हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असार १७ गते । धार्मिक, सांस्कृतिक र बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी नदीको संस्कृति र सभ्यताको संरक्षण तथा प्रचार–प्रसार गर्ने उद्देश्यका साथ सुरु भएको कालीगण्डकी सभ्यता यात्रा सकिएको छ ।
उक्त यात्रा उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित दामोदरकुण्डमा २५ औँ दिनमा समापन भएको हो ।
तनहुँ जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाटबाट गत जेठ २२ गतेदेखि सुरु भएको पदयात्रा कालीगण्डकीको शीर दामोदरकुण्डमा पूजाआजा, दिब्य आरती, कुण्डको परिक्रममा गरी सोमबार सम्पन्न भएको पदयात्राका संयोजक तथा देवघाटस्थित महेश संस्कृत गुरुकुलका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पदयात्रामा निस्किएको टोलीमा महेश सन्यास आश्रमका सन्त मधुसुदनानन्द गिरि र रमणानन्द गिरिका साथमा, हरिहर सन्यास आश्रमका सन्तहरु, नेपालका प्रतिष्ठित सबै मठ मन्दिरका प्रतिनिधि र भारतका विभिन्न मठ तथा आश्रमबाट आमन्त्रित साधकहरु गरी ६० जना पदयात्रीको सहभागिता रहेको थियो ।
पदयात्राको क्रममा देवघाटबाट कालीगण्डकी क्षेत्रमा पर्ने जिल्लाहरुमा भेला तथा पूजा तथा मुस्ताङ जिल्लाका विभिन्न स्थानमा कालीगण्डकी नदीको धार्मिक महत्त्वका बारेमा प्रचारप्रसार तथा भेटघाटसहित दामोदर कुण्डमा पुगेको गुरुकुलका प्राचार्य पौडेलको भनाइ छ । अभियानमा कालिगण्डकीमा भइरहेको मानव सृजित गतिविधिबाट तटिय क्षेत्र, धार्मिक व्यक्ति तथा सर्वसाधारणको तीव्र असन्तुष्टी रहेको समेत टोलीको भनाइ छ ।
कालीगण्डकी सभ्यता यात्रामार्फत बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिकता गुमाएको भन्दै महेश सन्यास आश्रम देवघाटधाम, तनहुँको सङ्कल्प र आह्वानमा २५ दिनमा ४३१ किलोमिटर दूरीमा रहेको कुण्डसम्म पुगेर अभियान सफल भएको महेश संस्कृत गुरुकुलले जनाएको छ । यो अभियानमार्फत सङ्कलिन तथ्य तथा कालीगण्डकीमा देखिएको समस्याहरुलाई सम्बन्धित निकायको ध्यानार्कषण गराउने समेत जनाइएको छ । नदीको दामोदर कुण्ड, मुक्तिनाथ हुदै देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ ।
कालीगण्डकी नदीमा राजा भरतले तपस्या गरेको पवित्र भूमि र भगवान् विष्णुका पाउँले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौँ वर्षको मानव चेतनासँग सम्बन्ध रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । कालीगण्डकी संसारकै ठुलो हिमशृङ्खलाबाट उत्पन्न भएर नेपालको मध्यभागलाई सिञ्चन गर्दै बग्ने संसारकै पवित्रतम देवनदी मानिन्छ । मुक्तिक्षेत्रको शिर तथा कालीगण्डकी नदीको मुहान समेत भनिन्छ दामोदरकुण्डमा कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला पाइन्छ । मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्छ ।