । कुवेतस्थित आधारमा भएको ड्रोन आक्रमणमा अन्य छ जनाको मृत्यु भएको सेनाले जनाएको छ ।
फ्रान्सको कूटनीतिक पहल
कूटनीतिक स्तरमा भने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग टेलिफोन वार्ता गर्नुभएको छ । उहाँले खाडी क्षेत्रका अन्य देशमा आक्रमण रोक्न आग्रह गर्नुभएको छ । युद्ध सुरु भएयता पेजेस्कियानसँग कुनै पश्चिमी नेताले गरेको यो पहिलो सार्वजनिक सम्पर्क हो ।
आक्रमणमा फस्फोरस प्रयोग
यसैबिच मानव अधिकार संस्था ह्युमन राइट्स वाचले गत साता दक्षिणी लेबनानको योहमोर सहरका आवासीय क्षेत्रमा इजरायलमाथि सेतो फस्फोरस गैरकानुनी रूपमा प्रयोग गरेको आरोप लगाएको छ । अक्सिजनसँग सम्पर्कमा आउँदा तुरुन्त प्रज्वलित हुने यो पदार्थ आगो लगाउने हतियारका रूपमा प्रयोग हुन सक्छ र यसले गम्भीर जलन, श्वासप्रश्वासमा क्षति, अङ्ग विफलता र मृत्युसमेत निम्त्याउन सक्ने बताइएको छ ।