जनार्जन खत्री
सर्लाही, साउन २१ गते । सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा टायरगाढामा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
खीला गाउँबाट वसन्तपुरतर्फ जाँदै गरेको टायरगाढामा विपरीत दिशाबाट आउँदै गरेको ज. ५ प. २२०८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक हरिपूर्वा नगरपालिका–९ कै २१ वर्षीय अशोक यादवको मृत्यु भएको हो ।
दुर्घटनाको विषयलाई लिएर स्थानीय वासिन्दाले बुधबार मध्यान्हदेखि बाँके–सङ्ग्रामपुर सडक खण्ड अन्तर्गत मिर्चैया चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले टायरगाढा सवारी साधन अन्तर्गत नपर्ने र त्यसका चालकसँग लाइसेन्स हुने व्यवस्था पनि नरहेकाले पक्राउ नगरिएको जानकारी दिनुभयो ।