• २१ साउन २०८२, बुधबार

इटालीले विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल बनाउँदै

blog

रोम, साउन २१ गते । इटाली सरकारले सिसिली टापुलाई मुख्य भूमिमा जोड्ने विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्न १३ अर्ब ५० करोड युरो (१५अर्ब ६० करोड डलर) परियोजनाका लागि बुधबार अन्तिम स्वीकृति दिनेछ ।

उपप्रधानमन्त्री एवं पूर्वाधारमन्त्री माटेओ साल्भिनीले दशकौँको योजनापछि ‘इतिहासको पृष्ठ’ चिह्न लगाउँदै मेसिनाको जलडमरूमध्यमा राज्यद्वारा वित्त पोषित पुललाई मन्त्रिपरिषद्ले समर्थन गर्ने बताउनुभयो ।

पुललाई बीचमा दुई रेल लाइन र दुवैतिर तीन लेनको ट्राफिकसहित डिजाइन गरिएको छ । यसको झुण्डिएको भाग विश्व कीर्तिमानी ३.३ किलोमिटर (२.०५ माइल) छ र दुई वटा चार सय मिटर (एक हजार तीन सय फिट) अग्लो टावरबीच फैलिएको छ ।

सन् २०३२ सम्ममा सम्पन्न हुने तालिका रहेको यो पुल इन्जिनियरिङको अत्याधुनिक तहमा रहेको सरकारले बताएको छ । यो पुलले दुई टेक्टोनिक प्लेटको बीचमा पर्ने क्षेत्रमा तीव्र हावा र भूकम्पको सामना गर्न सक्छ ।

मन्त्रीहरूले यसले दुई गरिब इटालियन क्षेत्र सिसिली र मुख्य भूमिको क्यालाब्रियामा आर्थिक वृद्धि र रोजगारी ल्याउने आशा गरेका छन् । साल्भिनीले यो परियोजनाले दशौँ हजार रोजगारी सिर्जना गर्ने प्रतिज्ञा गर्नुभयो ।

अझै पनि यसले वातावरणीय प्रभाव र आलोचकहरूले अन्यत्र राम्रो खर्च गर्न सक्ने लागतलाई लिएर स्थानीय विरोधलाई जन्म दिएको छ ।

इटालीमा घोषणा गरिएका, वित्त पोषित र कहिल्यै पूरा नगरिएका सार्वजनिक कार्यहरूको लामो इतिहासतिर औँल्याउँदै केही आलोचकहरू यो कहिले पनि साकार हुनेछैन भन्ने विश्वास गर्छन् ।

यो पुलका धेरै गलत सुरुआतहरू छन् । पहिलो योजनाहरू ५० वर्षभन्दा पहिले तयार गरिएका थिए ।

इटालियन समूह वेबिल्डको नेतृत्वमा रहेको युरोलिङ्क कन्सोर्टियमले सन् २००६ मा बोलपत्र जितेको थियो तर युरोजोन ऋण सङ्कटपछि यसलाई रद्द गरियो । कन्सोर्टियम पुनर्जीवित परियोजनाको ठेकेदार बनेको छ ।

यस पटक, पुलको लागतलाई रक्षा खर्चका रूपमा वर्गीकृत गरेर रोमसँग अगाडि बढ्न थप प्रोत्साहन छ ।

ऋणमा डुबेको इटालीले अन्य नाटो सहयोगीहरूसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मागमा आफ्नो रक्षा खर्च कुल गार्हस्थ उत्पादन (जिडिपी) को पाँच प्रतिशतमा बृहत् रूपमा बढाउन सहमति जनाएको छ ।

यसमध्ये एक दशमलव पाँच प्रतिशत साइबर सुरक्षा र पूर्वाधार जस्ता ‘रक्षा–सम्बन्धित’ क्षेत्रहरूमा खर्च गर्न सकिन्छ । विशेष गरेर सिसिलीमा नाटो आधार रहेको हुनाले रोमले मेसिना पुल योग्य हुनेछ भन्ने आशा राखेको छ । रासस/एएफपी