• २३ फागुन २०८२, शनिबार

अपरिहार्य अतिरिक्त क्रियाकलाप

blog

धेरैलाई लाग्छ कि पढाइबाट थाकेका बेला मन भुलाउनु अतिरिक्त क्रियाकलाप हो । अतिरिक्त क्रियाकलाप अल्छीपन लुकाउने, समय खेर फाल्ने बहाना वा मन भुलाउने साधन होइन । यो कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने प्रयोगशाला हो । फुटबल मैदानमा एउटा विद्यार्थीले टिमवर्क र रणनीति सिक्छ, जुन व्यवस्थापनको पुस्तकले भन्दा बढी प्रभावकारी ढङ्गले सिकाइमा रूपान्तरण हुन्छ । कतिपय विद्यालय र विद्यार्थीले अतिरिक्त क्रियाकलापलाई ट्रफी वा मेडल जित्ने माध्यमका रूपमा मात्र हेरेको देखिन्छ तर यो अरूलाई पछारेर अगाडि बढ्ने ट्रफीको दाउपेच मात्र होइन । यो त विद्यार्थीमा लुकेको मौलिक सामथ्र्य चिन्ने प्रमुख प्रक्रिया हो । एउटा वक्तृत्व वा कविता वाचनमा भाग लिँदा विद्यार्थीले आफ्नो डरसँग लड्न सिक्छ । त्यो मेडलभन्दा ठुलो उपलब्धि उसको आत्मविश्वासको पुनर्जन्म हो ।

शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ ले विद्यालयलाई विद्यार्थीको शारीरिक, भावनात्मक, नैतिक र सामाजिक विकासका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । विद्यालयले हरेक शुक्रबारको दैनिक पठनपाठनको कार्य समाप्त भएपछि विद्यार्थीलाई अतिरिक्त क्रियाकलापको कार्यक्रममा सहभागी गराउनुपर्ने कानुनी प्रावधान नै छ । यही कानुनी प्रावधानलाई आधार बनाएर अधिकांश विद्यालयले खेलकुद, साहित्यिक, सांस्कृतिक, सिर्जनात्मक गतिविधि, शैक्षिक भ्रमण, सामाजिक सेवा, वातावरण संरक्षण, स्काउट रेडक्रस, बाल क्लब जस्ता क्रियाकलाप सञ्चालन गर्दै आएका छन् । यस्ता गतिविधिले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्छन् भन्ने सरकारको विश्वास छ । धेरै जसो विद्यालयमा अतिरिक्त व्रिmयाकलाप कागजमा सीमित छन् । वार्षिक कार्यक्रमको सूची र प्रतिवेदनमा देखिने तर सिकाइको परिणाम मापन नगरिने अवस्थाका कारण अतिरिक्त क्रियाकलापको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मार्फत माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहमा गएसँगै, विद्यालयमा हुने अतिरिक्त क्रियाकलापको अनुगमन, प्रोत्साहन र व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई दिइएको छ । 

स्थानीय सरकारले यसमा पर्याप्त ध्यान दिन नसक्दा अतिरिक्त क्रियाकलाप अहिले उद्देश्य योजना र मापदण्डविहीन रूपमा समय बिताउने दिनमा सीमित भएको आरोप लाग्ने गरेको छ । अतिरिक्त क्रियाकलाप समावेशी, सिकाइमुखी र विद्यार्थीकेन्द्रित छन् कि छैनन् भन्ने अभिलेखले अनिवार्य बोल्नुपर्ने हो । बालबालिका, अपाङ्गता भएका विद्यार्थी र सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित भएको छ कि छैन, प्रतिस्पर्धाभन्दा सिकाइलाई प्राथमिकता दिइएको छ कि छैन यी सबै अनुगमनका विषयमा हुन् । अधिकांश स्थानीय सरकार यस्ता कुरामा चुकिरहेको पाइन्छ । त्यसको मतलब स्थानीय सरकारले यसमा ध्यान दिएकै छैन भन्ने होइन, कतिपय स्थानीय निकायले अतिरिक्त क्रियाकलापलाई पठनपाठनको विकल्प होइन पूरक हो भन्ने कुरालाई व्यवहारमा उतार्न सफल भएका छन् । यसमा नुवाकोटको तारकेश्वर गाउँपालिका नमुना स्थानीय सरकारका रूपमा रहेको पञ्च मिलन कलादेवी माविका प्रधानाध्यापक विष्णुकुमार तामाङ बताउनुहुन्छ ।

तारकेश्वरको सफलता

शैक्षिक सत्र २०८१ बाट हरेक महिनाको पहिलो शुक्रबारलाई तारकेश्वर गाउँपालिकाभित्रका ३४ वटै विद्यालयले ‘बुक फ्री डे’ अर्थात् पुस्तकविहीन कक्षाका रूपमा मनाउने अभ्यास सुरु गरेका छन् । पुस्तकविहीन कक्षा सञ्चालनका दिन ३४ वटै विद्यालयका विद्यार्थी बिनापुस्तक विद्यालय पुग्छन् र विभिन्न सिर्जनात्मक, प्रयोगात्मक र जीवनसँग प्रत्यक्ष जोडिएका गतिविधिमा सहभागी हुन्छन् । यसले उनीहरूको सिकाइलाई किताबमा सीमित नराखी अनुभवमा जोड्ने अवसर प्रदान गरेको छ । विद्यालयले बुक फ्री डेको उपयोग गरेर विद्यार्थीलाई सिकाउने उद्देश्यले स्थानीय रूपमा पर्याप्त मात्रामा उपलब्ध मुला र लप्सीबाट अचार बनाउने, लप्सीको क्यान्डी तयार गर्ने, सालको पातबाट दुनाटपरी गाँस्ने र करेसाबारी निर्माण गर्ने जस्ता क्रियाकलाप सञ्चालन गरेको छ । यसका अतिरिक्त शृङ्खलाबद्ध रूपमा एकल गायन प्रतियोगिता, कला प्रदर्शनी तथा खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस्ता क्रियाकलापमा सहभागी भएर विद्यार्थीले आफ्नो रुचि र क्षमता अनुसारको क्षेत्रमा सक्रिय हुने, प्रतिभा निखार्ने र आत्मविश्वास बढाउने अवसर पाएका छन् । यसले बालबालिकामा आफ्नो विचार, भावना र कला प्रस्तुत गर्ने साहस र आत्मबल विकास गर्न सहयोग पुगेको छ । पुस्तकविहीन कक्षा कार्यक्रमको प्रारम्भिक चरणमा अभिभावकबाट विद्यार्थीले विद्यालयमा किताब नल्याई के सिक्लान् ? यस्तो क्रियाकलापले छोराछोरीको पढाइ बिगार्ने त होइन ? भन्ने चिन्ता रहेको भए पनि अहिले आफ्ना नानीबाबुमा आएको सिकाइको तीव्रताले सबै अभिभावक खुसी र उत्साहित रहेको स्थानीय विद्यालय पञ्चमिलन कलादेवी माविका प्रअ तामाङले बताउनुभयो । यस्ता अतिरिक्त क्रियाकलापबाट विद्यार्थीले एकातिर स्थानीय परिवेशमा उपलब्ध वस्तुको उच्चतम सदुपयोग गर्न सिकाएका छन् भने सँगै विद्यार्थीमा श्रमप्रति सम्मान, आत्मनिर्भरता र जिम्मेवारी बोधको भावना विकास गर्न सहयोग पुगेको उहाँको भनाइ छ ।

अतिरिक्त क्रियाकलापको चुनौती

आधुनिक शिक्षा प्रणालीमा अतिरिक्त क्रियाकलापलाई विद्यार्थीको सर्वाङ्गीण विकासको मेरुदण्ड मानिन्छ । सिद्धान्ततः यसले विद्यार्थीको नेतृत्व क्षमता, अनुशासन र रचनात्मकतालाई निखार्ने काम गर्छ । व्यवहारतः नेपाली शैक्षिक परिवेशमा यसका केही गम्भीर र विशिष्ट चुनौती देखा परेका छन्, जसले यसको मूल मर्ममाथि नै प्रश्न खडा गरिदिएको छ । सबैभन्दा ठुलो चुनौती समय व्यवस्थापन हो । कतिपय अवस्थामा विद्यार्थी अतिरिक्त क्रियाकलापमा यति धेरै केन्द्रित हुन्छन् कि उनीहरूको आधारभूत प्राज्ञिक प्रदर्शन ओझेलमा पर्छ । अर्कोतर्फ, ‘ग्रेड’ मा मात्र विश्वास गर्ने अभिभावकीय सोचले गर्दा विद्यार्थी खेलकुद वा कलामा लाग्दा त्यसलाई समयको बर्बादी मान्ने प्रवृत्ति अझै व्याप्त छ । यो ‘द्वैध मानसिकता’ ले विद्यार्थीमा मानसिक तनाव सिर्जना गरिरहेको छ ।

अतिरिक्त क्रियाकलाप अहिले आर्थिक हैसियतको मानक बन्दै गएको छ । महँगा निजी विद्यालयले अत्याधुनिक पूर्वाधार (स्विमिङ पुल, रोबोटिक्स ल्याब आदि) उपलब्ध गराउँछन्, जब कि सामुदायिक विद्यालयमा आधारभूत खेल मैदानको समेत अभाव छ । यसले गर्दा धनी र गरिब विद्यार्थीबिचको ‘सिप खाडल’ बढ्दै गएको छ । प्रतिभाशाली भएर पनि आर्थिक अभावका कारण धेरै विद्यार्थी अवसरबाट वञ्चित छन् । अतिरिक्त क्रियाकलाप अब सिक्ने माध्यमभन्दा पनि व्यापार र प्रतिष्ठाको लडाइँ बनेको छ । विद्यालयले आफ्नो विज्ञापनका लागि विद्यार्थीलाई पदक जित्नैपर्ने दबाब दिइरहेका छन् । यसले गर्दा क्रियाकलापमा हुने सहज आनन्द र सिर्जनशीलता हराएर गाएको छ भने त्यसको ठाउँ केवल कठोर प्रतिस्पर्धाले लिएको छ । जब कुनै गतिविधि खुसीका लागि नभई दबाबका लागि गरिन्छ, तब त्यसले बौद्धिक विकासमा अवरोध पु¥याउँछ । धेरै जसो शिक्षण संस्थामा विषय शिक्षकलाई नै अतिरिक्त क्रियाकलापको जिम्मेवारी दिइन्छ । उदाहरणका लागि, गणित शिक्षकले फुटबल कोचको भूमिका निर्वाह गर्दा विद्यार्थीले व्यावसायिक प्राविधिक ज्ञान पाउँदैनन् । विशिष्टीकरणको अभावले गर्दा विद्यार्थीको प्रतिभा सही दिशामा मोडिनुको साटो केवल सतही अभ्यासमा मात्र सीमित रहेको देखिन्छ ।

आर्थिक जटिलता

अतिरिक्त क्रियाकलाप अहिले रहरबाट बाध्यतामा परिणत भएको छ । महँगा निजी विद्यालयले यसलाई आफ्नो ब्रान्डिङको मुख्य आधार बनाएका छन् । अतिरिक्त क्रियाकलापका नाममा अभिभावकबाट थप पैसा उठाई विद्यालयमा विवाहमण्डप नै तयार गरी बालबालिकालाई विवाह गराउने, संस्कृति सिकाउने नाममा सबै बालबालिकालाई अनिवार्य थप पोसाक किन्न लगाउने, अवलोकन सिकाइ भ्रमणको नाममा स्वदेश विदेश महादेश–महादेशको भ्रमण गराउनेदेखि खेलकुद, सङ्गीत, नृत्य र रोबोटिक्स जस्ता व्रिmयाकलापका लागि आवश्यक उपकरण, प्रशिक्षक र पूर्वाधारका नाममा अभिभावकमाथि थपिएको आर्थिक बोझले मध्यम र निम्न वर्गीय परिवारको ढाड सेक्ने काम गरेको छ । उच्च प्रविधियुक्त खेल मैदान र प्रयोगशालाको निर्माण, दक्ष र व्यावसायिक प्रशिक्षकको व्यवस्थापन, अन्तरविद्यालय वा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा लाग्ने दर्ता र भ्रमण खर्च जस्ता सबै कुराको आर्थिक दायित्व अभिभावककै थाप्लोमा खन्याउने गरिएको छ । यस्तो अवस्थाले आर्थिक रूपमा सम्पन्न परिवारका बालबालिकाले स्तरीय प्रशिक्षण पाउने तर आर्थिक अवस्था कमजोर भएकाहरूले इच्छा हुँदाहुँदै पनि अवसरबाट वञ्चित हुनुपर्ने अवस्था छ । यसले समाजमा एउटा नयाँ प्रकारको विभाजन खडा गरेको छ । अतिरिक्त क्रियाकलापमा हुने लगानीले विद्यार्थीको नेतृत्व, टिमवर्क, आत्मविश्वास तिखार्छ, जसको अभावमा गरिब विद्यार्थी शैक्षिक योग्यता भएर पनि व्यावसायिक जगतमा पछि पर्ने जोखिम देखिन्छ भने अर्कातर्फ आर्थिक दृष्टिकोणबाट हेर्दा अभिभावकले अतिरिक्त क्रियाकलापमा गर्ने ठुलो लगानीको प्रतिफल अनिश्चित छ । सबै सङ्गीत सिक्ने बालबालिका सङ्गीतकार बन्दैनन् वा सबै खेलाडी व्यावसायिक हुँदैनन् । यस्तो अवस्थामा, शिक्षालाई व्यावसायिक लाभको तराजुमा जोख्ने वर्तमान समाजमा यो खर्च कतिपय अवस्थामा अनुत्पादक लगानी जस्तो पनि देखिन पुग्छ । यसरी हेर्दा शिक्षा व्यापार बनेपछि सिकाइमा विशेष महìव राख्ने अतिरिक्त व्रिmयाकलाप बिलासिताका वस्तु जस्ता भएका छन्, जसले सामाजिक न्यायको सिद्धान्तलाई नै चुनौती दिएको छ ।

निष्कर्ष

अतिरिक्त क्रियाकलाप केवल मनोरञ्जन मात्र होइन, यो जीवनोपयोगी सिप सिक्ने प्रयोगशाला हो । यसका चुनौतीलाई सम्बोधन गर्न पाठ्यक्रममा नै यस्ता क्रियाकलापलाई व्यवस्थित रूपमा एकीकृत गर्न जरुरी छ । जबसम्म हामी यसलाई शिक्षा व्यापारको विज्ञापन, विद्यालयको बोझ वा देखावटी गहनाका रूपमा मात्र हेर्छौं, तबसम्म यसले अपेक्षित नतिजा दिन सक्दैन ।

अतिरिक्त क्रियाकलाप शिक्षाको ‘साइड डिस’ होइन, यो त शिक्षाको मुख्य तत्व हो । जसरी एउटा रुखको जरा मात्र बलियो भएर पुग्दैन, उसका हाँगाबिँगा र फूलहरूले नै उसको पूर्णता र सुन्दरता झल्काउँछन्, त्यसरी नै मानव जीवनलाई पूर्ण बनाउन यी क्रियाकलाप अपरिहार्य छन् । यसलाई अतिरिक्त भन्नुभन्दा पनि सहपाठ्यक्रम भन्नु उचित हुन्छ । किनकि यसले मानिसलाई केवल जीविकोपार्जन गर्न मात्र होइन, जीवन जिउन पनि सिकाउँछ । शिक्षाले दिमाग भर्ने मात्र होइन, प्रतिभा प्रस्फुटन गर्ने बाटो पनि खोल्नु पर्छ । त्यो बाटो व्यवस्थित र न्यायोचित हुन आवश्यक छ । अतिरिक्त क्रियाकलापबिनाको शिक्षा केवल एउटा सुक्खा ज्ञान मात्र हो । विद्यार्थीलाई समाजमा प्रतिस्पर्धा गर्न सक्ने, सिर्जनशील र जिम्मेवार नागरिक बनाउन विद्यालय र अभिभावक दुवैले यी क्रियाकलापमा प्रोत्साहन दिनु आवश्यक छ । शिक्षाले टाउको भर्ने मात्र होइन, हृदयलाई प्रज्वलित गर्ने र हातहरूलाई सिपयुक्त बनाउने कार्य गर्नु पर्छ । 

विद्यालयले गरिरहेका क्रियाकलाप अतिरिक्त क्रियाकलाप हुन् कि होइनन् ? यस्ता क्रियाकलापले अभिभावकलाई अतिरिक्त भार के कति परिरहेको छ ? यसको औचित्य र अतिरिक्त क्रियाकलापबारे राज्यको मर्म के हो ? जस्ता विषयमा ध्यान दिनुका साथै जति सक्दो छिटो अतिरिक्त क्रियाकलापको सीमा तोकिनुपर्ने आवश्यकता छ । यसका निम्ति अतिरिक्त क्रियाकलाप आयोजनासम्बन्धी कार्यविधिको निर्माण र कार्यान्वयन गर्नु नै दिगो र भरपर्दो उपाय देखिन्छ ।