• ७ वैशाख २०८२, आइतबार

‘गुणस्तरीय शिक्षाको कारणले इन्जिनियरिङ कलेज विद्यार्थीको रोजाईमा परेको हो’

blog

काठमाडौँ, वैशाख ७ गते । नेपाल इन्जिनियरिङ कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले कलेजका पूर्व विद्यार्थी एकजुट भएका छन् ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा स्थापित कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै नयाँ विद्यार्थीमा आकर्षण बढाउने उदेश्यले कलेजका पूर्व विद्यार्थी एकजुट भएका हुन् ।

शनिबार कलेजमा आयोजित ‘नेक अल्मुनाई मिट’ मा सहभागी हुँदै पूर्व विद्यार्थीले आफ्नो कलेज जीवन स्मरण गरेका थिए । हाल सरकारी, गैरसरकारी देखि आफ्नै कम्पनी र फर्महरू सञ्चालन गरेर व्यावसायिक क्षेत्रमा स्थापित हुनुभएका उहाँहरूले तत्कालीन अवस्थामा नेपाल इन्जिनियरिङ कलेजको स्थापना नभएको भए आफूहरू इन्जिनियर नै बन्न नसक्ने अवस्थाको चर्चा गर्नुभएको थियो ।

कलेजका प्रथम अल्मुनाईका महासचिव इन्जिनियर दीपकबाबु कँडेलले तत्कालीन समयमा पुल्चोक पछि अन्य इन्जिनियरिङ कलेज नहुँदा धेरै विद्यार्थीको इन्जिनियर बन्ने सपना पूरा नभइरहेको अवस्थामा स्वर्गीय प्राडा.दीपक भट्टराई लगायतको अगुवाईमा नेपाल इन्जिनियरिङ कलेजको स्थापना भएको जानकारी दिनुभयो । 

नेपालको विकासमा चाहिने दक्ष प्राविधिक जनशक्ति उत्पादनमा नेपाल इन्जिनियरिङ कलेजले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै कँडेलले कलेजले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिएको कारणले नै कलेजमा विद्यार्थीको आकर्षण रहेको बताउनु भयो ।

पूर्व विद्यार्थी कँडेलले भन्नुभयो, ‘कलेजले दशौं हजार इन्जिनियर उत्पादन गरिसकेको छ । सुरुवात देखि नै गुणस्तरीय शिक्षामा ध्यान दिएकोले नै कलेज आजसम्म विद्यार्थीको रोजाईमा परेको हो । यसलाई अझ गुणस्तरीय र विश्वस्तरीय बनाउँदै लैजान हामी सबैले भूमिका खेलौँ ।’  

यस्तै कार्यक्रममा बोल्दै दोश्रो अल्मुनाई समितिका महासचिव इ.विनोद देवकोटाले निजी क्षेत्रले गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण नेपालले उच्च शिक्षामा फड्को मारेको चर्चा गर्दै इन्जिनियरिङ शिक्षाको विकास, दक्ष जनशक्ति उत्पादनमा कलेजले ठुलो योगदान दिएको बताउनुभयो ।

कलेज मन्दिर जस्तै रहेको बताउँदै उहाँले कलेजमा कुनै राजनीति नगरी यसको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, कलेजलाई स्थायित्व दिन सबै एक भएर लाग्नु पर्ने बताउनुभयो ।

अर्का अल्मुनाई इ.पदमकुमार मैनालीले १९९६ ताका नेपाल इन्जिनियरिङ कलेज नभएको भए आफ्नो ब्याचका धेरैले पढ्न नपाउने अवस्था रहेको भन्दै विगत सम्झनुभयो ।

हाल सहरी विकास मन्त्रालयका सहसचिव समेत रहनुभएका मैनालीले कलेजको शैक्षिक, भौतिक सुधार गर्न र कलेज प्रति विद्यार्थीको आकर्षण बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले कलेजले स्थापना देखि आजसम्म गुणस्तरीय शिक्षा प्रदान गर्नु गौरबको कुरा भएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा गठित कलेज सञ्चालक समितिका अध्यक्ष समेत रहनु भएका चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नेपाल इन्जिनियरिङ कलेजको शैक्षिक, प्रशासनिक र भौतिक सुधारका लागि आफु लागि रहेको भन्दै नेक अल्मुनाईहरूलाई पनि आवश्यक सल्लाह, सुझाव र सहकार्यको आव्हान गर्नुभयो । 

कलेजको स्थायित्व र शैक्षिक विकासका लागि शिक्षक, कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरूको योगदान हुनुपर्ने भन्दै उहाँले नेपाल इन्जिनियरिङ कलेजलाई सामाजिक शैक्षिक संस्थाकै रूपमा सञ्चालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनु भयो । 

कलेजको विषयमा सर्वोच्च अदालतमा विचाराधिन मुद्दा चाँडै टुङ्गोमा पुगे यसलाई देशकै नमूना कलेजका रूपमा सञ्चालन गर्न नगरपालिका तयार रहेको उहाँले जिकीर गर्नुभयो ।‘कलेज सञ्चालन गर्न नगरपालिकाले कलेज सञ्चालन ऐन पास गरिसकेको अवस्था छ । भोली अदालतका मुद्दा टुङ्गो लागेर नगरपालिकालाई यो कलेज चलाउनु पर्ने अवस्था आए हामी पछि हट्दैनौं कलेज चलाएरै छाड्छौं ।’ अध्यक्ष खत्रीले भन्नुभयो ।

नेक अल्मुनाई मिट कार्यक्रममा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले कानुनी तथा प्रशासनिक उल्झनहरूको सामना गर्नु परे पनि कलेजको शैक्षिक गुणस्तर खस्कन नदिएको बताउनु भयो ।

कलेजको भौतिक, शैक्षिक गुणस्तर मापन गरेर नै नेपाल इन्जिनियरिङ परिषद्ले स्थायी प्रमाण पत्र दिएको चर्चा गर्दै उहाँले आउँदा दिनमा अल्मुनाईहरूले कलेजको श्रीवृद्धिमा टेवा दिने अपेक्षा गर्नुभयो । साथै, उहाँले कलेजको शैक्षिक, भौतिक र प्रशासनिक गुणस्तर सुधार गर्न कलेज सञ्चालक समितिले योजनाबद्ध काम गरिरहेको बताउनुभयो ।

‘नेक अल्मुनाई मिट’ मा कलेजका स्थापना देखि सन् २०१९ सम्मका करिब पाँच सय विद्यार्थीको उपस्थिति रहेको थियो । सन् १९९४ मा मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा नेपाल इन्जिनियरिङ कलेजको स्थापना भएको थियो ।

इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने यस कलेजबाट हालसम्म दस हजार भन्दा बढी दक्ष जनशक्ति उत्पादन भइसकेको कलेजका सहायक प्राचार्य मोहनध्वज केसी बताउनुहुन्छ ।

पछिल्लो समय कक्षा १२ पास गर्ने वित्तिकै नेपाली विद्यार्थी विदेशिइरहेको अवस्थामा उनीहरूलाई स्वदेशमै उच्च शिक्षा हासिल गर्नका लागि प्रेरित गर्न तथा नेपालको इन्जिनियरिङ शिक्षा अन्तराष्ट्रिय स्तरको रहेको छ भनेर बुझाउन नेक अल्मुनाई मिट गरेको जानकारी दिनुभयो ।

नेक अल्मुनाई मिटका संयोजक आर्किटेक्चर पोषण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अल्मुनाईहरू काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष डाक्टर इन्जिनियर सुमन नरसिंह राजभण्डारी, सदस्य इ.बाबुराम भट्टराई, कलेजका संस्थापक सदस्य इ.सलिल भट्टराई लगायतको सहभागिता थियो ।