• १७ असार २०८२, मङ्गलबार

प्रतापपुर गाउँपालिका ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ घोषणा

blog

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा समारोहमा सहभागीहरु । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, असार १७ गते ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका’ घोषणा गरेको छ । यस घोषणालाई गाउँपालिकाले मातृ तथा शिशु स्वास्थ्य सुधारको दिशामा एउटा महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएको छ । गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले यो घोषणाले यस क्षेत्रको स्वास्थ्य सेवामा नयाँ आयाम थपेको बताउनुभयो ।

घरमा हुने असुरक्षित तथा जोखिमपूर्ण प्रसूतिलाई पूर्ण रूपमा निरुत्साहित गर्दै, आमा र बच्चा दुवैको जीवन रक्षा गर्नु नै यस अभियानको प्रमुख उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको यो महत्त्वाकाङ्क्षी पहलको मूल लक्ष्य प्रतापपुर क्षेत्रभित्रका सम्पूर्ण गर्भवती महिलाहरूलाई स्वास्थ्य संस्थामै सुरक्षित, गुणस्तरीय र व्यवस्थित प्रसूति सेवाको पहुँच सुनिश्चित गर्नु हो ।

प्रतापपुर गाउँपालिकाको यो कदमले स्थानीय तहमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न र स्वस्थ, सबल तथा समुन्नत गाउँपालिका निर्माण गर्ने लक्ष्यमा योगदान पुर्‍याएको छ । यो घोषणाले भविष्यमा मातृ तथा शिशु स्वास्थ्यमा अझ सुधार ल्याउन प्रेरणादायी भूमिका खेल्ने विश्वास गरिएको छ ।