• १३ साउन २०८१, आइतबार

बागेश्वरी मोटरमार्ग बनेपछि डेढ घण्टाको बाटो आधा घण्टामा छोटियो

blog

बस सञ्चालन खुसीयाली मनाउँदै स्वागत गरिँदै ।

अमरराज नहर्की

तनहुँ, बैशाख ५ गते । भानुमार्ग र पृथ्वी राजमार्ग जोड्ने बागेश्वरी मोटरमार्ग बनेपछि स्थानीय बासिन्दालाई यात्रा अवधि छोटिएको मात्रै छैन धुलो खानुपर्ने र जाममा पर्नु पर्ने बाध्यता समेत हटेको छ । पृथ्वी राजमार्ग पर्ने व्यास नगरपालिका १२ घाँसीकुवादेखि भानु मार्गमा पर्ने भानु नगरपालिका– ७ चन्द्रावती जोड्ने यस मार्गमा मोटर गुड्न थालेपछि डेढ घण्टाको यात्रा अवधि ३० मिनेटमा छोटिएको हो ।

व्यास नगरपालिका–११ मूलपानी निवासी मोटर मार्गका अध्यक्ष विवेक भट्टराईले एक घण्टा भन्दा बढीको समय छोटिएको बताउनुभयो ।  भानु नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, १२ नम्बर वडाका नागरिकलाई आवतजावतमा सहज भएको छ पृथ्वीराजमार्ग विस्तारको कार्य भइरहेकाले डुम्रेबाट दमौलीसम्मको १८ किलो मिटर धुलाम्मे सडक र जाममा परेर यात्रा पार गर्नुपर्ने बाध्यता हटेको  मोटर मार्गका पूर्वअध्यक्ष हरिबहादुर खड्काले बताउनभयो । समस्याबाट मुक्ति पाएर सहज, सुरक्षित र छिटो यात्रा गर्न पाएको उहाँले बताउनुभयो ।

यस मोटरमार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि बस चालक किशोर गुरुङलाई स्थानीयले अबिर जात्रासहित भव्य स्वागत गरेका छन् । यहाँबाट  सवारीसाधन सञ्चालन हुँदा दमौली आउन घण्टौँ पैदल हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको भानु नगरपालिका ६ स्थित बागेश्वरी आमा समूहकी अध्यक्ष विन्दु वाग्लेले बताउनुभयो ।

मोटरमार्ग चलेपछि बिरामी हुँदा अस्पताल जान, खाद्यान्न ढुवानी तथा आवतजावतको लागि सहज भएको छ’ वाग्लेले भन्नुभयो ‘अब नियमित बस चल्ने भएपछि खुसीयालीमा अबिर जात्रासहित स्वागत गरेका हौँ’’ । चन्द्रावतीदेखि पड्केपसल, टुहुरे पसल, बरभञ्ज्याङ, मान्द्रे, ठुलोचौर र मूलपानीका सयौँ स्थानीय बाटोमा भेला भई बसलाई अबिर जात्रा सहित स्वागत गरेका थिए । यस मोटरमार्गमा पहिलो पटक बस सञ्चालन गरी पछि स्थानीयले आफूहरूलाई अबिर जात्रासहित स्वागत गर्दा हौसला मिलेको बसका चालक किशोर गुरुङले बताउनुभयो ।

करिब ३० वर्ष अघि खन्न सुरु गरेको उक्तमार्गमा नियमित बस सञ्चालन हुनुले स्थानीयलाई ठूलो राहतपुगेको उक्त मोटरमार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्काले बताउनुभयो । घाँसीकुवादेखि भानु नगरपालिका ६ पड्केपसलसम्म १४ किलोमिटर सम्मबागेश्वरी मोटरमार्ग पर्दछ । तर थप ९ किलोमिटर पक्की सडक खण्ड हुँदै बसलाई दैनिक चन्द्रावतीदेखि दमौली र दमौलीदेखि चन्द्रावतीसम्म गरिने बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिले जनाएको छ ।

उक्तमार्गमा बस सञ्चालन हुनुअघि चन्द्रावतीदेखि डुम्रे हुँदै दमौलीजानुपर्ने अवस्था थियो । चन्द्रावतीदेखि डुम्रे हुँदै दमौलीपुग्न ३४ किलोमिटर तय गर्नु पर्नेमा यस मार्गबाट २३ किलोमिटरमै दमौली पुगिन्छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिसँग समन्वय गरी बस सञ्चालन गरिएको मोटरमार्गका अध्यक्ष भट्टराईले बताउनुभयो ।

स्थानीय नेता गोविन्द भट्टराईको पहलमा मार्ग स्तरोन्नति गरिएपछि बस सञ्चालनमा सहज भएको उहाँले बताउनुभयो । यस मार्गमा दैनिक बस बिहान चन्द्रावतीबाट छुट्ने र मध्यान्ह ४ बजेतिर दमौलीबाट फर्किने व्यवस्था गरिएको उहाँले समितिले जनाएको छ ।