• १२ साउन २०८१, शनिबार

२०८० साल : कुन महिनामा कति सार्वजनिक बिदा

blog

काठमाडौं, चैत ३० गते । गृह मन्त्रालयले नव वर्ष २०८० मा हुने सार्वजनिक बिदाबारे चैत २ गते सूचना सार्वजनिक गरेर जानकारी दिएको छ ।

२०८० को वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरको समयावधिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वज्निक बिदा, पर्व एवम् सट्टा बिदा र कार्यालय समय निर्धारण गरेर सो सूचना प्रकाशित गरेको थियो । सो अनुसार, नव वर्षको सुरुवाती दिन वैशाख १ गते सार्वजनिक बिदा घोषणा गरिएको छ ।

आगामी वर्षको वैशाख महिनामा शनिबार बिदा पाँच दिन, जेठमा चार दिन, असारमा पाँच, साउनमा चार, भदौमा पाँच, असोज महिनामा चार दिन परेको छ । यसैगरी, कात्तिकमा चार, मङ्सिरमा पाँच, पुसमा चार, माघमा चार, फागुनमा चार र चैतमा चार दिन शनिबार बिदा परेको छ ।

पर्व बिदा
वर्षभरीमा मुख्यतः १८ वटा पर्व बिदा छन् । वैशाख २२ गते उभौली पर्व, चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), भदौ १४ गते रक्षाबन्धन र भदौ २० गते श्रीकृष्णा जन्माष्टमी, दशैं पर्वको विधिवत सुरुवाती असोज २८ गते घटस्थापना, कात्तिक ४ देखि कात्तिक ९ गतेसम्म दशैैं बिदा (फूलपातीदेखि द्वाद्वशीसम्म), तिहार बिदा कात्तिक २६ देखि कात्तिक ३० गतेसम्म, मङ्सिर ३ गते छठ पर्वको घोषणा गरिएको छ ।

पुस ९ गते इसाई धर्मालम्बीको क्रिसमस डे, पुस १० गते उधौली पर्व, पुस १५ गते तमू ल्होसार, माघ १ गते माघे सङ्क्रान्ती, माघ २७ गते सोनाम ल्होसार, फागुन २५ गते महाशिवरात्रि, फागुन २८ गते ग्याल्पो ल्होसार,  इद पर्व र चैत ११ र १२ गते हिमाली र पहाडी लगायतका जिल्लामा फागुपूर्णिमा पर्व बिदा परेका छन् ।

सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र हुने गरी भदौ ७ गते गौरा पर्व, भदौ १४ गते गाइजात्रा र झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरी जिल्लामा सिरुवा पावनीको दिन पर्व बिदा घोषणा गरिएको छ ।

महिला कर्मचारीका लागि मात्र असोज १ गते हरितालिका (तीज) र असोज २० गते जितिया पर्व बिदा छन् । शिक्षण संस्थाका लागि फागुन २ गते वसन्त पञ्चमी पर्व बिदा छ ।

काठमाडौं उपत्यकाका लागि मात्र भदौ १४ गते गाइजात्रा, असोज ११ गते इन्द्रजात्रा, चैत २६ गते घोडेजात्रा पर्व बिदा परेका छन् ।

दिवस बिदा
दिवसीय बिदाका रुपमा वैशाख १८ गते विश्व मजदुर दिवस, जेठ १५ गते गणतन्त्र दिवस, असोज ३ गते संविधान दिवस, फागुन १ गते जनयुद्ध दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २५ गते  अन्तर्राष्ट्रिय महिला दिवस र मङ्सिर २७ गते अपाङ्गता भएका कर्मचारीका लागि मात्र अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा बिदा छ ।

जन्मजयन्ती बिदा
देशभरमा हुने गरेर वैशाख २२ गते बुद्ध जयन्ती, पुस २७ गते पृथ्वी जयन्ती बिदा छ । सम्बन्धित धर्मालम्बीका लागि कात्तिक २५ गते फाल्गुनन्द जयन्ती, मुस्लिम धर्मालम्बीका लागि मोहम्मद जयन्ती, मङ्सिर ११ गते गुरु नानक जयन्ती बिदा रहेका छन् ।

राष्ट्रिय बिदा तर कार्यालय खुल्ने
आगामी वर्षको जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, भदौ २२ गते निजामती सेवा दिवस र माघ १६ गते शहीद दिवसमा सार्वजनिक बिदा छन् ।

यसबाहेक, अस्पताल, दूरसञ्चार, अध्यागमन, फोहोरमैला व्यवस्थापन, फायरब्रिगेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् आदिजस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिनमा समेत काम नरोकिने गरी सेवा प्रवाह गर्नुपर्नेछ ।

कार्यालय समय 
गृहले २०८० को वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय निर्धारण गरेको छ ।

यसबीचमा, कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको कार्यालय निर्धारण गरिएको छ । यसैगरी, सामान्यतः आधा दिन भन्नाले साढे १ बजे तर कात्तिक १५ देखि माघ १५ गतेसम्म भने दिउँसो १ बजे भन्ने बुझ्नुपर्दछ ।

सरकारी खाजा समय भने दिउँसो साढे १ देखि २ बजेसम्मको समय निर्धारण गरिएको छ ।

बिदाको सूची

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।