• २२ वैशाख २०८२, सोमबार

नारायणगढ–बुटवल सडक : ४ वर्षमा २८ प्रतिशत विस्तार

blog

नारायणगढ–बुटवल सडक खण्डको कावासोती क्षेत्रमा कालोपत्र गरिँदै । तस्बिरः मीना कंडेल

मीना कंडेल

कावासोती, चैत २३ गते । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा चार वर्षमा २८ प्रतिशत काम भएको छ । दैनिक ५० हजारभन्दा धेरै सवारी चल्ने यो सडकमा धुलो उडेर दिउँसै अँध्यारो हुन्छ ।

धुलो उडेर पाँच मिटर अगाडिको दृश्य पनि देख्न सकिँदैन । बर्खामा हिलो र अन्य समयमा धुलो उड्दा राजमार्ग क्षेत्रका स्थानीयवासीको दैनिकीमा समेत असर परेको कावासोतीका रितु पाण्डे बताउनुहुन्छ ।

नारायणगढ–बुटवल सडक विस्तार २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ठेक्का सम्झौता गरेर काम सुरु गरेको थियो । तर गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअगाडि विस्तार थालिएको पूर्वपश्चिम राजमार्ग सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का व्यवस्थापक राजेश झाले हालसम्म तीन किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिएको जानकारी दिनुभयो । 

“हामीले यस वर्ष २० किलोमिटरभन्दा बढी कालोपत्र गर्ने योजनाका साथ काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “गैँडाकोटको भेडाबारीबाट झराही खोला, रजहरमा दुई किलोमिटर क्षेत्र तथा देवचुलीको लोकाहाबाट कावासोतीको डण्डासम्म कालोपत्र गर्ने गरी काम अगाडि बढाएका छौँ ।” अहिले कालोपत्र भइरहेको क्षेत्रबाहेक थप पाँच किलोमिटर सडक कालोपत्रको तयारी छ ।

सडक विस्तारका क्रममा डण्डास्थित अक्सपाल्ट प्लान्टबाट उत्पादित सामग्री लगेर कालोपत्रको काम भइरहेको छ । चालु आर्थिक वर्षभित्र ५० प्रतिशत काम सक्ने लक्ष्य रहेको भए पनि वर्षालगायत कारण काममा ढिला हुनसक्ने ठेक्का व्यवस्थापक झाले बताउनुभयो ।


सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयहरूलाई मात्र होइन सवारी चालक र यात्रुहरूले कठिन यात्रा गर्न बाध्य भएका छन् । काठमाडौँदेखि बुटवलसम्म करिब ७ घण्टाको बाटो हो । तर, अहिले १४ घण्टा लाग्ने चालकहरू बताउँछन् । विस्तारका क्रममा जताततै सडक भत्काउँदा चालकहरूले जोखिम मोलेर सवारी चलाउन बाध्य रहेको सवारी चालक सुवास सुनार बताउनुहुन्छ ।

नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर धीरज ढकालले हालसम्मको प्रगति ३० दशमलव पाँच प्रतिशत रहेको बताउनुभयो । हाल सो सडकमा कल्भर्ट निर्माणलगायत काम भइरहेको छ । उहाँले भन्नुभयो, “मासिक तीन प्रतिशतभन्दा बढी प्रगति हुने गरी काम भइरहेको छ ।”

सडक विस्तारका लागि माटो फिलिङ गर्ने, बिजुलीको पोल सार्ने काम सँगसँगै भइरहेको छ । सडक विस्तारका लागि आवश्यक पर्ने माटो, ढुङ्गा, गिट्टीलगायत कच्चा पदार्थको समस्या छैन । माटो तथा ढुङ्गा, गिट्टीका लागि स्थानीय तहले सहयोग गरेका छन् । चार वर्षअघि विस्तारको काम सुरु भएको नारायणगढ–बुटवल खण्डको सहरी क्षेत्रमा चार लेनका अतिरिक्त दुई लेन तथा ग्रामीण क्षेत्रमा चार लेनमा राजमार्ग फराकिलो गरिँदै छ ।

दाउन्ने पहाडको पाँच किलोमिटर क्षेत्रमा भौगोलिक अवस्थाका कारण सडक तीन लेन विस्तार गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । गैंडाकोटदेखि दाउन्ने पहिलो खण्ड ६५ किमी र दाउन्ने–बुटवल दोस्रो खण्ड ४९ किमिमा १६ अर्ब ९९ करोड रुपियाँमा चाइना स्टेटले चार वर्ष अगाडि ठेक्का पाएको थियो ।