• ८ मंसिर २०८१, शनिबार

‘नो अब्जेक्सन’ लिन साथीको कागजात

blog

भक्तपुर, चैत २७ गते । शैक्षिक परामर्श संस्था एनलाइटेन इन्टरनेसनल एजुकेसनले वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर)का लागि भावना वाग्लेको नभई निजका साथीको कागजात ‘अपलोड’ गरेको पत्ता लाग्यो । यसका कारण वाग्लेको आवेदन अस्वीकृत हुन पुग्यो । परामर्श संस्थाले तत्काल लिखित रूपमा माफी नै माग्नुप-यो ।

यस्तो प्रवृत्ति एक पटक होइन, बारम्बार देखिएको छ । वैदेशिक अध्ययनका लागि जान चाहने एउटा विद्यार्थी तर फरक विद्यार्थीको विवरण पेस गरिदिने प्रवृत्ति झाङ्गिँदै गएपछि अचेल  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले सम्बन्धित शैक्षिक परामर्शदातृ संस्थालाई लिखित रूपमा माफी मगाउने गरेको छ ।

यति बेला शाखामा माफी मगाइएका वा बद्मासी गर्न खोजिएका घटनाका कागजातका चाङ निकै ठूलो भइसकेको छ । त्यस्तो बडेमानको फाइल अगाडि तेस्र्याउँदै शाखाका प्रमुख वासुदेव वस्तीले भन्नुभयो, “कन्सल्टेन्सीहरूले गलत व्यक्तिको कागजात अपलोड गरिदिने प्रवृत्ति निकै बढेको छ । अध्ययनका लागि बाहिर जान चाहने एउटा व्यक्ति छ, तर निजको कागजात अर्काको समावेश गरिएको हुन्छ । 

पछिल्लो समयमा एक–एक कागजात हेर्ने गरेका छौँ । बद्मासी गरिएको फेला पर्नासाथ तत्कालै माफी मगाउने गरेका छौँ ।”

कुनै बेला शैक्षिक परामर्शदातृ संस्थाले खटाएका व्यक्तिले शाखामा मुठाका मुठा आवेदन लगेर जाने चलन हुन्थ्यो । अनलाइन पद्धतिबाट फाराम भर्ने व्यवस्था गरिएपछि त्यस्तो प्रवृत्तिमा कमी आएको छ । “अहिले पनि भोलि मेरो फ्लाइट छ । आजै नो अब्जेक्सन लेटर चाहियो भनेर आउनेहरू पनि थुप्रै हुन्छन् । हवाई टिकट लिइसकेर नो अब्जेक्सन लेटर लिने गलत प्रवृत्तिलाई निस्तेज पार्दै गएका छौँ । पछिल्लो केही महिनायता यस्ता डेढ सय विद्यार्थीको हवाई टिकट क्यान्सिल गर्नुपरेको छ,” उहाँले थप्नुभयो, “कागजात पुगेकै हुँदैन तर हवाई टिकट लिइसकेका हुन्छन् । टिकट लिएको भन्दै कागजात नपुगेका आधारमा नो अब्जेक्सन लेटर दिन सकिँदैन ।” कागजात नपुग्दा नो अब्जेक्सन लेटर नपाउने अवस्था हुँदा विभिन्न मन्त्रीहरूबाट पनि ‘मिलाएर दिनू’ भन्ने फोन आउने गरेको बताउँदै शाखा प्रमुख वस्तीले भन्नुभयो, “एउटा जिल्लाका सीडीओले जिल्ला प्रशासन कार्यालयकै लेटरप्याडमा नाबालक परिचयपत्रका आधारमा नो अब्जेक्सन लेटर दिनू भनेर सिफारिस पठाएका थिए । त्यो पत्र अझै सुरक्षित राखेका छौँ । माथिल्लो तहका पदाधिकारीदेखि मन्त्रीसम्मका अनावश्यक दबाब निकै झेल्नु परिरहेको हुन्छ ।”

पछिल्लो समयमा दैनिक सरदर आठ सयदेखि एक हजार जनाले नो अब्जेक्सन लेटर लिने गरेका छन् । शाखाका अनुसार गत वर्ष एक लाखभन्दा बढीले नो अब्जेक्सन लेटर लिएकोमा पछिल्लो नौ महिनामा करिब ८० हजारले लिइसकेका छन् । दैनिक निकै भिड बढ्न थालेपछि शाखाले अनलाइनबाट आवेदन बुझाएकाहरूलाई अर्काे दिनका लागि समय तोकेर म्यासेज पठाउने व्यवस्था गरेको छ । तोकिएको समयमा मात्र विद्यार्थीले नो अब्जेक्सन लेटर पाउने भएकाले विगतको जस्तो अव्यवस्थित भिड अचेल देख्न पाइन्न ।

नो अब्जेक्सन लेटर उपलब्ध गराउने मामिलामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कडिकडाउ गर्न थालेको छ । मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका हालै स्वीकृत गरेको छ । निर्देशिकाअनुसार अब नो अब्जेक्सन लेटर लिन विद्यार्थी सो शाखामा धाउनुपर्दैन । घरमै बसेर आवदेन दिन पाउनुका साथै घरमै प्रिन्ट गर्न सक्नेछन् ।

मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले आवेदनको सत्यापन भएपछि सम्बन्धित विद्यार्थीको इमेलमा नो अब्जेक्सन लेटरको पीडीएफ पठाइदिने र विद्यार्थीले त्यसलाई प्रिन्ट गरेर विदेशी मुद्रा सटहीका लागि बैङ्कमा पेस गर्न सक्ने बताउनुभयो । “हाम्रो सिस्टमसँग बैङ्कलाई पनि जोडेका छौँ । विद्यार्थीले पेस गरेको नो अब्जेक्सन लेटर सक्कली वा नक्कली हो भनेर बैङ्कले सफ्टवेयरबाट थाहा पाउछ,” उहाँले भन्नुभयो, “यसबारे बैङ्कहरूलाई आइतबार  प्रशिक्षण दिँदै छौँ ।”

उहाँले नो अब्जेक्सन लेटर लिन सम्बन्धित परामर्शदातृ संस्थाको कागजात अनिवार्य पेस गर्नुपर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको जानकारी दिनुभयो । “अधिकांश विद्यार्थी कन्सल्टेन्सीमार्फत अध्ययनका लागि विदेश जाने गरेका छन् ।