• ८ मंसिर २०८१, शनिबार

सन्ताेषजनक प्रगति नभएका आयोजनाहरू

महालेखा परीक्षक प्रतिवेदन : आठ राष्ट्रिय गौरवका आयोजनाको प्रगति न्यून

blog

विष्णु पाण्डेय

काठमाडौँ, बैशाख ५ गते । सरकारले उच्च प्राथमिकता दिएर सञ्चालन गरेका राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक नभएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनले जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनका अनुसार आठ आयोजनाहरूको काम सन्तोषजनक छैन । महालेखा परीक्षकको कार्यालयले २०७८/७९ मा गरेको लेखापरीक्षणको क्रममा यो अवस्था देखिएको हो  । 

आवधिक योजनाले राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखी स्रोत सुनिश्चितता गर्ने, कार्यान्वयनको सघन अनुगमन गर्ने उल्लेख गरे पनि उक्त आयोजनाहरूको प्रगति अवस्था सन्तोषजनक नदेखिएका प्रतिवेदनमा छ । 

माथिल्लो तामाकोशी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भए पनि माथिल्लो तामाकोशी बाहेक अन्य आयोजना पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । 

विस्तृत आयोजना तयार नगरी निर्माण कार्य सुरु गर्नु, आयोजना कार्यान्वयन मोडालिटी स्पष्ट नहुनु, जग्गा प्राप्ति र क्षतिपूर्ति विवाद हुनु, युटिलिटी सर्भिस स्थानान्तरण अन्तर निकाय समन्वय नहुनु, सीमाङ्कन रेखाङ्कन विवाद, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत, निर्माण क्षमताको अभाव, कमजोर अनुगमन मूल्याङ्कनलगायत समस्याले गर्दा आयोजना निर्माणको समय र लागत दुवै वृद्धि भएको प्रतिवेदनमा छ ।  

कमजोर प्रगति रहेका आठ आयोजनाहरु 

पश्चिम सेती जलविद्युत आयोजना 

महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणका अनुसार यस आयोजनाको भौतिक प्रगति शून्य प्रतिशत छ । २०६७/६८ मा प्रारम्भ भएको यस आयोजनाको सम्पन्न मिति खुलेको छैन । 

यस आयोेजनाको अध्ययन मात्र सम्पन्न भएको र निर्माण कम्पनीको आलटालका कारण यस आयोजनाको काम अघि बढ्न सकेको छैन। यस आयोजनाका लागि २ खर्ब ७३ अर्ब ८५ करोड रूपियाँ लागत अनुमान तोकिएकाे छ । 

हालसम्म यस आयोजनामा कत्ति पनि खर्च भएको छैन । 

निजगढ विमानस्थल आयोजना 

राष्ट्रिय गौरवका आयोजनामध्येको अर्को महत्वपूर्ण आयेजना हो निगगढ विमानस्थल आयोजना । यस आयोजनालाई पनि सरकारले उच्च प्राथमिकतामा राखेर राष्ट्रिय गौरवको आयोजना अन्तर्गत राखेको थियो । 

आर्थिक बर्ष २०७१/७२ मा निर्माण प्रारम्भ भएको यस आयोजनाको सम्पन्न मिती २०८५/८६ तोकिएको छ । यस आयोजनाको लागि १ खर्ब ६५ अर्ब लागत अनुमान रहेको छ । हालसम्म यस आयोजनामा ९९ करोड खर्च भएके छ । तर, भौतिक भने नखुलेको जनाइएको छ ।

राष्ट्रपति चुरे संरक्षण आयोजना 

राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको यस आयोजनाको ४.९९ प्रतिशत भौतिक प्रगति भएको छ । 

आर्थिक वर्ष २०६६/६७ मा प्रारम्भ भएको यस आयोजना २०९३/९४ मा सक्ने लक्ष्य रहेको छ । 

कुल २ खर्ब ४९ अर्ब ७० करोड लागत अनुमान रहेको यस आयोजनाको २०७८/७९ सम्म १२ अर्ब ८ करोड खर्च भएको छ । आर्थिक वर्ष २०७८/७९ मा मात्र यस आयोजनामा १ अर्ब २६ करोड खर्च भएको छ । 

विद्युत प्रशारण आयोजना 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यस आयोजनाको भौतिक प्रगति ५.०१ प्रतिशत छ । 

आर्थिक वर्ष २०६७/६८ मा प्रारम्भ भएको यस आयोजनाको सम्पन्न मिति खुलाइएको छैन । 

कुल ७५ अर्ब लागत अनुमान रहेको यस आयोजनाको अर्थिक वर्ष २०७८/७९ सम्म ३ अर्ब ७ करोड खर्च भएको छ । जुन आर्थिक वर्ष २०७८/७९ मा मात्र भएको हो । 

सुनकोशी मरिन डाइभर्सन आयोजना 

महालेखा परीक्षक कार्यालयको प्रतिवृदनका अनुसार यस आयोजनाको भौतिक प्रगति ७ प्रतिशत मात्र भएको छ । 

आर्थिक वर्ष २०७३/७४ बाट सुरु भएको यस आयोजना आगामी आर्थिक वर्षमा सक्ने लक्ष्य रहेको छ । तर हाल यसको भौतिक प्रगति ज्यादै कमजोर रहेका कारण यस आयोजना निर्धारित समयमा सकिने आधार छैैैैैैैैैैैन ।  

कुल ५४ अर्व ७६ करोड लागत अनुमान रहेको यस आयोजनाको आर्थिक वर्ष २०७८/७९ सम्म ३ अर्ब ४९ करोड मात्र खर्च भएको छ भने २०७८/७९ मा मात्र २ अर्ब १ करोड खर्च भएको छ । 

काठमाडौं तराई मधेश द्रुतमार्ग 

राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको यस आयोजनाको भौतिक प्रगति २१.१८ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०६४/६५ मा सुरु भएको यस आयोजनाको २०७८/७९ मा आइपुग्दा भौतिक प्रगति २१.१८ प्रतिशत मात्र रहेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । 

कुल २ खर्ब १३ लाख ९५ हजार लागत अनुमान रहेको यस आयोजनाको आर्थिक वर्ष २०७८/७९ सम्म ३४ अर्ब २९ करोड खर्च भएको छ । आर्थिक वर्ष २०७८/७९मा मात्र यस आयोजनामा ५ अर्ब २२ करोड खर्च भएको छ । 

यस आयोजनाको कामको प्रगति धिमा गतिमा भएका कारण निर्धारित मितीमै सम्पन्न हने देखिँदैन । 

बुढीगण्डकी जलविद्युत आयोजना 

महालेखा परीक्षक कार्यालयको प्रतिवेदनका अनुसार यस आयोजनाको भौतिक प्रगति २२ प्रतिशत मात्र भएको छ । 

२०६९/७० मा निर्माण सुरु भएको यस आयोजनाको सम्पन्न मिति २०८३/८४ तोकिएको छ । २०७८/७९ सम्म यस आयोजनाको प्रगति ज्यादै कम भएकले निर्धारित समयमा सम्पन्न हुनेमा शंका छ । कुल लागत २ खर्ब ६० अर्ब अनुमान गरिएको थियो । तर, हालसम्म यस आयोजनामा ४१ अर्ब ४८ करोड खर्च भएको छ । 

आर्थिक वर्ष २०७८/७९ मा मात्र यस आयोजनामा ६ अर्ब ५ करोड खर्च भएको छ । 

उत्तर दक्षिण कर्णाली करिडोर 

राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको उत्तर दक्षिण कर्णाली करिडोरको भौतिक प्रगति २६ प्रतिशत मात्र भएको छ । 

आर्थिक वर्ष २०६४/६५ मा सुरु भएको यस आयोजना चालू आर्थिक वर्षमा सक्ने लक्ष्य रहेको थियो । तर, अहिले  यसको भौतिक प्रगति २६ प्रतिशत मात्र रहेको छ  । 

११ अर्ब कुल लागत अनुमान रहेको यस आयोजनाको २०७८/७९ अन्तिम सम्म २ अर्ब ८४ करोड रुपियाँ मात्र खर्च भइको छ । यस आयोजनामा २०७८/७९ मा १ अर्ब ७१ करोड खर्च भएको छ ।