• ५ जेठ २०८१, शनिबार

प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छ : खाण

blog

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी 

जनकपुरधाम, चैत २६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले वैशाख १० गतेको उपनिर्वाचनपछि प्रदेश सरकार पुनः गठनसँगै आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको बताउनुभयो । 

प्रेस युनियन, धनुषाद्वारा जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्व गृहमन्त्री खाणले उपनिर्वाचनपछि गठबन्धनमा आबद्ध दलबीच प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको बताउनुभएको हो । उहाँले बारा, चितवन र तनहुँमा हुने उपनिर्वाचनपछि प्रदेश सरकार पुनः गठन गरिने सहमति भएको छ र आलोपालो गरी विभिन्न राजनीतिक दलका प्रदेश सभाका नेताहरू प्रदेशका मुख्यमन्त्री बन्ने सहमति भएको जानकारी दिनुभयो ।  

मन्तव्यकै क्रममा खाणले प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत प्राप्त गर्नुभएपछि अबको मन्त्री मण्डलमा मधेशको प्रतिनिधित्व हुनुपर्नेमा आफ्नो जोड रहेको उल्लेख गर्नुभयो । प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसका आठ मन्त्रालयमध्ये चार जना भइसकेकाले बाँकी चार मन्त्रीमा मधेशको प्रति प्रतिनिधित्व हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले यस सरकारमा अन्य राजनीतिक पार्टीहरूलाई पनि साथसाथै लिएर हिँड्नुपर्छ भन्ने कांग्रेसको प्रयत्न समेत रहेको छ, भन्नुभयो । 

कांग्रेसले सधैँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न चाहेको बताउनुहुँदै केन्द्रीय सदस्य खाणले नागरिकता विधेयक ल्याइए पनि प्रमाणीकरण हुन सकेन, त्यसैले सम्पूर्ण नेपालीका लागि जनकपुरधामको पत्रकार सम्मेलनबाट सम्पूर्ण राजनीतिक दललाई नागरिकता विधेयकलाई अगाडि बढाउन आग्रह समेत गर्नुभयो । 

नेपालको संविधान अनुसार हरेक नेपालीले नागरिकता प्राप्त गर्न पाउनुपर्ने प्रावधान रहे पनि नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली जनताले दुःख पाएका छन् । कुनै विदेशी नागरिकलाई नागरिकता दिन विधेयक ल्याइएको थिएन, उहाँले भन्नुभयो । 

नागरिकताका कारण थुप्रै नेपालीले दुःख पाएका छन्, व्यापार व्यवसाय गर्न पाएका छैनन् , आफ्नै देशमा अनागरिकको भूमिका निर्वाह गरिरहेका छन् । ती सम्पूर्ण समस्या समाधानका लागि नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्ने खाँणको भनाइ थियो । 

प्रेस युनियन धनुषाका जिल्ला अध्यक्ष राजन सिंहको अध्यक्षता सम्पन्न पत्रकार सम्मेलनमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, प्रतिनिधि सभा सदस्य मुक्ताकुमारी यादव, कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।