• २३ फागुन २०८२, शनिबार

महिला फुटबलमा रौतहट

blog

रौतहटको राजनीतिक वृत्तमा एउटा उखान प्रचलित थियो । त्यो हो, ‘रौतहट के ढेला बोलेला’ (रौतहटको माटोको डल्लो पनि बोल्छ) । नेपालको राजनीतिक उथलपुथलमा राणाकालदेखि गणतन्त्र प्राप्तिसम्म रौतहटको सक्रिय योगदान रह्यो । २०३७ सालको निर्दल–बहुदलको निर्वाचनमा बहुदलले जितेको जिल्ला पनि हो । समयसँगै अहिले रौतहटको परिचय फेरिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा महिला फुटबल खेलाडी जन्माउनमा यसको महìवपूर्ण योगदान रहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गरेर करिब ६० जनाभन्दा बढी खेलाडी यस जिल्लाले जन्माइसकेको छ । 

यहाँ २०५५ सालमा संस्थापक अध्यक्ष शेरबहादुर दर्लामी र महासचिव नेपाल कार्कीको अगुवाइमा अखिल नेपाल फुटबल सङ्घको शाखाका रूपमा रौतहट फुटबल सङघको स्थापना भएको थियो । शेरबहादुर दर्लामीको अगुवाइमै २०६० सालदेखि महिला फुटबल खेलको सुरुवात भएको हो । त्यसो त फुटबलबाहेक अमिरी यादव एथ्लेटिक्सका ओलम्पिक खेलाडी पनि यही जिल्लाका थिए । यस्तै उपेन्द्र दास बैरागीले कुस्तीमा एसियन स्तरका पदक प्राप्त गर्नुभएको थियो । न राज्यको लगानी न कुनै ठुलो सङ्घ संस्था र व्यावसायिक क्लबको लगानीबिना नै यहाँ फुटबलको विकास भएको देखिन्छ । केही समय रौतहटमा सञ्चालित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘प्लान नेपाल’ को भने यस क्षेत्रमा सामान्य सहयोग भएको थियो तर निरन्तरता भने हुन सकेन । 

फुटबल नै सपना, फुटबल नै दैनिकी फुटबल नै जीवन थियो शेरबहादुरको तर विडम्बना फुटबल प्रेमीलाई छाडेर उहाँले यस धर्तीबाट चाँडै बिदा लिनुभयो । विशेष गरेर मधेशमा घरबाट बाहिर ननिस्कने चलन र प्रथालाई तोड्दै सामाजिक मान्यतालाई बेवास्ता गर्दै फुटबलको मैदानमा चेलीलाई उतार्नु कम जोखिम थिएन । उहाँको यो कला र हिम्मतलाई भने सलाम गर्नै पर्छ । यही कारण ६० जनाभन्दा धेरै महिला खेलाडी जन्माउनमा उहाँको श्रेय रहेको छ । नेपालले प्रतिनिधित्व गरेको अन्तर्राष्ट्रिय खेल होस् वा राष्ट्रिय स्तरका क्लब वा विभागीय टिम, सबै खेलमा रौतहटका चेलीको वर्चस्व रहेको छ । उहाँको अवसानपश्चात् रौतहटमा महिला फुटबलको स्थिति अब के हुने हो भनेर एउटा निराशा फैलिएको थियो तर यो निराशाले धेरै दिन स्थान लिन पाएन । उहाँको पदचापलाई पछ्याउँदै मधेश प्रदेश फुटबल सङ्घका अध्यक्ष नेपाल कार्की, जिल्ला फुटबल सङघका अध्यक्ष भगवान दर्लामी (बुद्ध), प्रशिक्षक नुरराज काफ्ले, विक्रम घिमिरे र चित्रबहादुर दर्लामीको स्वयंसेवी भावनाले निरन्तरता पाइरहेका छन् । आज पनि मैदानमा रौतहटका चेली फुटबलसँग अभ्यस्त भइरहेका छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलका सपना बोकिरहेका छन् । 

रौतहटले खेलाडी मात्रै जन्माएन, खेलाडीलाई व्यावसायिक जीवन पनि दियो । सशस्त्र, जनपद र नेपाली सेनामा यी खेलाडीले रोजगारी पनि पाएका छन् । केही खेलाडी अन्तर्राष्ट्रिय स्तरमा अस्ट्रेलिया, अमेरिका, सिङ्गापुरलगायत देशमा व्यावसायिक प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन् । यो पनि खेलाडीका लागि एउटा ठुलो अवसर नै हो, जसले आफ्नो व्यक्तिगत जीवनलाई सफलताको मोडमा पु¥याए । केही खेलाडी अन्तर्राष्ट्रिय स्तरका व्यावसायिक खेलाडी बने, जसले उनीहरूको जीवन स्तरलाई पनि सुधार्न सघायो । यसरी सरसर्ती हेर्दा फुटबल एउटा खेल मात्रै होइन । 

अधिकांश महिला फुटबल खेलाडी सामान्य परिवारका छन् । आफ्नो परिवारलाई सहयोग गरेर कमजोर आर्थिक अवस्थालाई झेल्दै फुटबल खेल्नु आफैँमा एउटा चुनौती हो । यसरी जीवनका अगाडि देखिएका चुनौतीलाई पार गर्दै अन्तर्राष्ट्रिय स्तरमा रौतहटले रेनुका नगरकोटी, रश्मिकुमारी घिसिङ, अन्जना रानामगर, सविता रानामगर, अनिता केसी, समीक्षा घिमिरे, निशा ठोकर, सजनी ठोकर जस्ता धेरै खेलाडी जन्मायो । यी खेलाडीले विश्वमै नेपालको नाम चिनाए, जसको श्रेय रौतहटको भूमिलाई जान्छ । आज पनि शेरबहादुर स्मृति खेल मैदान यसको साक्षी छ । सरसर्ती हेर्दा धेरै पहिलेदेखि नै नेपालमा महिला फुटबल खेलको सुरुवात भएको हो तर यो खेल सामान्य प्रतियोगिता र मनोरञ्जनका लागि मात्र खेलेको देखिन्छ । त्यो समयमा यसले व्यावसायिकता लिन सकेको थिएन । हुन त अहिले देशका विभिन्न भागबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी नजन्मेका होइनन्, जो अहिले व्यावसायिक खेल खेलिरहेका छन् तर खेलाडीको सङ्ख्यालाई हेर्दा धेरै खेलाडीको प्रतिनिधित्व भने रौतहटले नै गरेको छ । यस जिल्लाले व्यावसायिक खेलाडी जन्माउनुका साथै खेललाई पनि व्यावसायिक बनाउन सघाएको छ । 

नेपालको इतिहासमा फुटबल खेल राणाशासनकालदेखि नै खेलिँदै आएको हो । कुनै समय नर ट्रफी फुटबल प्रतियोगिता हुन्थ्यो । यो प्रतियोगिताले फुटबलको विकासमा एउटा सम्भावनायुक्त खेलाडीको जन्म गराएको थियो । त्यो समयमा खेललाई एउटा मनोरञ्जन र सामान्य प्रतियोगिताका रूपमा मात्रै हेरिन्थ्यो । खेलाडी व्यावसायिक हुन सकेका थिएनन् । खेलका लागि कुनै किसिमको सहयोग कतैबाट पनि पाइँदैनथ्यो । राज्यको ध्यान पनि त्यति गएको थिएन । यति हुँदै गर्दा पनि फुटबल खेलले निरन्तरता भने पायो । त्यसबखत विशेष गरेर फुटबल पुरुषले मात्रै खेलेको देखिन्छ । समयक्रमसँगै नेपालमा महिला फुटबलले पनि प्रवेश पायो तर सुरुका दिनमा महिला फुटबल पनि सामान्य प्रतियोगिता र रमाइलोका लागि मात्र खेलिन्थ्यो । यसरी खेलिएका खेल नै आज विकसित हुन पुगेको हो । 

समग्रमा भन्ने हो भने महिला फुटबलले मनोरञ्जन, स्थानीय र राष्ट्रियस्तरको प्रतियोगिता हुँदै अन्तर्राष्ट्रियस्तरसम्मको बाटो तय गरिसकेको छ । दक्षिण एसियामा नेपाली फुटबललाई उच्चस्तरीय रूपमा हेरिएको फुटबल समीक्षक बताउँछन् । क्लबस्तरीय व्यावसायिक खेल तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा दुवैमा अब्बल रहेको खेलप्रेमीको नजरमा पनि छ । कुनै समय दक्षिण एसियामा वर्चस्व कायम गरेको पुरुष फुटबल खेललाई उछिनेर महिला फुटबल खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्, जसका कारण समग्र नेपाली खेलप्रेमीका लागि यो गर्वको विषय बनेको छ । भविष्यमा पनि यसले निरन्तरता पाओस् भन्ने सबैको कामना छ । 

विशेषत रौतहट महिला फुटबल खेलाडी उत्पादनको क्षेत्रमा एउटा उदाहरणीय जिल्लाका रूपमा रहेको छ । त्यसमा पनि जिल्लाको उत्तरी क्षेत्रको यसमा ठुलो योगदान छ । नितान्त व्यक्तिगत प्रयास गर्ने शेरबहादुर दर्लामी मगर जसको प्रयासले महिला फुटबलमा ठुलो योगदान रह्यो । माथि उल्लिखित व्यक्तिको निरन्तर प्रयासले महिला फुटबललाई सफलतातिर लगेको छ । यो आफैँमा एउटा प्रशंसनीय कार्य रहेको छ । महिला फुटबलको विकासमा अखिल नेपाल फुटकल सङ्घले खेलाडी उत्पादनका लागि चन्द्रपुरमा एकेडेमी नै स्थापना गरेर रौतहटका चेलीका लागि एउटा ठुलो गुन लगाएको छ । महिला फुटबलको निरन्तर विकासका लागि विशेष गरेर एन्फा, यसको नेतृत्व गर्नुहुने एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्बाङको काँधमा जिम्मेवारी थपिएको छ । यो खेलको विकासमा सबै आशावादी पनि देखिएका छन् । साथै राज्यले पनि महिला फुटबलको विकासमा थप चासो, सहयोग अनि लगानी गर्नुपर्ने खाँचो रहेको छ ।