• २३ फागुन २०८२, शनिबार

समाजमा ‘एल्गोरिदम’ प्रभाव

blog

आज हामी एआई र अल्गोरिदमको युगमा बाँचिरहेका छौँ । यो पुस्ता मात्र होइन, सम्पूर्ण समाज नै प्रविधिले बनाएको नयाँ संरचनामा प्रवेश गरिसकेको छ । मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालबिना जीवन अपुरो जस्तो लाग्न थालेको छ । यही सुविधाले हामीलाई एउटा गम्भीर प्रश्न सोध्न बाध्य बनाएको छ, हामी प्रविधि चलाइरहेका छौँ कि प्रविधिले हामीलाई चलाइरहेको छ ?

धेरै घरमा एउटै दृश्य देखिन्छ, सबै जना एउटै छानामुनि सबैको ध्यान फरक फरक स्क्रिनमा हुन्छ । कुरा गर्नुपर्ने मानिस छेउमै छन् तर संवाद टाढिँदै गएको छ । यो समस्या घरमै मात्र पनि सीमित छैन । समाजमा आत्मीयता घट्दै गएको छ, एक अर्कोमा इमोसनल, श्रद्धा, मानवीयता र आफ्नोपना हराउँदै गइरहेको छ । अचेल डिजिटल रूपमा हामी धेरैसँग जोडिएका छौँ तर भावनात्मक रूपमा धेरैसँग टाढा हुँदै गइरहेका छौँ । 

पहिले परिवारभित्र संवाद हुन्थ्यो । दिन कस्तो गयो, के नयाँ भयो, के सही र के गलत, अब कसरी अगाडि बढ्ने, प्लान के के छ आदि । अहिले त्यो ठाउँ स्क्रिनले लिएको छ । अभिभावकले केही अनुभव सुनाउन खोज्दा छोराछोरीलाई ती कुरा ‘आउटडेटेड’ लाग्छन् । उनीहरूलाई लाग्छ, हामी सबै बुझ्छौँ, गुगल छ, युट्युब छ, एआई छ । यसरी पुस्ताबिचको दुरी उमेरको मात्र होइन, सोच्ने तरिकाको पनि बढ्दै गएको छ । अनुभूतिभन्दा सूचना ठुलो हुन थालेको छ ।

सामाजिक सञ्जालका एल्गोरिदमहरू हामीले के मन पराउँछौँ, कतिबेर हेर्छौं, कहिले स्व्रmोल रोकिन्छ, सबै बुझ्छन् । त्यसपछि हामीलाई चाहिने मात्र होइन, बिस्तारै हामीलाई बदल्ने सामग्री पनि देखाउन थाल्छन् । हामीलाई सहज बनाउँदै कम मेहनत, छिटो परिणाम दिँदै लान्छ तर साथसाथै सोच्ने, छलफल गर्ने र असहमत हुन सक्ने क्षमतालाई कमजोर बनाउँदै लगिरहेको हुन्छ । हामी आफूले रोजेको जस्तो लाग्ने सामग्री हेर्छौं तर त्यो एल्गोरिदमले छानेको हुन्छ । यसले गर्दा हामीले मन नपर्ने कुरा देख्न छाड्छौँ, फरक विचार सुन्न गाह्रो लाग्छ । आफ्नै सोच सही हो भन्ने भ्रम बढ्दै जान्छ । यसरी समाज बिस्तारै ध्रुवीकृत हुँदै जान्छ ।

युवा अवस्था भावना बलियो हुने समय हो । पहिचान खोज्ने, स्वीकार गरिन चाहने मनोविज्ञान यहीबेला सबल हुन्छ । एल्गोरिदमले यही कमजोरी चिन्छ । कुन विषयले आक्रोश पैदा गर्छ ? कुन कुराले उत्साह दिन्छ ? कुन विषयमा तुरुन्त प्रतिक्रिया आउँछ ? यी आधारमा कन्टेन्ट देखाइन्छ । आज युवामा छिटो रिस, छिटो मोह, छिटो निराशा बढ्दै गएको छ ।

एआई टुल सहायक कि विकल्प ?

आज एआईले लेख लेखिदिन्छ, असाइनमेन्ट गरिदिन्छ, डिजाइन बनाइदिन्छ, विचार सुझाइदिन्छ, फोटो बनाइदिन्छ, भिडियो बनाइदिन्छ, योजना बनाइदिन्छ र निर्णयमा समेत सघाउँछ । च्याटजिपिटी जस्ता टुलले विद्यार्थी, पेसाकर्मी र क्रिएटरका लागि ज्ञानमा पहुँच सजिलो बनाएका छन् । जब सोच्ने, विश्लेषण गर्ने काम पनि मेसिनले गर्न थाल्छ, तब मानिस के बन्छ त ? दीर्घकालमा यसले आलोचनात्मक सोच कमजोर बनाउँछ, धैर्य घटाउँछ, असफलता सहन नसक्ने बनाउँछ, जीवन बिस्तारै ‘इनपुट आउटपुट’ प्रणाली जस्तै बन्दै जान्छ ।

जैविक चक्र र गैरजैविक दबाब

मानिस जैविक प्राणी हो । काम, आराम, संवाद, सबैको चक\ हुन्छ । एआई र एल्गोरिदम गैरजैविक हुन् । उनीहरूलाई न थकान लाग्छ, न विश्राम चाहिन्छ । उनीहरू निरन्तर सक्रिय हुन्छन् । यसैले मानिसको प्राकृतिक जीवनचक्र बिथोलिँदै गएको छ । सधैँ अनलाइन, सधैँ अपडेट, सधैँ प्रतिक्रिया यही दबाबले मानिसलाई मानसिक रूपमा थकाइरहेको हुन्छ । डिजिटल संसारमा प्रतिक्रिया छिटो छ । लाइक, कमेन्ट, भ्यजु । वास्तविक सम्बन्धमा समय चाहिन्छ, धैर्य चाहिन्छ, असहमति स्वीकार गर्ने क्षमता चाहिन्छ । आजको युवापुस्ता भावनात्मक रूपमा कमजोर छैन तर भावनालाई डिजिटल सङ्केतमा मापन गर्न थालिएको छ । यसरी मानव सम्बन्धहरू ‘डाटा’ जस्ता बन्न थालेका छन् ।

समाधान प्रविधि त्याग्नु होइन । न युवाले, न समाजले प्रविधि छोड्न सक्छ तर सन्तुलन अत्यावश्यक छ, सबै सूचना सत्य हुँदैन भन्ने बुझ्ने, फरक विचार सुन्ने अभ्यास गर्ने, एआईलाई सहायक बनाउने, विकल्प होइन, विवेक प्रयोग गरेर निर्णय गर्ने, लोकतन्त्र, समाज र परिवार अन्ततः मानिसको जिम्मेवारी हो ।

यो युग प्रविधिको हो तर भविष्य मानवताको हुनु पर्छ । विवेक एल्गोरिदमको बन्धक बन्यो भने हामी स्मार्ट देखिने छौँ तर सोच अरू कसैले गरिदिएको हुने छ । प्रविधि हाम्रो उपकरण हो । आज हामीले ध्यान दिएनौँ भने भोलिको संसार प्रविधिले सजिलो बनाएको मात्र होइन, प्रविधिले नै निर्देशित गरेको हुन सक्छ । आज ‘सजिलो’ लाग्ने कुराले भोलि ‘निर्भरता’ को रूप लिन सक्छ । घुम्न कहाँ जाने भन्ने निर्णयदेखि लिएर, के पढ्ने, के हेर्ने, के सुन्ने, कसलाई विश्वास गर्ने, यी सबै कुरा बिस्तारै एल्गोरिदमले तय गर्न थाल्छ ।

आज हामी एआईलाई सल्लाहकारका रूपमा लिन्छौँ तर भोलि निर्णयकर्ता बन्यो भने ? कस्तो होला त ? आफ्नो मन किन भारी छ, किन खुसी छैनौँ, यो पनि एआईलाई सोध्न थाल्यौँ भने मानव अनुभूतिको अर्थ के रहन्छ ? समस्या त्यतिबेला सुरु हुन्छ, जब हामी आफ्नै निर्णय, भावना र सम्बन्धको नियन्त्रण गुमाउन थाल्छौँ ।

समाधान प्रविधि त्याग्नु होइन, मानव मूल्यसँग मिलाएर प्रयोग गर्नु हो । परिवारभित्र, काममा पनि ‘नो–स्क्रिन समय’ तय गर्ने, युवालाई टेक्नोलोजी चलाउन मात्र होइन, प्रश्न गर्न सिकाउने, एआईलाई टुलका रूपमा राख्ने, निर्णयकर्ताका रूपमा होइन, अनुभव र संवादलाई पुनः महìव दिनु पर्छ । हामीले समयमै सोचेनौँ भने सजिलो जीवनको खोजीमा अर्थपूर्ण जीवन गुम्ने खतरा छ । अब प्रश्न एआई कति स्मार्ट भयो भन्ने होइन, हामी कति सचेत रह्यौँ भन्ने हो ।