• १३ साउन २०८१, आइतबार

सबै भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री चौधरी

blog

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरी ।

काठमाडौं, वैशाख ५ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरूलाई आफ्नै पालामा लालपुर्जा वितरण गर्ने दाबी गर्नु भएको छ । मङ्गलबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले आफ्नै पालामा सबै भूमिहीनहरूलाई लालपुर्जा दिने लक्ष्य आफूले दिएको बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका नेवारहरू पनि भूमिहीन रहेको विगतमा राज्यले नदेखेको भन्दै अव आफूले उनीहरूलाई पनि लालपुर्जा प्रदान गर्ने आश्वासन दिनुभयो । उहाँले सहकारीबाट सर्वसाधारणलाई ठगिन नदिनका लागि र त्यसलाई जनताप्रति उत्तरदायी बनाउनका लागि तत्काल विज्ञहरू सम्मिलित कार्यदल बनाएर काम गर्ने घोषणा पनि गर्नुभयो ।

‘‘मेरो पालामा भूमिहीनहरूलाई लालपुर्जा दिने मेरो लक्ष्य रहेको छ । गुठीका पनि समस्याहरू छन् । काठमाडौं, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेको छु । उपत्यकाका मूलवासी लाखौँ नेवारहरू लालपुर्जा विहीन छन् । पुर्खाकै पालादेखि बसोबास गर्दै आएकाहरूले लालपुर्जा पाउनै पर्दछ ।,’’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘काठमाडौंको नेवारलाई किन भूमिहीन देखेन राज्यले ? प्रश्न भने गम्भीर छ । त्यसैले उपत्यका नेवारहरूलाई सो भूमिको लालपुर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ । सहकारीबाट जनता ठगीको गुनासो छ । कसरी सहकारीलाई जनताप्रति उत्तरदायी बनाउने विस्तृत अध्ययनका लागि विज्ञहरू सम्मिलित एउटा कार्य दल तुरुन्त बनाउनेछु ।’’

मन्त्री श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।