राधा लुइटेल
फिदिम,असार १३ गते। पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ६ का गोविन्दप्रसाद तुम्रोकको घरमा भेटिएको विष्फोटक पदार्थ नेपाली सेनाको टोलीले निष्कृय पारेको छ।
शुक्रबार बिहान घरको सेप्टीमा भेटिएको ग्रिनेट जस्तो देखिने वस्तु सेनाले मध्यान्हपछि निष्कृय गरेको हो। घरमा शंकास्पद वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर शुक्रबार बिहानै खबर गरेका थिए।
त्यसपछि खटेको प्रहरी टोलीले घट्नास्थललाई सुरक्षित गरी पहिचान गर्दा विष्फोटक पदार्थ भएको खुलेपछि नेपाली सेना र प्रहरीले निष्कृय बनाएको हो।
नेपाली सेनाको फिदिम स्थित विर दल गणका गणपति किशोर अधिकारीले उक्त वस्तु इम्प्रोभाइज्ड एक्स्प्लोेसिभ डिभाइस (आइइडी) रहेको बताउनुभयो।
घरको सेप्टीमा राखिएको उक्त वस्तुमा धुवा लागेर पुरानो देखिए पनि खतरायुक्त थियो। उक्त वस्तु डिस्पोजका क्रममा समेत पड्किएको सुरक्षा अधिकारीहरुले बताएका छन्। उक्त वस्तु २०५२–०६२ सम्म सञ्चालन भएको सशस्त्र द्वन्द्वका क्रममा राखिएको हुनसक्ने सुरक्षा अधिकारीहरुको ठहर छ।
उक्त बस्तु कति पुरानो हो भन्ने यकिन गर्न नेपाली सेनाले ल्याब परीक्षणका लागि पठाउने भएको छ। गतवर्ष पाँचथरको फालेलुङ ५ का आइतराज केरुङको घरमा भेटिएको यस्तै इम्प्रोभाइज्ड एक्स्प्लोेसिभ डिभाइस (आइइडी) खेला“उदा दुई बाल बालिकाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए। जिल्लामा द्वन्द्वका समयमा राखिएका विष्फोटक पदार्थ भेटिने क्रम जारी छ।