गोरखापत्र समाचारदाता
ललितपुर, चैत ३० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विज्ञान प्रविधि क्षेत्रको विकासका लागि कानुन र बजेटको अभाव रहेको बताउनुभएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको संयुक्त पहलमा आयोजित ‘स्पेस कुन २०२३’ मा उहाँले भन्नुभयो, “यस क्षेत्रमा यथेष्ट बजेट राख्न अर्थ मन्त्रालयलाई बुझाउन हामीलाई पनि गाह्रो पर्ने गरेको छ । यस पटक हामी विज्ञान प्रविधिको विकासका लागि यथेष्ट बजेट राख्न पहल गर्छौं ।”
उहाँले भन्नुभयो, “जे कुरा पनि हामी आयात गर्छौं । स्याटलाइट पनि हामी अन्यन्त्रबाट ल्याइरहेका छौँ । आयात गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न विज्ञान प्रविधि र इलेक्ट्रोनिक क्षेत्रमा उत्पादन र विकास गर्दै अगाडि बढ्नुपर्छ ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलयका सचिव प्रमिलादेवी बज्राचार्यले युवा वैज्ञानिकलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विज्ञान प्रविधि ऐन छिट्टै ल्याउन लागेको बताउनुभयो । उहाँले युवा वैज्ञानिकलाई नवीन प्रविधि विकासमा लाग्न प्रेरित गर्दै आफूहरू नीति र बजेट निर्माण तथा व्यवस्थापनमा लाग्ने बताउनुभयो ।
नास्टका प्राज्ञ तथा प्राध्यापक डा. रमेशकुमार मास्केले युवा वैज्ञानिकहरूलाई नवीन प्रविधि विकास गरेर मुलुकलाई सहयोग गर्न आग्रह गर्नुभयो । “हामीले बाँझो जमिनलाई पनि उब्जनी योग्य बनाउने हो । नवीन कुरा खोज्न युवा वैज्ञानिक लाग्नु पर्छ,” उहाँले भन्नुभयो, “ताइवानले एउटा चिप्सले विश्वमा प्रभाव जमाइरहेको अवस्थामा हामी पनि इलेक्ट्रोनिक्स वस्तुको उत्पादन गरेर चीन र भारतलाई बेच्न सक्छौँ ।”
कार्यक्रममा अन्तरिक्ष क्षेत्रमा नेपाली वैज्ञानिकहरूले विकास गरेका स्याटेलाइट, अन्तरिक्ष प्रविधि, ट्राफिक अटोमेसन प्रणाली, थ्रीडी प्रिन्टरलगायतका प्रविधि प्रदर्शनी गरिएका छन् । कार्यक्रममा ‘स्पेस प्लानिङ एन्ड रिपोर्टिङ’ र ‘उमन फर स्पेस’ गरी दुईवटा समूह छलफलसमेत आयोजना गरिएको थियो ।