नयाँदिल्ली, साउन २१ गते । वासिङ्टनले रुसी तेल खरिद गरेको भन्दै अमेरिकी कर वृद्धि गर्ने धम्की दिएपछि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार बुधबार मस्को पुग्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारत रुसी तेलको एक प्रमुख क्रेता हो र रूसका लागि तेल युक्रेनमा मस्कोको सैन्य आक्रमणको लागि राजस्व सङ्कलन गर्ने एक प्रमुख स्रोत हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी तेल खरिदमा भारतीय आयातमा कर वृद्धि गर्नेबारे विचार गरिरहेको बताउनुभएको छ । यसबारे नयाँदिल्लीले आधिकारिक पुष्टि गरेको छैन तर द हिन्दु पत्रिका र एनटिडिभीले सुरक्षा प्रमुख अजित डोभालले मङ्गलबार राति मस्कोको भ्रमण गरेको बताएका छन् ।
डोभालको मस्को भ्रमण अमेरिकी राजदूत स्टिभ विटकोफको भ्रमणसँग मिल्दोजुल्दो छ । उहाँले रुसी नेतृत्वसँग पनि भेट्ने तयारी गर्नुभएको छ । ट्रम्पले रुसलाई युक्रेनमा आक्रमण रोक्न वा नयाँ सजाय भोग्न शुक्रबार सम्मसमय दिनुभएको छ । भारतको विदेश मन्त्रालयले रुसी तेल खरिद रोक्न अमेरिकी दबाब ‘अनुचित र अन्यायपूर्ण’ भएको भन्दै भारतले आफ्नो हितको रक्षा गर्ने बताएको छ ।
नयाँदिल्लीले ‘युक्रेनमा रूसी आक्रमण सुरु भएपछि परम्परागत आपूर्तिहरू युरोपमा डाइभर्ट भएकाले रूसबाट आयात गर्न सुरु गरेको’ तर्क गरेको थियो । क्यापिटल इकोनोमिक्सका शिलन शाहका अनुसार भारतले सिद्धान्ततः अन्य आपूर्तिकर्तालाई तुलनात्मक रुपमा सहज आर्थिक प्रभावसहित भेट्न सक्छ तर राजनीतिक रूपमा यो चुनौती हुनेछ ।
“आन्तरिक रूपमा, ट्रम्पको मागलाई बेवास्ता गर्नु राम्रो हुनेछैन”, शाहले एक सन्देशमा भन्नुभयो, “नीति निर्माताहरू रूससँग सामान्यतया सौहार्दपूर्ण र लामो समयदेखिको सम्बन्धलाई तोड्न अनिच्छुक हुनेछन् ।” यसैबिच, युक्रेनले मङ्गलबार रुसमा प्रहार गरिएका रुसी ड्रोनमा भारतनिर्मित पार्टपुर्जा फेला परेको बताएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री येर्माकले टेलिग्राममा एक पोस्टमा भन्नुभएको छ, “हामीले रुसीहरूलाई अन्य देशबाट सामग्री प्राप्त गर्ने क्षमताबाट बञ्चित गर्नुपर्छ र युक्रेनीहरूको हत्या रोक्नुपर्छ ।” विश्लेषकहरूका अनुसार भारतले रुसी सैन्य उपकरण र तेल खरिद गरेकोमा ट्रम्पको आक्रोशले नयाँ दिल्ली र मस्कोबिच शीतयुद्धदेखि नै ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहेको तथ्यलाई नजरअन्दाज गरेको छ ।
‘स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट’को तथ्याङ्कअनुसार सन् २००९ देखि २०१३ को बिचमा रुसले भारतलाई ७६ प्रतिशत सैन्य उपकरण निर्यात गरेको थियो । हालैका वर्षहरूमा यो प्रतिशतमा उल्लेखनीय गिरावट आएको छ, भारत अझै पनि प्रमुख सैन्य उपकरणका लागि रूसमा निर्भर छ । रासस/एएफपी