विनय कर्ण
कल्याणपुर (सप्तरी), असार १६ गते । केही दिन अगाडि सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले सप्तरीमा शिक्षाको परिणाम कमजोर देखाएको छ ।
हालै सार्वजनिक भएको नतिजामा सप्तरीबाट ३५ दश्मलव ३९ प्रतिशत विद्यार्थी मात्र माध्यमिक शिक्षा परीक्षाको ग्रेडिङमा पर्नुले यहाँको शिक्षा परिणाम कमजोर देखाएको हो ।
विसं. २०८१ चैतमा लिइएको एसइईमा परीक्षामा यस जिल्लाबाट ९२ सामुदायिक विद्यालय ५२ संस्थागत विद्यालय गरी एक सय ४४ विद्यालयका आठ हजार चार सय ४४ जना सहभागी भएका थिए । त्यसमध्ये दुई हजार आठ सय ६९ विद्यार्थी विभिन्न ग्रेड ल्याएर उत्तीर्ण भएका छन् भने पाँच हजार दुई सय ३८ जना विद्यार्थी कुनै पनि ग्रेड ल्याउन सकेनन् ।
ठुलो सङ्ख्यामा विद्यार्थी ननग्रेड (एनजी) मा परेको शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिनुभयो ।
सप्तरीबाट ३ दश्मलव ६० देखि ४ जिपिए २७४ जना, ३ दश्मलव २० देखि ३ दश्मलव ६० जिपिए ७६९ जना, २ दश्मलव ८० देखि ३ दश्मलव ८० जिपिए ११५७ जना,
२ दश्मलव ४० देखि २ दश्मलव ८० जिपिए ६४३ जना र २ देखि २ दश्मलव ४० देखि ४ जिपिए २६ जनाले प्राप्त गरेको उहाँले बताउनुभयो ।
समग्र देश र अन्य जिल्लाको एसइई नतिजालाई हेर्दा तुलनात्मक रूपमा सप्तरीको ग्रेडिङ प्रतिसत न्यून रहेको शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीका प्रमुख शशी यादवले जानकारी दिनुभयो ।
उहाँले शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने विद्यार्थी, अभिभावक, शिक्षक र सम्बन्धित निकायले यो नतिजाको विश्लेषण गरी शिक्षाको गुणस्तर अभिवृद्धि र परीक्षाको मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।
“मर्यादित परीक्षा भएकाले पनि ग्रेडिङमा पर्ने विद्यार्थीको गत वर्षभन्दा न्यून देखिएको हो, यस हिसाबले हेर्दा नतिजा सकारात्मक छ तर सन्तोषजनक छैन,’’ उहाँले भन्नुभयो ।
नेपाल शिक्षक सङ्घ मधेश प्रदेशका अध्यक्ष एवम् कन्छु नरप्रताप माध्यमिक विद्यालय नकटी रायपुरका प्रधानाध्यापक परशुराम यादवले सप्तरीको नतिजा सन्तोषजनक नहरेको बताउनुभयो । गत वर्ष कम विद्यार्थी ग्रेडिङमा परेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले कक्षा ८ मा हुने पालिका स्तरिय परीक्षाको नतिजालाई विश्लेषण गरी त्यसै अनुसारको निति लिएर गुणस्तरीय शिक्षाका लागि सरोकारवाला पक्षले काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।