• १३ साउन २०८१, आइतबार

राजेन्द्र सुवेदीका समकालीन समालोचना

blog

राजेन्द्र सुवेदीका समकालीन समालोचना समालोचक प्रा.डा. राजेन्द्र सुवेदीको निधनपश्चात प्रकाशित समालोचना कृति हो । सुवेदीद्वारा पछिल्लो समय लेखिएका समालोचनाहरूको सङ्ग्रहका रूपमा रहेको यो कृति मूलतः विधाकेन्द्री र कृतिकेन्द्री समालोचनाहरूको सङ्कलन हो । यसमा रहेका समालोचनाहरूलाई  समालोचना खण्ड र भूमिका खण्ड गरी दुई खण्डमा विभाजन गरिएको छ । सुवेदीका महìवपूर्ण फुटकर समालोचनाहरूको अभिलेख रहोस् भन्ने उद्देश्यले प्रकाशित प्रस्तुत कृति प्रायोगिक समालोचनाको महìवपूर्ण कृति हो ।

यस समालोचना कृतिको पहिलो खण्डमा चौधवटा कृतिपरक र विधापरक प्रायोगिक समालोचना रहेका छन् । यसमध्ये ‘समूह कविता आजको मान्छेको कविता ः छोटो अध्ययन’, ‘अश्वमेध यज्ञका घोडाहरूमा रूपगत सौन्दर्यको परीक्षण’, ‘कवि कृष्णभूषण बलको भोलि बास्ने बिहान ः छोटो अध्ययन’ जस्ता शीर्षकका समालोचनाहरू कविताका कृतिहरूमा केन्द्रित समालोचना हुन् । यी समालोचनाहरूमा कविताका आन्तरिक तथा बाह्य सौन्दर्यका बारेमा विवेचना गरिएका छन् । यसैगरी ‘केही मनोविश्लेषणीय विन्दुहरू ः अनुराधा उपन्यासभित्रकै’, ‘राधा ः नवचेतनाका आधारमा प्रस्तुत भएको उपन्यास’, ‘सुभद्रा बज्यैको केन्द्रमा भवानी भिक्षुको लघुउपन्यासकारिता’, ‘कतिपय कोणबाट आज रमिता छ उपन्यासको अध्ययन’, ‘वैचारिक प्रतिबद्धताको सङ्कट घनचक्कर उपन्यास’, ‘छिनार कथाको वस्तु र संरचना’ र ‘लैनसिंह बाङ्देल र उनको माइतघर उपन्यास’ जस्ता समालोचनाहरू आख्यान विधाका कृतिमा केन्द्रित भएर लेखिएका समालोचनाहरू हुन् । यी समालोचनामा आख्यानका नयाँ कृतिहरूका साथै पुराना कृतिहरूको विश्लेषण गरिएका छन् । कृति नयाँ वा पुराना जे भए पनि समलोचकीय विश्वदृष्टि र विश्लेषण ढाँचा भने नयाँ प्रयोग गरिएको छ । मनोविज्ञान, नवचेतना, औपन्यासिक आयाम, औपन्यासिक वैचारिकता तथा कृतिको वस्तुपक्ष र कलापक्षमा आधारित यी समालोचना गहन र प्राज्ञिक किसिमका छन् ।

प्रस्तुत कृति पहिलो खण्डमा गजल, नाटक÷एकाङ्की र साहित्येतिहाससम्बन्धी महìवपूर्ण समालोचना पनि सङ्गृहीत छन् । यसमा ‘गजलको सिद्धान्त ः शास्त्रीय परिचय’, ‘एकाङ्की कलीभित्रका एकाङ्कीहरूमा भीमनिधि तिवारी’, ‘मञ्चनाटकदेखि पर्दानाटकसम्म ः नाटककार गौतम’ र ‘नेपाली साहित्यको इतिहास लेखनका त्रुटि र निराकरणका सम्भावना’ जस्ता समालोचना रहेका छन् । यसरी विभिन्न विधाका विभिन्न कृति र प्रवृत्तिहरूमाथि नयाँ कोणबाट विवेचना र विश्लेषण गरिएका यी समालोचनाहरू साहित्यका पाठकहरूका लागि पठनीय रहेका छन् ।

प्रस्तुत कृतिको दोस्रो खण्डलाई भूमिका खण्ड नाम दिइएको छ र यसमा विभिन्न दसवटा कृतिमा समालोचक सुवेदीद्वारा लेखिएका महìवपूर्ण भूमिकाहरू सङ्कलन गरिएका छन् । प्रायोगिक समालोचनाकै ढाँचामा यी समालोचनाहरू लेखिएको भए पनि भूमिका भनेर लेखिएका कृतिहरूबाट साभार गरिएको हुँदा यसलाई भूमिका खण्डअन्तर्गत राखिएको देखिन्छ । यसमा सम्पादकको सम्पादकीय इमान्दारी प्रस्ट झल्किन्छ । यस खण्डमा सूक्तिसिन्धु, मैत्री एक्सप्रेस, निर्बन्ध, भर्तृहरिनिर्वेद, सङ्गीत चन्द्रोदय, गान्धीको गाउँतिर, उषाचरित्र र मनोद्वेग प्रवाह, निदाउन नसकेका रातहरू र तासकन्दमा महाकवि देवकोटाजस्ता सम्पादन तथा लेखनका सृजनात्मक कृतिहरूमा केन्द्रित भएर लेखिएका भूमिकाहरू समावेश गरिएका छन् । नेपाली साहित्यको माध्यमिककालीन कृति सुक्तिसिन्धुको पुनः प्रकाशनका क्रममा लेखिएको भूमिकादेखि मोतीराम भट्ट, लेखनाथ पौड्याल हुँदै पछिल्लो समयका गजल, नियात्रा, कथासङ्ग्रह आदि कृतिमा लेखिएका भूमिकाहरू यहाँ समेटिएका छन् ।

नेपाली साहित्यका विभिन्न कालखण्डमा लेखिएका विभिन्न विधाका कृतिहरूलाई समकालीन नेपाली समालोचनमा प्रवेश गरेका नवीन सिद्धान्त र मान्यताका आधारमा विवेचना गरिएको छ । नेपाली समालोचनाका अथक साधक तथा वरिष्ठ समालोचक प्रा. राजेन्द्र सुवेदीका फुटकर समालोचनाहरूमध्ये महìवपूर्ण समालोचनाहरूलाई समेटेर तयार पारिएको प्रस्तुत कृति नेपाली साहित्यका अध्येता, अनुसन्धाता तथा पाठकहरूका लागि उपयोगी देखिन्छ । 

कृतिकार:  राजेन्द्र सुवेदी

सम्पादक: डा. दुबसु क्षेत्री

विधा:  समालोचना

प्रकाशक:  वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठान

प्रकाशन वर्ष:  २०७९

पृष्ठ : ३२०

मूल्य : रु. ६००।–

Author

ज्ञानु अधिकारी